कोशी प्रदेशका नौ टोली सहभागी हुने प्रतियोगिता मंसिर १७ गतेसम्म क्षेत्रीय रंगशालामा सञ्चालन हुनेछ।
सुनसरी — सुनसरीको इटहरीमा आगामी मंसिर १० गतेदेखि ‘हर्क साम्पाङ फुटबल कप’ आयोजना हुने भएको छ । श्रम संस्कृति पार्टी इटहरी युवा नगर समितिको आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका नौवटा फुटबल टिमले प्रतिस्पर्धा गर्ने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
इटहरीस्थित क्षेत्रीय रंगशालामा मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन कोशी प्रदेशका १४ वटै जिल्ला फुटबल संघलाई पत्राचार गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा युनाइटेड क्लब तरहरा, पथरी ११ मोरङ, रारा फुटबल क्लब राजारानी धनकुटा, चुलाचुली स्पोर्टिङ क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी, ब्रदर्शहुड क्लब उदयपुर, रेडहर्स फुटबल क्लब इलाम, केडीएफए खोटाङ र कोदार फुटबल क्लब भोजपुरले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत पाँच हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक ताजिना विष्टले जानकारी दिइन् । प्रतियोगिताका लागि आवश्यक रकम दाताहरूबाट संकलन गरिने उनले बताइन् । उनका अनुसार हालसम्म अनुमानित खर्चको ६० प्रतिशत रकम संकलन भइसकेको छ भने बाँकी रकम संकलन गर्ने काम भइरहेको छ ।
प्रतियोगिताको उद्घघाटन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गर्ने कार्यक्रम तय गरिएको छ । खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने, खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापनका दिन चर्चित गायक राजेश पायल राईको सांगीतिक प्रस्तुति पनि रहने प्रतियोगिता संयोजक रोशन राईले जानकारी दिए । खेलकुदसँगै सांगीतिक कार्यक्रमसमेत समावेश गरेर प्रतियोगितालाई उत्सवका रूपमा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिसकेको छ । मंसिर १० गतेको उद्घाटन खेल युनाइटेड क्लब र पथरी ११ बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।