नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर संवाद र संस्थागत सहकार्य आवश्यक रहेको आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील केसीले बताए ।
काठमाडौँ — नेपाल र भारतका नीति निर्माता तथा विचारकहरूले दुवै देशको आर्थिक वृद्धि र साझा समृद्धिका लागि निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने बलियो र संस्थागत संयन्त्र निर्माण गर्न आग्रह गरेका छन् ।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) र भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसन (भीआईएफ) को संयुक्त आयोजनामा ललितपुरमा सम्पन्न ‘नेपाल–भारत थिंक ट्यांक समिट २०२६’ मा सहभागीहरूले सीमापार लगानी, व्यापार विस्तार र आर्थिक वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
‘नेपाल–भारत आर्थिक साझेदारी : विश्वव्यापी रूपान्तरणको सामना र नयाँ अवसरहरूको खोजी’ विषयक सम्मेलनमा दुवै देशका विज्ञले लगानी, आर्थिक कूटनीति, डिजिटल सहकार्य र सीमापार कनेक्टिभिटी विस्तारका सम्भावनाबारे छलफल गरेका थिए ।
नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर संवाद र संस्थागत सहकार्य आवश्यक रहेको आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील केसीले बताए ।
जलवायु परिवर्तन, मानव बेचबिखन र लागुऔषध ओसारपसारजस्ता गैरपरम्परागत सुरक्षा चुनौतीसँगै पारस्परिक लाभका आर्थिक अवसरमा पनि ध्यान दिनुपर्ने भीआईएफका निर्देशक जनरल अनिल चौहानले धारणा राखे ।
सम्मेलनमा नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेल, पूर्वअर्थ तथा वाणिज्य सचिव मधुकुमार मरासिनीलगायत नेपाल तथा भारतका विज्ञ र नीति निर्माताहरूको सहभागिता थियो ।