पुलको डिजाइन संशोधनसँगै ‘भेरिएसन’ स्वीकृत भएपछि निर्माण अघि बढ्ने भएको हो । तर निर्माण अवधि लम्बिँदा पुलको लागत भने सुरुको सम्झौताभन्दा झन्डै २३ प्रतिशत बढेको छ ।
विराटनगर — भोजपुरको दक्षिणी क्षेत्रलाई उदयपुर हुँदै तराईका बजारसँग जोड्ने दूधकोशी नदीको चुहार मोटरेबल पुल निर्माणले पाँच वर्षपछि गति लिने भएको छ । पुलको डिजाइन संशोधनसँगै ‘भेरिएसन’ स्वीकृत भएपछि निर्माण अघि बढ्ने भएको हो । तर, निर्माण अवधि लम्बिँदा पुलको लागत भने सुरुको सम्झौताभन्दा झन्डै २३ प्रतिशत बढेको छ ।
बाढीको जोखिमलाई ध्यानमा राखेर पुलको पुरानो डिजाइनभन्दा उचाइ एक मिटर बढाइएको छ । त्यसअनुसार स्टिल संरचनाको परिमाण बढेपछि लागत संशोधन गर्नुपरेको हो । भेरिएसन स्वीकृत भएसँगै प्रदेश सरकारले अबको १८ महिनाभित्र, अर्थात् असारमसान्त २०८४ सम्म पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
पुल निर्माण पूरा भएपछि दक्षिणी भोजपुरका हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिकाका बासिन्दालाई उदयपुर हुँदै धरान, इटहरीलगायत तराईका बजारसम्म पुग्न सहज हुनेछ । अहिले दूधकोशीमा मोटरेबल पुल नहुँदा सामान ढुवानी, व्यापार, उपचार तथा दैनिक आवागमनका लागि स्थानीयले अतिरिक्त दूरी र खर्च बेहोर्नुपरेको छ ।
पुल निर्माणको भेरिएसन स्वीकृत भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री इन्द्रबहादुर आङ्बोलगायतको टोलीले आइतबार निर्माणस्थलको अनुगमन गरेको छ । टोलीले स्थानीय बासिन्दा र निर्माण व्यवसायीसँग छलफल गर्दै आयोजना अब नरोकिने विश्वास दिलाएको हो ।
मुख्यमन्त्री कार्की र मन्त्री आचार्यले बजेट अभाव हुन नदिई निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माण व्यवसायीलाई पनि समयसीमाभित्र काम सक्न निर्देशन दिँदै ढिलाइ भए ठेक्का सम्झौता तोडेर कानुनी प्रक्रियाबाट आयोजना अघि बढाउने चेतावनी दिएका छन् ।
कोशी प्रदेश पूर्वाधार विकास निर्देशनालयका निर्देशक इन्जिनियर सुशील श्रेष्ठका अनुसार डिजाइन संशोधन र लागत भेरिएसन स्वीकृत भएसँगै निर्माण अघि बढाउन बाटो खुलेको छ । निर्माण कम्पनीका प्रतिनिधिले पनि अबको १८ महिनाभित्र पुल सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।
बाढीको जोखिमलाई ध्यानमा राखेर पुलको उचाइ एक मिटर बढाइएको हो । उचाइ बढाउँदा स्टिल संरचनाको परिमाणसमेत बढेकाले लागत संशोधन गरिएको श्रेष्ठले बताए । पुल निर्माणस्थल भने परिवर्तन गरिएको छैन । ९० मिटर लामो र साढे १० मिटर चौडा स्टिल ट्रस पुलको सुरुको ठेक्का रकम २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ २१ पैसा थियो । भेरिएसनपछि लागत बढेर २६ करोड ८ लाख ३६ हजार ७२६ रुपैयाँ ७७ पैसा पुगेको छ । यसअनुसार ४ करोड ८५ लाख २४ हजार ३१९ रुपैयाँ ५६ पैसा लागत वृद्धि भएको हो । सुरुको ठेक्का रकमको तुलनामा लागत २२ दशमलव ८६ प्रतिशत बढेको छ ।
पुलमा प्रयोग हुने स्टिल संरचनाको परिमाण पनि ३६४ दशमलव ७७ मेट्रिक टनबाट बढाएर ४९५ दशमलव ६६ मेट्रिक टन पुर्याइएको छ । निर्देशनालयको प्राविधिक विवरणअनुसार पुलको भौतिक प्रगति १९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति १९ दशमलव ५० प्रतिशत छ ।
उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी र भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको चुहार जोड्ने पुल २६ असोज २०७७ मा शिलान्यास गरिएको थियो । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना ५ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।
दूधकोशीमा मोटरेबल पुल नहुँदा दक्षिणी भोजपुरका बासिन्दाले सामान भरियामार्फत ओसार्नुपर्ने र तराईका बजारसम्म पुग्न लामो दूरी घुम्नुपर्ने बाध्यता छ । पुल निर्माणले कृषि उपजको बजार पहुँच, व्यापारिक आवागमन र स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता ल्याउने आशा स्थानीयको छ ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।