सिरिजङ्गा सिं थेवेको जन्मजयन्तीमा आयोजित मेलामा भारतको एकसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
ताप्लेजुङ — अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला मङ्सिर २३ देखि २९ गतेसम्म हुने भएको छ । किरात लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका अगुवा सिरिजङ्गा सिं थेवेको जन्मजयन्तीको अवसरमा गाउँपालिकाको केन्द्र तेल्लोकमा मेला हुन लागेको हो ।
तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा हुने मेलामा भारतको एकसहित आठ टिमबीच फुटबल प्रतियोगिता हुने अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
यस वर्षको प्रतियोगितामा युनाइटेड खर्साङ क्लब भारत, आयोजक तेल्लोक सर्पोटिङ क्लब, झापाको सैनिक युथ क्लब, इलामको रेडहर्स क्लब, पाँचथर फुटबल क्लब, मोरङको युनिक महादेव क्लब बेलबारी, मरिक एफसी धरान सुनसरी र म्याङ्लुङ् स्पोर्टिङ क्लब तेह्रथुम सहभागी हुनेछन् ।
विजेताले ३ लाख ५१ हजार, उपविजेताले १ लाख ७५ प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान पाँच हजारका दरले प्रोत्साहन गरिने छ ।
यो प्रतियोगिता २०७८ सालबाट निरन्तर हुँदै आएको छ । सिरिजङ्गा मेलामा स्थानीय उत्पादनको बजारीकरण हुनुकासाथै राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने भट्टराईले बताए । फुटबल र मेला समेतको गरी ५५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । गाउँपालिका, वडा तथा अन्य व्यक्तिको सहयोगबाट मेला सन्चालन हुँदै आएको छ ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।