Trending
Prev Story
Next Story

‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

Onlinekhabar •
November 18, 2026 • 01:30 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहँदा दुई देशबीचमा विगतका सहमति सम्झौता र नयाँ सम्बन्धका विषयमा चर्चा छ । तर नेपाल भारतबीच सहमति सम्झौता बाहेक सांस्कृतिक, धार्मिक लगायतका सम्बन्धहरू पनि छन् । यसै सन्दर्भमा कूटनीतिक मामिला …

‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहँदा दुई देशबीचमा विगतका सहमति सम्झौता र नयाँ सम्बन्धका विषयमा चर्चा छ । तर नेपाल भारतबीच सहमति सम्झौता बाहेक सांस्कृतिक, धार्मिक लगायतका सम्बन्धहरू पनि छन् ।

यसै सन्दर्भमा कूटनीतिक मामिला जानकार एवं नेपाल तथा एशियाली अध्ययन केन्द्र   (सिनास)का कार्यकारी निर्देशका डा. मृगेन्द्रबहादुर कार्की सँग अनलाइनखबरका दुर्गा खनाल ले गरेको कुराकानी :

नेपाल र भारतका दुईपक्षीय भ्रमणहरूमा विगतका सम्झौताहरू को मात्रै धेरै समीक्षा हुनेगर्छ । तर, नेपाल र भारतको सम्बन्ध दुई देशको कुनै सहमति वा सम्झौतामा आधारित मात्रै छ कि यसको इतिहासदेखिकै अरू सम्बन्धहरू पनि छन्?

नेपाल र भारतको सम्बन्धलाई चित्रण गर्दाखेरि मैले दुईवटा चरणमा हेर्छु। एउटा चरणलाई ‘अनुयायी’ भनेर मैले वर्गीकरण गरेको छु  । अर्को चरण भनेको  नागरिकको चरण हो ।

‘अनुयायी’ भन्यो भने कुनै धर्मविशेषका ‘फलोअर्स’ हरू, जसलाई हामी संस्कृतमा अनुयायी भनेर बुझ्छौँ। अनुयायी हुँदाखेरि हिन्दुका अनुयायीहरू, बुद्धका अनुयायीहरू, जैन धर्मका अनुयायीहरू । नेपाल र भारतका सामूहिक सभ्यता र संस्कृतिहरू छन् । तिनीहरूका अवस्थिति दुवै देशमा छन् । त्यो दुई देशको अनुयायीको एउटा तहको सम्बन्ध छ।

र, दोस्रो तहमा भन्नुपर्दा आधुनिक राष्ट्र–राज्यको जुन नागरिकतामा आधारित अवधारणा छ, त्यसको आधारबाट हामीले मूल्याङ्कन गर्न सक्छौँ ।

नेपाल र भारतबीचको सम्बन्धमा प्रायजसो राजनीतिक उतारचढाव, सीमाका विवाद अनि अविश्वासका प्रसङ्गहरू बढी आउने गर्छन्। तर, यी दुई देशलाई त हजारौँ वर्षदेखि अरू सांस्कृतिक कुराहरूले जोडेका छन् । ती जोडिएका कुराहरू यतिबेला त्यही अवस्थामै छन् कि वि स्तारै टुट्दै गएको अवस्था छ ?

हाम्रै यही दक्षिण एसियाली भूगोलको मान्यता र दर्शन के हो भने कुनै पनि कुरा स्थायी हुँदैन । सबै कुरा अस्थायी छन् र परिवर्तनशील छन्।

यहाँले जे कुरालाई इङ्गित गर्न खोज्नुभयो, हिजोको जुन स्वरूपमा अनुयायीहरूको सम्बन्ध थियो, त्यो अनुयायीका सम्बन्धहरूमा पनि अहिलेको समयक्रमसँगै केही बदलाव र परिवर्तन आएको छ।

तर, त्यसका खास जुन मूलभूत आधारहरू छन्, ती अहिलेको प्राज्ञिक क्षेत्रले धेरै खोजी गरेको छैन।

राजनीतिक कुरा गर्दाखेरि पनि म त राजनीति र ‘पोलिटिक्स’ एउटै होइन भन्छु।

राजनीति भनेको अहिले हामीले लोकल कम्युनिटीसँग गएर सोध्यौँ भने, राजनीतिभित्र ‘पोलिटिक्स’ छिर्यो भन्छन् । पोलिटिक्स भनेको फरक कुरा हो—त्यो चाहिँ बढी स्ट्रेटेजिक,  कहीँ न कहीँ आफूलाई केन्द्रबिन्दुमा राखेर स्वार्थवश अगाडि जाने कुराहरू हुन्।

तर राजनीति त्योभन्दा व्यापक र ठूलो कुरा हो भन्ने मलाई लाग्छ। त्यो हिसाबले गर्दाखेरि समयसन्दर्भसँगै यिनीहरू बद्लिँदै गएको अवस्था छ।

हाम्रो नेपालको मात्रै होइन,  भारतीय विश्वविद्यालयहरूले पनि पनि रोल मोडल मान्दाखेरि हाम्रै सभ्यता–संस्कृतिको सोर्सबाट ज्ञान निर्माण गर्नुको सट्टा हामीले कहीँबाट मागेर, एडप्ट गरेर यी सबै कुरालाई व्यवस्थापन गर्न जाने र युनिभर्सिटीमा पढ्ने–पढाउने क्रम रहेको हुँदाखेरि पनि कतै न कतै यिनीहरूको स्वरूपमा परिवर्तन छ।

नेपाल–भारत सम्बन्धमा  प्रायः ‘रोटी–बेटीको सम्बन्ध’ भनेर चर्चा हुने गर्छ । अब त्यो ‘रोटी–बेटी’ भन्ने भाष्यले मात्रै यो सम्बन्धलाई जोडिरहन्छ ?

रोटी र बेटीको सम्बन्धले हिजो नेपाल र भारतको विशेष सम्बन्ध छ भन्ने देखाउँथ्यो । हाम्रा प्रधानमन्त्री जाँदा पनि त्यही भन्नुहुन्छ । भारतीय प्रधानमन्त्री आउँदा पनि त्यही भन्नुहुन्छ। जुन हामीले विशिष्ट रूपमा लिन्छौं । तर त्यसलाई हामीले किन विशिष्ट छन् भन्ने कुरामा गहिराइमा गएर विष्लेषण गरेका छैनौं ।

हामीले अहिले नेपाल–भारत सम्बन्धको कुरा गर्दा ‘नेसन स्टेट’ (राष्ट्र–राज्य) को कन्सेप्टबाट हामी अगाडि बढ्छौँ ।

तर नेसन स्टेट भन्ने कन्सेप्ट १६४८ मा वेस्टफेलियामा जुन कन्ट्र्याक्ट भयो, रूपमा त्यसको आइडियोलोजिकल, त्यसको दार्शनिक तहबाट निर्माण भएको कुरा हो।

तर दक्षिण एसियामा र विशेषगरी नेपाल र भारतको सम्बन्धमा कुरा गर्‍यो भने, त्यो नेसन स्टेटको कन्सेप्ट जुन स्वरूपमा युरोपमा जेनेरेट भयो–इमर्ज गर्‍यो, यहाँ चाहिँ त्यही लागु हुन्छ भन्ने मलाई लाग्दैन।

जस्तो, नेसन स्टेटको कन्सेप्टको कुरा गर्दा इन्टरनेसनल बाउण्ड्री (अन्तर्राष्ट्रिय सिमाना), त्यो बाउण्ड्रीलाई सर्भिलेन्स (निगरानी) गर्ने कुराहरू भयो । सिटिजनशिप (नागरिकता) को कुरा भयो, पासपोर्टको कुरा भयो, भिसाको कुरा भयो।

नेपाल–भारतको १९५० को शान्ति तथा मैत्री सन्धी छ । त्यसमा दुइटै देश सोभरेन (सार्वभौम) हुन्, इन्डिपेन्डेन्ट (स्वतन्त्र) छन् भनेर पनि लेखिएको छ।

अर्को धारामा दुईवटा देशका नागरिक स्वतन्त्र आउन–जान सक्छन् पनि भनिएको छ ।

एकतिर इन्डिपेन्डेन्ट हौं, हामी सोभरेन हौं। तर अर्कोतिर पासपोर्ट र भिसा चाहिँदैन ।

अब परम्परागत रूपमा जाने, आउने एउटा–दुइटा सम्झौता थप्ने, पुरानालाई फेरि निरन्तरता (कन्टिन्यु) गर्ने र चाँडै सक्छु भन्ने प्रतिबद्धता देखाउने मात्र होइन । भारतसँग अब रोटी–बेटीको सम्बन्ध मात्र छैन ।

रोटी–बेटीको सम्बन्ध त अमेरिकासँग पनि छ । त्यहाँ ५–७ लाख नेपालीहरू कानुनी नागरिक (लिगल सिटिजन) भएरै बस्नुभएको छ। युरोपमा त झन् ब्रिटिश आर्मी भएको हुनाले धेरै पुरानोदेखि हाम्रो सम्बन्ध छ । त्यहाँको पनि एक खालको अपेक्षा छ। रोटी–बेटीको सम्बन्ध अब भारतसँग मात्रै छ भन्ने होइन । यो युरोपसँग पनि छ, अमेरिकासँग पनि छ, क्यानडामा पनि छ, अस्ट्रेलियामा पनि छ। यसको व्यापकता अगाडि बढेको छ।

आधुनिक जग अहिले उद्योग–नीतिले निर्माण गरेको छ । हामी शिक्षा लिनका लागि होस्, रोजगारीका लागि होस् धेरै ठाउँमा नेपाली पुगेका छन् । रोटी–बेटीको सम्बन्धको बीचमा निकै ठूलो तात्विक चरित्रगत फरकपना छ । त्यो हिसाबले यी कुराहरूलाई उहाँले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो ।

इतिहास हेर्दा भारतले नेपालका राजनीतिक घटनाहरूमा सूक्ष्म रूपमा चासो दिने गरेको छ । अब अहिले पनि नयाँ शक्ति आएको छ  । यो शक्ति भारतको संस्थापनका लागि पनि नौलो छ । अहिले भारतले  नेपालमा उदाउँदै गइरहेको यो शक्तिलाई कसरी हेरेको होला ?

‘जेनजी’ आन्दोलनमा समृद्धि, स्वतन्त्रता र आर्थिक अवसरको माग अभिव्यक्त भएको थियो । त्यसलाई कसरी हामीले पुँजीकृत (क्यापिटलाइज) गर्न सक्छौँ भन्ने नै हाम्रो मुख्य मुद्दा हुनुपर्छ । यो सरकार नै कसरी बन्यो भन्ने कुरामा फरक–फरक षड्यन्त्रका सिद्धान्त (कन्सपिरेसी थ्योरी) हरू छन्।

अहिलेको नेपाल–भारत र चीन–भारतको जुन अन्तर्राष्ट्रिय सिमाना छ, त्यो म्याकमोहन लाइनले निर्माण गरेको हो। त्यतिबेलाको ब्रिटिश इस्ट इन्डिया कम्पनी र तिब्बत सरकारबीच भएको सम्झौताको आधारमा इन्डिया र चाइनाको अहिलेको बोर्डर छ।

त्यो बोर्डरको कुरा गर्दा, इन्डियन अफिसियल डकुमेन्टमा ३,४८८ किलोमिटरजति चाइनासँग बोर्डर सेयर गर्छु भन्छ, तर चाइनिजहरूचाहिँ—होइन, हामी २,००० किलोमिटर मात्रै बोर्डर सेयर गर्छौँ भन्छन्।

दक्षिण एसिया र यो क्षेत्रमा चीन र भारतको उदय  भएको छ । चीन अब दोस्रो आर्थिक शक्ति, सैन्य शक्ति भएर आएको छ । भारत पनि पहिलो जनसंख्या भएको देश (पपुलस कन्ट्री), सैन्य हिसाबले पनि बलियो छ र पाँचौँ आर्थिक पावरको रूपमा छ ।

भारतको अपेक्षा निश्चित रूपमा अब चीन र भातरका थाती रहेका मुद्दाहरूमा कतै न कतै नेपालको समर्थन होस् भन्ने छ ।

भारतीयहरूको आँखाबाट भारतीय मिडियाहरूमा हेर्दा  नेपाल भारतको सर्भिलेन्सभित्र रहेको देश भन्ने छ । ऐतिहासिक रूपमा नजिक भएको देशलाई अरूको पोल्टामा जान दिनुहुँदैन भन्ने खालको अपेक्षा भारतीयको देखिन्छ । यी कुराहरू नेपालका राजनीतिक शक्तिहरूले पुरा गरिदिउन् भन्ने उनीहरूको  चाहना हुनसक्छ ।

नेपालबाट जाने नेताहरूलाई भारतले  स्वागत–सत्कारसहित धार्मिक मठमन्दिर पनि घुमाउने गरेका छन् । भारतमा हिन्दुवादी सत्ता छ । त्यसको इन्फ्लुएन्स चाहिँ नेपालमा पर्दै गएको छ कि छैन ? अर्थात्, त्यस्ता मुद्दाहरूलाई नेपालले कसरी ट्याकल गर्न सक्छ ?

नेपाल भारत सम्बन्धमा ऐतिहासिक सम्भयतागत निरन्तरता छ । तर, त्यसकै आधारमा पोलिटिक्स ड्राइभ हुनुहुँदैन। राजनीति चाहिँ फरक पाटो हो, सभ्यतागत पाटो फरक हो।

भारतको अहिलेको सत्ताको विरासत धार्मिक छ । उसको दार्शनिक र सैद्धान्तिक आधार पनि धर्मबाट नै गाइडेड छ । नेपाललाई पनि  प्रभावमा पार्ने वा त्यो किसिमबाट आऊ भनेर उहाँहरूले प्रयास गर्ने चाहिँ हुनसक्छ ।

नेपालको आफ्नै विशिष्ट अवस्था छ। त्यो विशिष्ट अवस्थामा अब प्रत्येक देशले उसको स्वार्थअन्तर्गत हामीलाई धकेल्न त खोज्छ नै।

तर, नेपालले आफ्नो सार्वभौम भूमिका चाहिँ देखाउन सक्नुपर्छ ।

नेपालमा युवाहरूको आन्दोलनबाट सत्ता परिवर्तन भयो। भारतलाई कतै नेपालकै जस्तो आन्दोलन हुने भय सिर्जना भएको छ कि छैन ?

पहिलो श्रीलंका, दोस्रो बङ्गलादेश र तेस्रो नेपालमा आन्दोलन भयो । नेपाल चाहिँ ती तीनवटैमध्ये सफल खालको आन्दोलन हो। स्वाभाविक रुपमा एक खालको स्पिलओभर इम्प्याक्ट चाहिँ हाम्रा नजिकका देशहरूमा पर्छ नै। र, दक्षिण एसियाको केन्द्र भनेको त भारत नै हो।

भारतमा अहिले ‘कोक्रोच’ को आन्दोलन चलिरहेको छ ।  त्यसलाई जोडेर भारतीय मिडियाहरूले बारम्बार नेपालबारे उच्चारण गर्छन् । त्यसैले भारतको सत्तापक्ष सजग छ।  त्यसलाई ट्याकल गर्नको लागि नै एक किसिमबाट स्ट्राटेजीहरू पनि बनाएको होला। तर, नेपालबाट चाहिँ भारतमा त्यो खालको विचार र आन्दोलनलाई प्रमोट गर्ने काम चाहिँ गर्न हुन्नँ ।

नेपालमा सत्तासँग निकट सम्बन्ध राख्दा त्यहाँ युवाहरूलाई पनि केही हदसम्म थुम्थुम्याउन सकिन्छ भन्ने मानसिकतामा चाहिँ भारतमा  छ कि छैन ?

भारतका धेरै प्रकारका रणनीति होलान् । अहिलेको सत्तासँग नजिक भएर त्यसलाई कसरी न्युट्रलाइज गर्न सकिन्छ भन्ने कुरा पनि हुन सक्ला।

नेपालका राजनीतिक मामिलामा भारले माइक्रो म्यानेजमेन्ट गर्छ भन्ने  छ । अहिले त्यो म्यानेजमेन्ट गर्ने शैलीमा केही बदलाव आएको छ ?

भारतले आफूलाई जसरी इन्टरनेसनल एरियामा प्रस्तुत गर्छ, एक्सपोज गर्छ, त्यसको एउटा पाटो छ । तर उसले दक्षिण एसियामा कसरी व्यवस्थापन गर्छ, त्यो फरक पाटो हो । अहिले नयाँ पुस्तामा त्यति धेरै भारतको प्रभाव छैन । अहिले जेनजीको  ड्रिमल्याण्ड भारत होइन, उनीहरूको ड्रिमल्याण्ड वेस्ट नै हो। हाम्रो मात्रै होइन, भारतकै जेनजीको पनि वेस्ट नै हो।

भारतले अहिले बदलिएको सन्दर्भमा नयाँ पुस्ताहरूको अपेक्षालाई ख्याल गरेर ‘मैले माइक्रो-म्यानेजमेन्ट गरेको छैन, नेपालकै सरकारले जुन निर्णय गरेको छ, त्यो सोभरेन छ, हामीले कुनै इन्टरभेन्सन (हस्तक्षेप) त्यसमा गरेका छैनौँ’ भन्ने कुराको प्रत्याभूति र ग्यारेन्टी गर्नु चाहिँ नेपालको लागि र इन्डियाको लागि पनि राम्रो हो।

यो भ्रमणमा  मुख्य रुपमा प्रधानमन्त्रीले के – केमा फोकस गर्नुपर्छ ?

नेपाली नागरिकहरूले  जुनसुकै सम्झौताहरू पनि इक्वल फुटिङ (समान धरातल) मा भएको महसुस गर्नुपर्‍यो । त्यही खालको सन्देश दिनुपर्‍यो ।

अहिले धेरै नेपालका डेभलपमेन्ट प्रोजेक्टहरू विशेषगरी हाइड्रोपावरहरूमा भारतले सहमति गर्ने प्रोसेसमा अगाडि नबढाउने र दशकौँसम्म होल्ड मात्रै गरिराख्ने जुन अवस्था छ, त्यो अवस्थामा पुनरावलोकन गर्नुपर्छ ।

नेपाल किन भारतको लागि अहिले महत्त्वपूर्ण छ भने १९५२ देखि ५४ को हाम्रो  जनगणनामा हिमाल र पहाडको जनसंख्या ६५  प्रतिशत बढी थियो । अहिले २०२१ को  जनगणनामा ५३ प्रतिशत जनसंख्या तराई–मधेशमा छ।

यसको मतलब, हिमाल र पहाड खाली हुँदै गएको अवस्था छ। एकातिर नयाँ हाम्रा विकासका आकांक्षा छन्,  समृद्धिका चाहनाहरू छन् । त्यसलाई भारतले सकारात्मक ढंगले हेर्नुपर्छ ।

भारतले जहिले पनि राष्ट्रिय सुरक्षामा नेपालबाट खतरा हुन सक्छ कि सक्दैन भनेर हेर्छ । त्यसलाई हामीले ख्याल गर्नुपर्छ ।

नेपाली नागरिकहरू त्यहाँ जाँदा दैनिक रुपमा  समस्या झेलिरहेका छन् । त्यसमा ध्यान दिनुपर्छ । साना–साना कुराहरूबाट सुरु गरेर मेजर कुराहरूलाई पछाडि राख्दै, एकअर्काको बीचको विश्वास आर्जन गर्नुपर्छ ।

विगतमा विश्वासमा संकट आउँदै गर्दा २०७२ सालको संविधान निर्माण गरिसकेपछि भारतले नाकाबन्दी नै गर्‍यो । यसका कारण नेपालमा भारतविरोधी भावना निर्माण भएको छ । यो भारतविरोधी भावना भेटाउने गरी भारतले भूमिका खेल्न सक्छ ।

विगतमा ठूला आयोजना बनाउने , धार्मिक सांस्कृतिक सम्बन्ध बनाउने लगायतका कुरा हुँदै आए । तर अहिलेका पुस्ताका आकांक्षाहरू फरक खालका छन् । भारत आर्थिक रुपमा पनि गतिशील छ  । अब नयाँ  पुस्तालाई जोड्ने  र त्योअनुसार नेपाल र भारतको सम्बन्धलाई कसरी उकास्न सकिन्छ ?

सूचना प्रविधिको क्षेत्रमा जसरी संसार अघि बढेको छ त्यसमा भूगोलको अस्तित्व नै छैन । जसले जहाँ बसेर जे पनि काम गर्न सक्छ । भारत र नेपालको जुन भौगोलिक सामीप्यता छ त्यसलाई सूचना प्रविधिले झन् नजिक ल्याइदिएको छ । तर यो कुरा बुझिएन भने यो मार्केट अन्यत्र पनि जान सक्छ । अवसरहरू नेपालले अन्यन्त्र पनि एक्सप्लोर गर्न सक्छ ।

त्यसैले नेपाल र भारतले एउटै क्षेत्रमा मिलेर काम गर्न सक्छौं । अब नेपाल र भारतले स्पिड अप गर्नुपर्ने  छ

नेपाल–भारतको सम्बन्धमा चाहिँ सीमाको विषय जहिले पनि  चर्चामै रहिरहने गर्छ । सीमाको विषयमा अहिलेका प्रधानमन्त्री काठमाडौं महानगरका मेयर हुँदा ग्रेटर नेपालकै नक्सा राखेर अडान लिनु भएको थियो । अहिलेको भ्रमणमा यो विषयमा स्पष्ट रूपमा हाम्रो पोजिसन यो हो र यो यसो गरौँ’ भनेर भन्न सक्ने अवस्था रहन्छ कि रहँदैन ?

मलाई लाग्छ, प्रचण्ड प्रधानमन्त्री भएर जानुभएको बेला जोइन्ट स्टेटमेन्टमै  मोदी र प्रचण्डले लिपुलेक र कालापानीलाई पनि अब हामी व्यवस्थापन गर्छौं भनेर प्रतिबद्धता आएको थियो । ती कुराहरूलाई लामो समयसम्म थाती राख्दा नेपालमा पनि फरक खालको वातावरण बनिराख्ने, भारत पनि  सधैँ त्यसैसँग अल्झिरहने भयो ।

यही कारण नेपाल र भारतबीचको सम्बन्धमा क्र्याकहरू झन् गहिरिँदै जाने अवस्था रहेको हुँदा, त्यसलाई पनि हामीले सम्बोधन गर्नुपर्छ।

तर, त्यो सम्बोधन गर्दा धेरै कुरा पब्लिकमा पहिले नै लिएर आएर पोजिसनिङ बनाएर भन्दा पनि, दुवै देशका डिप्लोम्याटहरूले गहिरो छलफल गर्नुपर्छ ।

अहिलेको सरकारले त गर्न सक्छ नि ।  नेपालको अहिलेको सरकारसँग करिब दुई तिहाइ छ ।

कतै–कतै अहिलेकै मन्त्रिपरिषद्का मन्त्रीज्यूहरूले नेपालमा फरक खालको युग चाहिँ अन्त्य भयो पनि भन्नुभएको । एन्टी–इन्डियन सेन्टिमेन्ट र त्यो युग चाहिँ अन्त्य भयो भन्ने खालको एउटा बुझाइ छ। त्यो खालको कुरामा अगाडि बढ्यो भने चाहिँ कतै–कतै समस्या होला। किनभने पहिले नै हामीले पोजिसन देखाएपछि कमजोर भइन्छ । यो सबै भन्दा संवेदनशील विषय हो । प्रधानमन्त्रीका लागि पनि गार्‍हो विषय हो ।

किनभने, अरू विषयमा उहाँका ब्यागेज छैनन्, राष्ट्रियताको विषयमा उहाँले दिएका हिजोका वक्तव्यहरू र उहाँले राख्नुभएको ग्रेटर नेपालको नक्साको कारणले गर्दा यो एकदमै ठूलो र पेचिलो विषय हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

१ मंसिर, काठमाडौं । भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको स्वतन्त्र पहिचान तथा सार्वभौमिकताप्रति स...

#सम्बन्ध #भारत
Compare →
Ekantipur
18m ago
नेपाल–भारतका निजी क्षेत्रको संस्थागत साझेदारी बलियो बनाउन आग्रह

नेपाल–भारतका निजी क्षेत्रको संस्थागत साझेदारी बलियो बनाउन आग्रह

नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन निरन्तर संवाद र संस्थागत सहकार्य आवश्यक रहेको आइडाका संस्थापक तथा कार्यकारी अध्यक्ष सुनील केसीले बताए ।

#सम्बन्ध #भारत
Compare →
Bizshala
4h ago
बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

बालेनको भारत भ्रमणमा १७ अर्ब ६० करोडको ग्यास परियोजना मुख्य एजेन्डा, भारतसँग अनुदान माग्ने तयारी

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालले झन्डै साढे १७ अर्ब रुपैयाँ लागतको ग्यास...

#बालेन-शाह #भारत
Compare →
Nagarik News
11h ago
बालेनको भारत भ्रमण ‘क्रसरोडमा’ : गोकुल बाँस्कोटा

बालेनको भारत भ्रमण ‘क्रसरोडमा’ : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेनद्र शाहको भारत भ्रमणलाई महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।

#बालेन-शाह #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612