सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी यस वर्ष २८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी ९ करोड ९५ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा थियो। तर चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले नोक्सानीबाट बाहिरिँदै उल्लेख्य नाफा कमाएको हो। कम्पनीको लगानीबाट हुने आम्दानीमा भएको वृद्धि र कुल खर्चमा आएको कमीले नाफामा सुधार गर्न सहयोग गरेको देखिन्छ।
कम्पनीको कुल आम्दानी पनि दोब्बरभन्दा बढीले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड २६ लाख १४ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १३४.७० प्रतिशतले बढाएर ४० करोड ५१ लाख २९ हजार रुपैयाँ पुर्याएको छ।
कम्पनीको आम्दानी बढ्नुमा लगानीबाट प्राप्त आम्दानीको मुख्य योगदान देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा लगानीबाट ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २७ करोड ४९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ। यसले कम्पनीको कुल आम्दानीमा ठूलो सुधार ल्याएको छ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आवमा २२ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको यस कम्पनीले चालू आवको सोही अवधिमा १६.६० प्रतिशतको वृद्धि सहित २६ करोड १३ लाख रुपैयाँ संकलन गरेको छ।
यता कम्पनीले खर्च व्यवस्थापनमा पनि उल्लेख्य सुधार गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड २१ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा खर्च घटाएर ८ करोड ६९ लाख रुपैयाँमा सीमित गरेको छ।
नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट धनात्मक भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणात्मक ३७ रुपैयाँ ३२ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १०६ रुपैयाँ १४ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ६ हजार ६४५ रुपैयाँ रहेको छ भने सोल्भेन्सी अनुपात ३.६२ रहेको वित्तीय विवरणमा उल्लेख छ। त्यस्तै कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ।