Trending
Prev Story
Next Story

दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

Ekantipur •
November 18, 2026 • 05:32 PM
7
7 reads 0 reactions

प्रधानमन्त्रीको भारत भ्रमणमा पोखरा–दिल्ली सिधा उडान र थप तीन हवाई प्रवेश मार्गको विषय उठाउन पर्यटन व्यवसायीको माग

दुबई उडानले बढायो पोखराको उत्साह, भारतसँग दिल्ली उडानको अपेक्षा

प्रधानमन्त्रीको भारत भ्रमणमा पोखरा–दिल्ली सिधा उडान र थप तीन हवाई प्रवेश मार्गको विषय उठाउन पर्यटन व्यवसायीको माग

पोखरा — फ्लाई दुबईले पोखरा–दुबई सिधा उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय सहरसँग पोखराको हवाई सम्पर्क जोडिनुका साथै विदेशी पर्यटक सिधै पोखरा आउन थालेपछि यहाँको पर्यटनमा सकारात्मक प्रभाव देखिन थालेको उनीहरूको भनाइ छ । अब प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीसहित भारतका अन्य प्रमुख सहरमा सिधा उडान सञ्चालन गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने उनीहरूको माग छ ।

गत ७ असोजदेखि फ्लाई दुबईले पोखरामा उडान सुरु गरेयता २९ कात्तिकसम्म एक दिनबाहेक नियमित उडान गरेको पोखरा विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले जनाइन् । यस अवधिमा दुबईबाट पोखरा ७ हजार ६ सय ५५ यात्रु आएका छन् । तीमध्ये १ हजार ३५ जना विदेशी हुन् । पोखराबाट दुबई जाने यात्रुको संख्या ४ हजार ६ सय २ छ । तीमध्ये ८ सय ८४ जना विदेशी छन् ।

फ्लाई दुबईले १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ जहाजमार्फत उडान गरिरहेको छ । दुबईबाट पोखरा आउनेमध्ये सबैभन्दा धेरै १ सय ६२ यात्रु गत २१ असोजमा आएका थिए । पोखराबाट सबैभन्दा धेरै १ सय ५८ यात्रु १५ कात्तिकमा दुबई गएका थिए । यो उडानले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश दिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको भनाइ छ ।

दुबई हुँदै विश्वका २ सय ५० भन्दा बढी सहरबाट पोखरा आउन सकिने भएकाले मध्यमवर्गीय पर्यटकसमेत आकर्षित हुन थालेका छन् । ‘अहिले पोखराबाट दुबई हुँदै अन्य मुलुक जाने यात्रु उडानको अघिल्लो दिन नै पोखरा आएर परिवारसहित एक रात बिताउने गरेका छन् । दुबईबाट आउने यात्रु पनि परिवारसहित पोखरामा बसेर घुम्ने गरेका छन्,’ सुवेदीले भने, ‘यसले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ ।’

दुबईबाहेक अन्य खाडी मुलुक, युरोप र अमेरिकाबाट समेत यही रुट हुँदै पर्यटक आउन सक्ने भएकाले उडानलाई दिगो बनाउनु महत्त्वपूर्ण रहेको सुवेदीले बताए ।

फ्लाई दुबईले सन् २०२७ को अक्टोबरसम्मका लागि बुकिङ खुला गरिसकेको छ । अब भारतबाट पनि पोखरामा सिधा उडान सुरु गर्नुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कूटनीतिक पहल गरेर दिल्ली–पोखरा उडानको विषय सम्बोधन हुनुपर्छ । भारत सकारात्मक हुने हो भने पोखरामा भारतीय पर्यटकको आगमन उल्लेख्य बढ्न सक्छ,’ उनले भने ।

गत वैशाखदेखि साउनसम्म सडक मार्ग हुँदै ठूलो संख्यामा भारतीय पर्यटक पोखरा आएका थिए । हवाई उडान सुरु भए लामो सडक यात्रा गर्न नचाहने र खर्चालु पर्यटकसमेत आकर्षित हुने सुवेदीको विश्वास छ । दिल्लीबाट डेढ घण्टामै पोखरा आउन सकिने भएकाले यहाँको क्यासिनो र रात्रि जीवनको अनुभव लिन चाहने भारतीय पर्यटक पनि आकर्षित हुन सक्ने उनले बताए ।

फ्लाई दुबईको उडानपछि पर्यटक संख्या तत्कालै उल्लेख्य बढेको नदेखिए पनि यसले पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सकारात्मक सन्देश दिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीकी अध्यक्ष संगीता पौडेलले जनाइन् । ‘दुई महिनामै धेरै परिवर्तन आएको छैन । तर गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका यात्रुले पनि पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न थालेका छन् । फ्लाई दुबईले राम्रो यात्रु भार पाएको छ,’ उनले भनिन्, ‘आगामी सिजनमा काठमाडौंभन्दा पोखराबाटै यात्रा सुरु गर्ने गरी पर्यटकले गन्तव्य तय गर्नेमा हामी विश्वस्त छौं ।’

पोखराबाट यात्रा गर्नेमा अधिकांश श्रमिक भए पनि बेलायत, युरोप र अस्ट्रेलिया जाने यात्रुले समेत पोखरा विमानस्थल रोज्न थालेका छन् । भारतका विभिन्न सहरबाट पोखरामा सिधा उडान हुन सके त्यसले गण्डकी प्रदेशको पर्यटनमा थप सकारात्मक प्रभाव पार्ने पौडेलको भनाइ छ । विशेषगरी भारतीय पर्यटकको प्रमुख गन्तव्य मुक्तिनाथ रहेकाले हवाई सम्पर्क विस्तारले धार्मिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने उनले जनाइन् । पोखरामै भीएफएस कार्यालय स्थापना भए भिसा प्रक्रियाका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने उनको सुझाव छ ।

फ्लाई दुबईको उडानपछि पोखरामा खर्चालु विदेशी पर्यटकको आगमन बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । यसअघि विदेशी पर्यटक काठमाडौं पुगेर त्यहाँका ट्राभल एजेन्टमार्फत प्याकेज लिएर पोखरा आउने गरेकामा अहिले सिधै पोखरा आउन थालेपछि स्थानीय व्यवसायीले पर्यटकसँग प्रत्यक्ष कारोबार गर्ने अवसर पाएको उनको भनाइ छ । ‘पहिला विदेशी पर्यटक काठमाडौंका एजेन्टमार्फत पोखरा आउँथे । त्यसले पोखराका व्यवसायीलाई कम आम्दानी हुन्थ्यो । अहिले पर्यटक सिधै पोखरा आउँदा होटल, ट्राभल र ट्रेकिङ व्यवसायीले आफैं सेवा र प्याकेज बिक्री गर्न पाएका छन्,’ उनले भने ।

भारतसँगको हवाई सम्पर्क विस्तारमा भने सरकारले पोखरालाई प्राथमिकतामा राख्नुपर्ने भुजेलले जनाए । भारतीय पर्यटक मुक्तिनाथ दर्शन, पदयात्रा र अन्य धार्मिक पर्यटनका लागि गण्डकी आउने भएकाले पोखरासँग सिधा हवाई सम्पर्क आवश्यक रहेको उनले बताए । भारतका विभिन्न प्रदेशमा

नेपाली भूमि गण्डकीबाट भर्ती भएर गएका भारतीय सैनिकको संख्या पनि ठूलो रहेकाले पोखरालाई भारतीय सहरसँग जोड्दा पारिवारिक आवागमनसमेत सहज हुने उनको भनाइ छ ।

‘पोखराबाट दिल्ली उपचारका लागि जानुपर्दा अहिले काठमाडौं पुग्नुपर्ने वा लामो सडक यात्रा गर्नुपर्ने बाध्यता छ । भारतबाट पर्यटक आउने मात्र होइन, नेपालीलाई उपचारका लागि भारत जान पनि सहज हुन्छ । दुवै देशलाई फाइदा हुने विषयका रूपमा सरकारले यो कुरा राख्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीको भारत भ्रमणमा सिमराबाहेक थप तीन हवाई प्रवेश मार्ग खोल्ने विषयमा ठोस सहमति गर्नुपर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको जोड छ । ‘भूपरिवेष्टित तथा सार्वभौम मुलुकका रूपमा नेपालले पाउनुपर्ने न्यूनतम अन्तर्राष्ट्रिय हवाई सम्पर्कलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘थप हवाई प्रवेश मार्ग खुल्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न प्रमुख सहरमा सिधा उडान सञ्चालन गर्ने बाटो खुल्नेछ ।’ यसले पोखरा र गण्डकी प्रदेशको पर्यटन, आर्थिक विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ । पोखरा–सुनौली फास्ट ट्र्याक निर्माणको विषयलाई समेत प्रधानमन्त्रीको भारत भ्रमणको प्राथमिकताप्राप्त एजेन्डा बनेकामा उनले खुसी व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भने हवाई रुटलगायत विषयमा सहमति जुटाउनुअघि नेपाल–भारतबीचको परम्परागत राजनीतिक सम्बन्ध र आपसी विश्वास सुदृढ गर्नुपर्ने बताए । पछिल्लो समय दुई देशबीच देखिएको विश्वासको संकट समाधान गर्न प्रधानमन्त्रीको भ्रमणले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । ‘नेपाल–भारत सम्बन्ध सुदृढ भएन भने हवाई रुटलगायत विषय सम्बोधन गर्न पनि गाह्रो हुन्छ । त्यसैले पर्याप्त गृहकार्यसहित कनेक्टिभिटीलाई प्राथमिकता दिएर एजेन्डा तय गर्नुपर्छ,’ उनले भने ।

पोखरा विमानस्थलका लागि हवाई रुट, पोखरासम्म रेलमार्ग विस्तार र सुनौली–पोखरा द्रुत मार्गलाई समेत द्विपक्षीय छलफलको विषय बनाउनुपर्ने मुल्मीले जनाए । पश्चिमी क्षेत्रका महेन्द्रनगर, नेपालगन्ज र भैरहवा हवाई प्रवेश मार्ग खोल्न तथा क्षेत्रीय सहरबीच सिधा हवाई सम्पर्क विस्तार गर्न आवश्यक रहेको उनले बताए ।

हाल करिब ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान समिरा प्रवेश विन्दुमा निर्भर रहँदा पश्चिमबाट आउने जहाजले लामो दूरी तय गर्नुपरेको उनको भनाइ छ । यसले हवाई भाडा महँगो बनाउनुका साथै भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उनले जनाए ।

फ्लाई दुबईको उडानले अन्तर्राष्ट्रिय सहरलाई पोखरासँग चिनाउने अवसर दिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । गण्डकी प्रदेश आउने यात्रु सिधै पोखरा विमानस्थलमा ओर्लने क्रम बढेको र आगामी वसन्तयामका लागि विदेशी पर्यटकले पोखरा विमानस्थलमा सिधै अवतरण गर्ने गरी अग्रिम बुकिङ गरिरहेको उनको भनाइ छ । ‘फ्लाई दुबईले उडान सुरु गरेपछि पोखरालाई संसारभर चिनाउने अवसर बनेको छ । अहिलेको आगमनले पर्यटकको संख्यामा केही न केही वृद्धि गरिरहेको छ,’ उनले भने । पोखरामा अझ धेरै पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय बजारमा बजारीकरण र प्रवर्द्धनलाई व्यापक बनाउनुपर्ने उनको सुझाव छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दरगाहसम्म

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्जको माग : दिल्ली सिधा उडानदेखि सुक्खा बन्दरगाहसम्म

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराइएको छ।

#उडान #सिधा #भारत
Compare →
Bizshala
4h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...

#भारत
Compare →
Onlinekhabar
5h ago
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

२ मंसिर, काठमाडौं । भारतमा सबैभन्दा बढी नेपाली श्रमिकले काम गर्छन्, तर यसपटक पनि प्रधानमन्त्रीको भ्रमणमा कामदारको विषय एजेन्डामा परेन । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा कूटनीतिक सम्बन्धका …

#भारत
Compare →
Hamro Patro News
13h ago
भारत भ्रमणमा जान लागेका प्रधामन्त्री बालेनलाई एनपी साउदका तीन सुझाव

भारत भ्रमणमा जान लागेका प्रधामन्त्री बालेनलाई एनपी साउदका तीन सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ गते औपचारिक रूपमा भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बसेको दुई तिहाइ नजिकको स...

#भारत
Compare →

Related Stories

World News
Build #2612