सीमावर्ती बजारबाट फर्किंदै गरेका बाँकेका युवकबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
बर्दिया — भारतीय सीमा नाकाको बलैगाउँ बजार हुँदै आउँदै गर्दा कण्ठपुरमा लागुऔषधसहित बाँकेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके बैजनाथ गाउँपालिका–४ का ३० वर्षीय जय थापालाई शंका लागी जाँच गर्दा दाहिने हातमा लुकाइछिपाई राखेको अवस्थामा प्लास्टिक र कालो धागोले बाँधेको २ ग्राम ४ सय ४४ मिलिग्राम उक्त पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी वीरेन्द्रबहादुर बोहोराले ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थसहित एक थान मोबाइलसमेत बरामद गरिएको बताए । उनले थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, मैनापोखरमा राखेर अनुसन्धान भइरहेको जनाए । भारतको सीमावर्ती बलैगाउँ र लौकाही बजारमा लागुऔषध खुलेयाम बेचबिखन हुने गरेका कारण बर्दियाबाहेक अन्य जिल्लाबाट पनि कारोबारी र सेवनकर्ता जाने गरेको प्रहरीले जनायो ।
कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।