सरकारले बजेटमा गर्ने घोषणा र नीतिगत व्यवस्थाबीच तालमेल हुन नसकेको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मुन्दडाले बताए । सरकारले एकथरी कुरा गर्ने तर नीतिगत व्यवस्थाले व्यवसायीलाई अपेक्षित प्रभाव नपार्ने अवस्था रहेको उनको भनाइ थियो ।
काठमाडौँ — नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले सरकारले मौखिक रूपमा लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएर मात्रै व्यावसायिक वातावरण नबन्ने बताएका छन् । त्यसका लागि सरकारले ल्याउने लिखित नीति र त्यसको कार्यान्वयन महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ सत्रमा बोल्दै मुन्दडाले व्यवसायीले आफ्नो अधिकांश समय व्यवसाय सञ्चालनभन्दा अन्य व्यवस्थापकीय काममा खर्च गर्नु परिरहेको समेत बताए ।
‘हामीले व्यवसायका लागि भन्दा पनि ८० प्रतिशत समय अरू व्यवस्थापनमा लगाउनुपरेको छ भने २० प्रतिशत समय मात्रै व्यवसायलाई दिन पाइरहेका छौँ । हुनुपर्ने यसको उल्टो हो,’ उनले भने ।
व्यावसायिक वातावरण सुधारको विषय उठाउन थालेको लामो समय भए पनि अपेक्षित सुधार हुन नसकेको उनको भनाइ थियो । ‘हामी २०–२५ वर्षदेखि एउटै कक्षामा फेल भएजस्ता भइरहेका छौँ । यो अवधिदेखि व्यावसायिक वातावरणका लागि भनिरहनुपरेको छ,’ उनले भने ।
उनले व्यवसायलाई गाडीसँग तुलना गर्दै त्यसका सबै पाङ्ग्रा ठिक अवस्थामा हुनुपर्ने बताए । उनका अनुसार पुँजी, पूर्वाधार, मनोबल र नीति व्यवसायका महत्त्वपूर्ण आधार हुन् । यीमध्ये कुनै एउटामा समस्या भए पनि व्यवसाय दिगो हुन नसक्ने उनको भनाइ छ ।
‘सरकारले मौखिक रूपमा भनेका कुराले मात्रै व्यवसायको वातावरण बन्दैन । लिखित नीति कस्ता आउँछन्, त्यसमा भर पर्छ,’ उनले भने ।
सरकारले बजेटमा गर्ने घोषणा र नीतिगत व्यवस्थाबीच पनि तालमेल हुन नसकेको उनले बताए । सरकारले एकथरी कुरा गर्ने तर नीतिगत व्यवस्थाले व्यवसायीलाई अपेक्षित प्रभाव नपार्ने अवस्था रहेको उनको भनाइ थियो ।
व्यवसाय विस्तार गर्ने सोच बनाउँदा विभिन्न कारणले व्यवसायी प्रभावित हुने गरेको उनले बताए । कहिले बजार गुम्ने, कहिले अनौपचारिक अर्थतन्त्रले व्यावसायिक वातावरण बिगार्ने, कहिले ब्याजदर र सरकारी नीतिले असर गर्ने गरेको उनको भनाइ छ । यसले व्यवसायीको मनोविज्ञानमा समेत नकारात्मक प्रभाव पारिरहेको उनले बताए ।
गत वर्ष व्यवसायीहरूको सम्पत्तिमाथि भएको आक्रमणले निजी क्षेत्रको मनोबल थप कमजोर बनाएको उनको भनाइ थियो । यस्तो अवस्थामा पनि सरकारले केही आधारभूत विषयमा तत्परता देखाए व्यावसायिक वातावरण बन्ने उनले बताए ।
मुन्दडाले औद्योगिक क्षेत्र विकासका लागि त्यहाँ जग्गा उपलब्ध गराउनुपर्ने मागसमेत दोहोर्याए । उनका अनुसार त्यहाँ करिब ६५० बिघा जग्गालाई आर्थिक क्षेत्रका रूपमा विकास गरिदिन सरकारसँग धेरै अघिदेखि माग गरिरहेको भए पनि पूरा नभएको उनले बताए ।
यो सरकार पहिलोपटक आएको भन्दै आलोचना गर्ने आफ्नो उद्देश्य नभएको तर सरकारले प्रतिबद्धता गरेअनुसारको सुधारले गति लिन नसकेको उनले बताए । मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुन् ।