कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन विश्वबजारमा पहिचान’ विषयक दोस्रो सत्रमा जाजुले अहिलेसम्म निजी क्षेत्रले आफ्नै प्रयासमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याइरहेको बताए ।
विराटनगर — एसियन थाई फुड प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले नेपाली उत्पादनको निर्यात बढाउन अन्तर्राष्ट्रिय बजारमा पहिचान र पहुँच विस्तार गर्नुपर्ने बताएका छन् । त्यसका लागि सरकारले बजार प्रवर्द्धन, प्याकेजिङ र ब्रान्डिङमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘कोशीको उत्पादन विश्वबजारमा पहिचान’ विषयक दोस्रो सत्रमा जाजुले अहिलेसम्म निजी क्षेत्रले आफ्नै प्रयासमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याइरहेको बताए ।
एसियन थाई फुडका उत्पादन मात्रै २९ देखि ३० मुलुकमा निर्यात भइरहेको उनले जानकारी दिए । यसका लागि सरकारले अनुदान वा विशेष सहयोग उपलब्ध नगराएको र आफ्नै प्रयास तथा क्षमताबाट सम्भव भएको उनले बताए ।
‘नेपालको कुल उत्पादनमा कोशी प्रदेशको २० प्रतिशत र निर्यातमा ३७ प्रतिशत हिस्सा छ,’ उनले भने, ‘तर उद्योगको पूर्ण क्षमता उपयोग हुन सकेको छैन । करिब ४४ प्रतिशत उद्योग मात्रै सञ्चालनमा छन् ।’
कोशीबाट चिया, छुर्पी, अदुवा, अलैंचीलगायतका वस्तु निर्यात हुँदै आएको उनले जनाए । जाजुका अनुसार कोशीबाट मात्र वार्षिक करिब ४ अर्ब रुपैयाँको चिया र ५ अर्ब रुपैयाँको छुर्पी निर्यात हुन्छ । यी उत्पादनको निर्यात पनि सरकारी सुविधा र अनुदानभन्दा निजी क्षेत्रकै पहलमा भइरहेको उनले बताए ।
नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना भए पनि त्यसअनुसार प्याकेजिङ, ब्रान्डिङ र बजार प्रवर्द्धन हुन नसकेको उनको भनाइ छ । कच्चा वा सामान्य स्वरूपमा मात्रै सामान पठाउने प्रवृत्तिले नेपाली उत्पादनले पाउनुपर्ने बजार र मूल्य प्राप्त गर्न नसकेको उनले बताए ।
‘सरकारले बजार प्रवर्द्धनका लागि लगानी गर्नुपर्छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीमा पुर्याउनुपर्छ,’ उनले भने, ‘विश्वबजारमा एक्सपोजर पाए मात्रै निर्यात बढाउन सकिन्छ ।’ विभिन्न मुलुकका उपभोक्ता नेपाली सामान किन्न इच्छुक देखिएको उल्लेख गर्दै उनले उत्पादनको गुणस्तर कायम राख्ने, आकर्षक प्याकेजिङ गर्ने र अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड स्थापित गर्ने काममा सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको औंल्याए ।