कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष गिरिजा सारडाले विदेशी विद्यार्थी ल्याउन उपयुक्त नीति आवश्यक रहेको बताइन् ।
काठमाडौँ — नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष गिरिजा सारडाले नेपाललाई शिक्षा, स्वास्थ्य र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउनुपर्ने बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ सत्रमा सारडाले विदेशी विद्यार्थी ल्याउन उपयुक्त नीति आवश्यक रहेको बताइन् ।
उनले पछिल्लो समय नेपाली विद्यार्थी सामान्यदेखि उच्च शिक्षासम्म अध्ययनका लागि विदेश जाने क्रम बढिरहेको उल्लेख गर्दै नेपालमै गुणस्तरीय शैक्षिक संस्था र स्वास्थ्य शिक्षाको विकास गर्न सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताइन् ।
‘हामी शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने कुरा गर्छौं । तर हाम्रै युवा पढ्नका लागि विदेश गइरहेका छन् । यस्तो अवस्थामा अरू देशका विद्यार्थीलाई यहाँ कसरी आकर्षित गर्ने ? यसका लागि शिक्षा, स्वास्थ्य र पर्यटन सेवा गुणस्तरीय हुनु आवश्यक छ ।’
नेपालमा भारतलगायत अन्य मुलुकका विद्यार्थी आएर चिकित्सा शिक्षा अध्ययन गरिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सहयोग गर्नुपर्ने बताइन् ।
नेपालमा पर्यटन प्रवर्द्धन गर्न नीतिगत प्रयास गर्नुपर्ने उनको तर्क छ । भारतको अयोध्यामा राम मन्दिर निर्माणपछि धार्मिक पर्यटन प्रवर्द्धन भइरहेको उदाहरण दिँदै उनले भनिन्, ‘हामीसँग हिमाल छन्, पशुपतिनाथ र जनकपुर छन् । यसका लागि गुणस्तरीय सेवा हुनुपर्दछ । गुणस्तरबिना केही पनि हुँदैन ।’