Trending
Prev Story
Next Story

के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

Ekantipur •
November 11, 2026 • 05:01 AM
1
1 reads 0 reactions

शव नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारमा हत्या पुष्टि, अभियोजन पक्षले करिब १०० साक्षी र ५०० प्रमाण प्रस्तुत गरेको थियो।

के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

शव नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारमा हत्या पुष्टि, अभियोजन पक्षले करिब १०० साक्षी र ५०० प्रमाण प्रस्तुत गरेको थियो।

काठमाडौँ — नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स विलियम काउन्टी सर्किट अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब छ सातासम्म चलेको सुनुवाइपछि १२ सदस्यीय जुरीले झन्डै पाँच घण्टाको छलफल गरी सर्वसम्मत फैसला सुनाएको थियो ।

फैसलापछि नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । उनको सजाय सन् २०२७ मार्च १२ मा निर्धारण हुने तय भएको छ । भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ । शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा भने प्रत्येकमा अधिकतम पाँच वर्षसम्म कैद हुन सक्ने सीएनएनले जनाएको छ ।

मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ, नरेशका पूर्वरूममेट तथा ममताका साथी र सहकर्मीसहितका साक्षी प्रस्तुत गरेको थियो । अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण अदालतमा पेस गरेको थियो । ती प्रमाणमा फरेन्सिक विश्लेषण, डिजिटल गतिविधि, खरिदका विवरण तथा घटनासँग सम्बन्धित अन्य सामग्री समावेश थिए ।

ममताकी साथी सुनिता बस्नेत थापाले अदालतमा बयान दिँदै उनी आत्महत्या गर्ने स्वभावकी नभएको बताएकी थिइन् । ममताले आफूलाई मार्ने कुरा कहिल्यै नगरेको र आत्महत्या गर्ने सोच व्यक्त नगरेको उनको भनाइ थियो । उनले ममताको अनुहारमा चोटसमेत देखेको बयान दिएकी थिइन् । ममताकी आमा, भाइ र अन्य साथीहरूले पनि उनीमाथि घरेलु हिंसा भएको बताएका थिए ।

अभियोजन पक्षले नरेशले हत्या पूर्वनियोजित रूपमा गरेको दाबी गर्दै सन् २०२४ मार्च २१ मा श्रीमती हराए के हुन्छ भन्ने विषयमा फोन र कार्यालयको ल्यापटपमा खोजी गरेको विवरण अदालतमा प्रस्तुत गरेको थियो । ममता सम्पर्कविहीन भएको समयमा नरेशले फोहोरका झोला, पञ्जा र सरसफाइका सामग्री खरिद गरेको दृश्यसमेत अदालतमा देखाइएको थियो ।

फरेन्सिक विश्लेषकहरूले घरभित्र भेटिएको रगत ममताको भएको विश्वास गरेका थिए । अभियोजन पक्षले यी प्रमाणलाई ममताको हत्या भएको र त्यसपछि शव लुकाउने प्रयास गरिएको दाबी पुष्टि गर्ने आधारका रूपमा प्रस्तुत गरेको थियो । शव फेला नपरे पनि परिस्थितिजन्य प्रमाणले हत्या भएको निष्कर्षमा पुग्न सकिने अभियोजन पक्षको तर्क थियो ।

नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । सीएनएनका अनुसार उनले सुनुवाइका क्रममा ममताको शव टुक्र्याएर लुकाएको स्वीकार गरेका थिए । तर, हत्या गरेको भने अस्वीकार गर्दै आत्महत्यापछि शव व्यवस्थापन गरेको बताएका थिए ।

अन्तिम बहसका क्रममा नरेश पक्षकी वकिल ट्रेसी लेनक्सले अभियोजनले हत्या पूर्वनियोजित भएको प्रमाणित गर्न नसकेको जिकिर गरेकी थिइन् । उनले जुरीसमक्ष अभियोजन पक्षका प्रमाणले आरोप शंकाभन्दा पर पुगेर पुष्टि नगरेको भन्दै शंका भए निर्दोष ठहर गर्नुपर्ने तर्क गरेकी थिइन् । अभियोजन पक्षकी वकिल क्याथरिन विलियम्सले भने नरेशको आत्महत्या सम्बन्धी स्पष्टीकरण हास्यास्पद रहेको बताउँदै प्रस्तुत प्रमाणले हत्या पुष्टि गर्ने जिकिर गरेकी थिइन् ।

अन्ततः जुरीले अभियोजन पक्षका प्रमाण र साक्षीका बयानलाई स्वीकार गर्दै नरेशलाई तीनै अभियोगमा दोषी ठहर गरेको हो । फैसलापछि अभियोजन पक्षले जारी गरेको वक्तव्यमा यस निर्णयलाई ‘न्यायको एउटा महत्त्वपूर्ण मापन’ भनेको छ । ममताका निकट साथी तथा पूर्वसहकर्मी हली विर्थले अभियोजक र प्रहरीप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

ममता सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा अन्तिमपटक देखिएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन् । नरेशलाई सन् २०२४ अगस्ट २२ मा पक्राउ गरिएको थियो । उनी बेपत्ता भएपछि घटनाको अनुसन्धान सुरु भएको थियो र पछि नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो ।

फैसलाले ममताको हत्या भएको र त्यसमा नरेशको संलग्नता रहेको निष्कर्ष निकाले पनि उनको शव कहाँ छ भन्ने प्रश्न अझै अनुत्तरित छ । ममताकी तीन वर्षीया छोरीको हेरचाह अहिले उनका परिवारले गरिरहेका छन् । नरेशको सजाय निर्धारणसँगै यो प्रकरणले अर्को कानुनी चरणमा प्रवेश गर्नेछ । अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
ममता काफ्लेका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर

ममता काफ्लेका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा लामो समयदेखि चर्चा र चासोको विषय बनेको नेपाली मूलकी ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ । मंगलबार न्यायाध...

#नरेश #हत्या #दोषी
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#नरेश #हत्या #दोषी
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#हत्या #दोषी #ठहर
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#नरेश #हत्या #दोषी
Compare →
Nagarik News
2d ago
नेपाली चेलीको अमेरिकामा कारुणीक अवसान: शवबिनै ह*त्या प्रमाणित

नेपाली चेलीको अमेरिकामा कारुणीक अवसान: शवबिनै ह*त्या प्रमाणित

डीएनए, डिजिटल खोजी, निगरानी भिडियो र परिस्थितिजन्य प्रमाण बने निर्णायक; अमेरिकाको चर्चित ‘नो–बडी मर्डर केस’ ले दिलायो न्यायको महत्त्वपूर्ण सन्देश

#प्रमाण #हत्या
Compare →

Related Stories

World News
Build #2611