कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ विषयक पहिलो सत्रमा बोल्दै मन्त्री लिङ्थेपले पछिल्ला राजनीतिक परिवर्तनसँगै निजी क्षेत्रमा बढेको त्रास अझै हट्न नसकेको बताए ।
काठमाडौँ — कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले निजी क्षेत्रप्रति राज्य र समाजको दृष्टिकोण परिवर्तन नगरेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताएका छन् । निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड, रोजगारीको प्रमुख स्रोत र सरकारको सहयात्रीका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ विषयक पहिलो सत्रमा बोल्दै मन्त्री लिङ्थेपले पछिल्ला राजनीतिक परिवर्तनसँगै निजी क्षेत्रमा बढेको त्रास अझै हट्न नसकेको बताए ।
उनका अनुसार २०४६ सालपछि मुलुकमा भएका विभिन्न राजनीतिक घटनाक्रमले व्यवसायीको मनोविज्ञानमा प्रभाव पारेका छन् । २०६२/६३ को जनआन्दोलनपछि व्यवसायलगायत विभिन्न क्षेत्रमा त्रासको वातावरण बने पनि त्यसपछि उत्साह र आर्थिक उन्नतिको अवस्था देखिएको थियो । तर, जेन-जी आन्दोलनपछि पुनः व्यवसायीमा बढेको त्रास हट्न नसकेको उनले बताए । ‘चुनाव भएर नयाँ सरकार बने पनि संन्त्रास हट्न सकेको छैन,’ उनले भने, ‘व्यवसायी र कर्मचारीतन्त्र दुवैतिर कतिबेला पक्राउ पर्ने हो, घरमा खानतलासी हुने हो भन्ने डर देखिन्छ ।’
मन्त्री लिङ्थेपले निजी क्षेत्रलाई हेर्ने सामाजिक दृष्टिकोणमै समस्या रहेको बताए । उद्योगी व्यवसायीलाई लुटाहा, ठग र राजस्व छल्ने समूहका रूपमा चित्रण गर्ने मनोविज्ञान विकसित भएको भन्दै उनले त्यसले लगानीको वातावरण प्रभावित पारेको उल्लेख गरे । ‘निजी क्षेत्र सरकारको सहयात्री हो, अर्थतन्त्रको मेरुदण्ड हो, रोजगारीको प्रमुख दाता हो र समाजको अपरिहार्य निकाय हो भन्ने बुझाउन सकिएको छैन,’ उनले भने ।
उनले लगानीको वातावरण बनाउन निजी क्षेत्रलाई सम्पत्तिको सुरक्षा र काम गर्ने विश्वासिलो वातावरण दिनुपर्ने बताए । नीतिगत समस्या भए त्यसलाई हटाउनुपर्ने र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । प्रदेश सरकार साना तथा मझौला व्यवसायीका समस्या समाधानमा केन्द्रित हुने उल्लेख गर्दै उनले ठूला व्यवसायीका समस्या संघीय सरकारले सम्बोधन गर्नुपर्ने बताए ।
कोशी प्रदेश सरकारले लगानी सम्मेलनपछि लगानीकर्तालाई सहजीकरण गर्ने कामलाई प्राथमिकता दिएको पनि उनले जानकारी दिए । प्रदेशमा गर्न सकिने काम तत्काल गर्ने र कानुनी वा प्रक्रियागत कारणले गर्न नसकिने कामको कारण स्पष्ट खुलाएर निवेदन फिर्ता दिने नीति सरकारले लिएको उनले बताए । ‘विधि र प्रक्रिया पूरा गरेर आएको काम रोकिँदैन,’ उनले भने । लगानीकर्ताको मनोबल बढाउन सरकारले निजी क्षेत्रप्रतिको दृष्टिकोणमा सुधार गर्दै त्रासको वातावरण अन्त्य गरेर लगानीको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।