संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।
काठमाडौँ — नेपाल र भारतले संयुक्तरूपमा जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली क्षेत्रको संरक्षण तथा जैविक विविधता जोगाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।
भेटमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिम, विपद् व्यवस्थापन, वन संरक्षण, जलवायु वित्त तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । त्यसअवसरमा नेपालले हिमालय क्षेत्रसम्बन्धी कार्ययोजना र स्थायी एजेन्डा कोप–३१ को निर्णयमा समावेश गर्न भारतको समर्थन माग गरेको थियो । साथै, जलवायु विज्ञान, पूर्वसूचना प्रणाली, अनुकूलन र वित्तीय सहयोगमा सहकार्य विस्तार गर्न मन्त्री चौधरीले आग्रह गरेकी थिइन् ।
उनले जलवायुजन्य हानि तथा नोक्सानीसम्बन्धी कोषबाट प्रभावित देशलाई शीघ्र सहयोग उपलब्ध गराउने संयन्त्र स्थापना गर्न पनि भारतको समर्थन माग गरेकी थिइन् । संयुक्त राष्ट्रसङ्घको महासभाको ८१औँ अधिवेशनमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सन् २०२६ को सेप्टेम्बरमा औपचारिक रूपमा प्रस्ताव गरेका ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्ने प्रस्तावलाई कार्यान्वयनमा ल्याउन भारतको सहयोग र समर्थनका लागि आग्रह गरिएको थियो । भेटमा अवैध वन्यजन्तु व्यापार तथा चोरीसिकार नियन्त्रण, सीमापार वन्यजन्तु आवागमन क्षेत्रको संरक्षण र दिगो वन व्यवस्थापनमा प्राविधिक सहयोग तथा ज्ञान आदानप्रदान बढाउने विषयमा समेत छलफल भएको थियो ।
मन्त्री चौधरीले आगामी वर्ष आयोजना हुने दोस्रो सगरमाथा संवादमा सहभागी हुन भारतीय मन्त्रीलाई निमन्त्रणा दिएकी थिइन् । भारतीय मन्त्री यादवले सो संवादमा आउने विषयमा आफू सकारात्मक रहेको बताउनुभएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । दुवै पक्षले जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।