काठमाण्डौ । झन्डै चार दशकदेखि जग्गाको स्वामित्व पाउने प्रतीक्षामा रहेका बाँकेको राप्ती सोनारी गाउँपालिकाका १० भूमिहीन परिवारले अन्ततः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
जिल्ला भूमि समस्या समाधान समिति बाँकेले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का १० भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको हो।
लालपुर्जा प्राप्त गर्नेमा तीन भूमिहीन दलित र सात भूमिहीन सुकुम्बासी परिवार रहेका छन्। उनीहरू विसं २०४४/४५ सालदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका थिए।
लामो समयदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्व प्राप्त गर्न नसकेका यी परिवारले झन्डै ३९ वर्षपछि आफ्नो नाममा जग्गाधनी प्रमाणपुर्जा पाएका हुन्।
यसअघि जग्गाको कानुनी स्वामित्व नहुँदा उनीहरूले विभिन्न समस्या झेल्दै आएका थिए। अब लालपुर्जा प्राप्त गरेसँगै सम्बन्धित जग्गामा उनीहरूको कानुनी स्वामित्व स्थापित भएको छ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै जग्गाधनी प्रमाणपुर्जा वितरणको प्रक्रिया अघि बढाइरहेको छ।
वर्षौंदेखि बसोबास गर्दै आएका तर जग्गाको स्वामित्व पाउन नसकेका परिवारलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्य छ।
भूमिहीन परिवारलाई लालपुर्जा वितरणले उनीहरूको आवासीय सुरक्षा सुनिश्चित गर्न तथा भविष्यमा जग्गाको स्वामित्वसम्बन्धी विवाद कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।