प्रतियोगितामा नेपाल र भारतका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् भने विजेता टोलीले ५ लाख रुपैयाँको पुरस्कार पाउनेछ ।
सुनसरी — धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन महिला अन्तर्राष्ट्रिय क्लब गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेल रात्रिकालीन रूपमा सञ्चालन गर्ने गरी धरान रङ्गशालामा अस्थायी फ्लडलाइट जडान गरिने भएको छ ।
आयोजकले बिहीबार साँझ ट्रफी सार्वजनिक गर्दै तयारी पूरा भएको जानकारी दिएको हो । डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको आयोजनामा हुने ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप–२०८३’ २८ कात्तिकदेखि ६ मंसिरसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालका विभागीय टोलीसहित भारतको एक क्लब गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै खेल धरान रङ्गशालामा साँझ ६ बजेदेखि सुरु हुनेछन् । आयोजकका अनुसार प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली आर्मी, नेपाल पुलिस क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, भारतको आक्वा फुटबल क्लब राँची झारखण्ड, काँकडभिट्टा महिला फुटबल क्लब र आयोजक स्वर्णिम क्लब धरान सहभागी हुनेछन् । २८ कात्तिकमा हुने उद्घाटन खेलमा भारतको आक्वा फुटबल क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी हुन भारतीय टोली बिहीबार दिउँसो धरान आइपुगेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले धरानमा यसअघि अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप हुँदै आए पनि महिला फुटबलको अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगिता रात्रिकालीन रूपमा पहिलो पटक आयोजना गर्न लागिएको बताए । यसअघि धरानमा गोधूली कप फुटबल प्रतियोगिता एक पटक रात्रिकालीन रूपमा सञ्चालन गरिएको थियो ।
महिला फुटबलको व्यावसायिक विकाससँगै स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव उमेश जिमीले बताए । प्रतियोगितामा राष्ट्रियस्तरका महिला खेलाडीहरूको समेत सहभागिता रहने आयोजकको भनाइ छ । प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रममा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ईभी स्कुटरको चाबीसमेत हस्तान्तरण गरिएको थियो । धरान–१९ निवासी सम्झना खालिङले आफ्ना दिवङ्गत बुवाको स्मृतिमा उक्त स्कुटर प्रायोजन गरेकी हुन् ।
नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम ईस्वोले दिवङ्गत आमाबुबाको स्मृतिमा प्रतियोगिताको ट्रफी हस्तान्तरण गरेका हुन् । ट्रफीमा धरानका विभिन्न पहिचान झल्किने दृश्यहरू समेटिएको ईस्वोले जानकारी दिए ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।