मोरङका उद्योगी व्यवसायीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग शुक्रबार भेट गरी उद्योगमैत्री वातावरणका लागि ऋण प्रवाह सहज बनाउन, निजी क्षेत्रलाई सम्मान र विश्वास गर्ने वातावरण निर्माण गर्न माग गरेका छन् ।
विराटनगर — मोरङका उद्योगी व्यवसायीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेट गरी उद्योग तथा व्यवसाय क्षेत्रका समस्या, चुनौती र सुधारका लागि आवश्यक नीतिगत पहलका विषयमा ध्यानाकर्षण गराएका छन् ।
मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघलगायतका संस्थाका प्रतिनिधिले अर्थमन्त्रीसँग भेट गरी उद्योग व्यवसाय सञ्चालनमा देखिएका समस्या र अर्थतन्त्र सुधारका लागि आवश्यक कदमबारे आफ्ना धारणा तथा माग राखेका हुन् ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले लगानीको वातावरण निर्माणका लागि आर्थिक तथा नीतिगत सुधार आवश्यक रहेको बताए । उद्योगमैत्री वातावरण बनाउन ऋण प्रवाह सहज बनाउनुपर्ने, निजी क्षेत्रलाई सम्मान र विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र बलियो भए मात्रै अर्थतन्त्र स्थिर र सुदृढ बन्न सक्ने उनले बताए ।
उनले विद्युत् आपूर्ति नियमित बनाउन, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात निरुत्साहित गर्दै निर्यात प्रवर्द्धन गर्न तथा अनावश्यक प्रशासनिक झन्झट हटाउनुपर्ने माग राखे । उद्योगमार्फत रोजगारी सिर्जना गर्ने क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको पनि उनले औंल्याए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले अर्थतन्त्र सुधारका लागि वर्तमान सरकारसँग महत्त्वपूर्ण अवसर रहेको बताए । ‘अर्थतन्त्र सुधार गर्ने अवसर पाउनुभएको छ । सुधार गर्नुस्, निजी क्षेत्र आशावादी छ,’ उनले अर्थमन्त्रीसँग आग्रह गरे ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले आर्थिक समृद्धिको महत्त्वपूर्ण जिम्मेवारी वर्तमान सरकारमाथि रहेको बताए । मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने उनको भनाइ थियो । नेपालमै उद्योग सञ्चालन र लगानी विस्तारका लागि सरकारले कस्तो सोच बनाएको छ भन्ने विषयमा निजी क्षेत्र जान्न इच्छुक रहेको बताउँदै उनले सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रको मनोबल बढाउने नीति आवश्यक रहेको बताए । उद्योग व्यवसाय क्षेत्रमा ऋण प्रवाह अपेक्षित रूपमा हुन नसकेको उल्लेख गर्दै उनले निजी क्षेत्रको मनोबल बढाउने किसिमका नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।
उद्योग संगठन मोरङका उपाध्यक्ष प्रकाश मुन्दडाले कर तथा भन्सार नीतिका कारण उद्योग तथा व्यापार क्षेत्रमा परेको असरबारे पनि सरकारको ध्यान जानुपर्ने धारणा राखे ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।