भारत सरकारको पूर्ण आर्थिक अनुदानमा निर्माण भएको ११० मिटर लामो दुई लेनको पक्की मोटरेबल पुलले असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलको छारछुम क्षेत्रलाई जोड्छ ।
दार्चुला — महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा असिगडा–छारछुम मोटरेबल पुलको उद्घाटन गरेका हुन् ।
भारतको दुईदिने औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित उच्चस्तरीय द्विपक्षीय भेटवार्तापछि भर्चुअल माध्यमबाट उक्त पुलको उद्घाटन गरेका हुन् । नेपाल–भारत सहयोगअन्तर्गत भारत सरकारको पूर्ण आर्थिक अनुदानमा निर्माण सम्पन्न भएको यो ११० मिटर लामो दुई लेनको पक्की मोटरेबल पुलले असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलको छारछुम क्षेत्रलाई जोड्छ ।
सडक यातायात सञ्चालनमा आएसँगै सुदूरपश्चिमका दार्चुला, बैतडी, बझाङलगायत सीमावर्ती क्षेत्रका नागरिकको आवतजावत सहज हुनुका साथै दुई देशबीचको व्यापार, पारवहन, धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने देखिन्छ ।
महाकाली नदीले सीमा छुट्याए पनि महाकाली तटीय क्षेत्रका स्थानीयको सम्बन्ध भाइचाराको छ । नदीको वारिपारि बसोबास रहेका अधिकांश ठाउँमा एउटै समुदायका मानिस रहेकाले मोटरेबल पुलले सम्बन्धलाई अझ नजिक बनाएको स्थानीय महाकाली नगरपालिका–८ का गोपालसिंह धामीले बताए । 'म वारि नेपालपट्टि बस्छु, मेरा आफन्त छारछुम (भारतपट्टि) बस्छन् । आफन्त मर्दापर्दा र बिहेवारीमा वारिपारि गर्नुपर्छ, त्यसका लागि दुवैतिरका आफन्तले लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ,' उनले भने ।
त्यस्तै, दार्चुला सदरमुकाम खलंगाबाट १० किलोमिटरको दूरीमा रहेको यो पुलले व्यापारिक कारोबारको मेरुदण्डका रूपमा काम गर्ने स्थानीय व्यापारी राजेन्द्रप्रसाद बडूले बताए । यो पुलले दार्चुला मात्र होइन, नेपालका बैतडी, बझाङलगायत सुदूरपहाडका पहाडी जिल्लालाई व्यापारिक कारोबारका लागि भारतका बजारसम्म जोड्न मद्दत पुग्नेछ । यहाँका स्थानीय उत्पादनले भारतका स्थानीय बजार पाउने उनको भनाइ छ ।
करिब ३२ करोड ९८ लाख भारतीय रुपैयाँ (करिब ३३ करोड भारु) को लागतमा भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले निर्माण गरेको यस पुलको शिलान्यास विसं २०७९ असोज ३ गते (सन् २०२२ सेप्टेम्बर १९) तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए।
यसअघि नै भारतीय पक्षले यस पुललाई औपचारिक स्थल भन्सार मार्गका रूपमा अधिसूचित गरिसकेको छ भने सीमा क्षेत्रमा भन्सार तथा सुरक्षा व्यवस्थापनका लागि आवश्यक पूर्वाधारसमेत तयार पारिएको छ । नेपालतर्फ भने सुरक्षा र भन्सार पोस्ट निर्माण बल्ल सुरु गरिएको छ ।
मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।