कान्तिपुर मिडिया ग्रुपले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनाका लागि सरकारले परिवर्तन गरेका कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले नयाँ सरकार बनेपछि कानुनहरू परिवर्तन भएको र त्यसको कार्यान्वयन तल्लो तहबाटै भए नभएको हेर्न जरुरी रहेको बताएका छन् ।
‘म महासंघको अध्यक्ष भइरहेका बेला निजी क्षेत्रको मनोबल बढाउने सम्बन्धमा कानुन परिमार्जनका कुरा लेखेर दिएका थियौँ । अहिलेको सरकार आएपछि शासकीय सुधारका १०० बुँदे कार्यक्रममा राखेर मन्त्रिपरिषद्बाट हुबहु पास भएको थियो,’ कान्तिपुर मिडिया ग्रुपले शुक्रबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमको पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने’मा उनले भने, ‘कानुनहरू परिवर्तन भए पनि धेरै कानुन कार्यान्वयनमा नआएको अवस्था छ ।’ सरकारले ल्याएका र परिमार्जन गरेका कानुनहरू वास्तविक रूपमा कार्यान्वयनमा आएका छन् कि छैनन्, हेर्न जरुरी रहेको उनको भनाइ छ ।
‘निजी क्षेत्रको लगानी बढाउन, आर्थिक गतिविधि बढाउन, रोजगारी सिर्जना गर्नका लागि सरकार लागिरहेको कुरा विभिन्न मन्त्रीहरूले भन्दै आउनुभएको छ । रामेश्वर खनाल अर्थमन्त्री हुँदा उच्चस्तरीय सुधार आयोगले दिएको सुझावअनुसार पनि केही कानुन परिवर्तन भए,’ ढकालले भने, ‘आम सर्वसाधारण, व्यवसायीका लागि भनेर ल्याइएको लगानी प्रवर्द्धन गर्ने कानुन तल्लो तहबाटै कार्यान्वयन भयो कि भएन भनेर हेर्न जरुरी छ ।’ उद्योगको क्षमता बढाउने, लगानी बढाउने र नयाँ उद्योग खोल्ने कुरा त्यसैमा निर्भर हुने उनको भनाइ छ ।