नीतिगत अस्थिरता, स्थानीय तहको कर तथा प्रशासनिक झन्झटका कारण उद्योगीहरू निराश बनेको र नयाँ उद्योगमा लगानी गर्न नसकेको उनको भनाइ छ ।
काठमाडौँ — उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले उद्योग स्थापना र लगानीको वातावरण बनाउन सरकारले कम्तीमा १० वर्ष स्थायी नीति बनाउनुपर्ने बताएका छन् । नीतिगत अस्थिरता, स्थानीय तहको कर तथा प्रशासनिक झन्झटका कारण उद्योगीहरू निराश बनेको र नयाँ उद्योगमा लगानी गर्न नसकेको उनको भनाइ छ ।
कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ मा बोल्दै दुलालले उद्योग सञ्चालनका लागि नीतिगत स्पष्टता र उद्योगीको सुरक्षा नहुँदा निजी उद्यमीहरू निराश हुन थालेको बताए ।
दुलालले उद्योग स्थापना गर्नेदेखि उत्पादन सुरु गर्दासम्म अनेकौँ अवरोध झेल्नुपर्ने बताए । स्थानीयको विरोध, करको समस्या, कर्मचारीको समस्या लगायतले उद्योग सञ्चालन गर्न चुनौती भएको उनको भनाइ छ ।
‘सम्भावनाका कुरा देखाउन सकिन्छ, तर त्यसलाई लगानीमा रूपान्तरण गर्ने बेलामा ९० प्रतिशतबाट १० प्रतिशतमा झर्छन् । उद्योग खोल्ने बेलासम्म दुई प्रतिशत मात्रै बाँकी रहन्छन् र उत्पादन गर्ने अवस्थामा एक प्रतिशत मात्रै पुग्छन्,’ उनले भने, ‘उत्पादन गरेर समृद्धितर्फ अघि बढ्ने उद्योगको संख्या निकै कम छ । यही कारण नेपालमा उद्योग स्थापना र प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ ।’