Trending
Prev Story
Next Story

नेपाली चेलीको अमेरिकामा कारुणीक अवसान: शवबिनै ह*त्या प्रमाणित

Nagarik News •
November 11, 2026 • 01:21 AM
1
1 reads 0 reactions

डीएनए, डिजिटल खोजी, निगरानी भिडियो र परिस्थितिजन्य प्रमाण बने निर्णायक; अमेरिकाको चर्चित ‘नो–बडी मर्डर केस’ ले दिलायो न्यायको महत्त्वपूर्ण सन्देश

नेपाली चेलीको अमेरिकामा कारुणीक अवसान: शवबिनै ह*त्या प्रमाणित

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा बस्दै आएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। जूरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा शव अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो।

सन् २०२४ को जुलाईदेखि बेपत्ता ममता काफ्ले भट्टको शव हालसम्म फेला परेको छैन। तर, शव नभेटिए पनि डीएनए परीक्षण, डिजिटल प्रमाण, निगरानी क्यामेराका दृश्य, अभियुक्तको गतिविधि तथा अन्य परिस्थितिजन्य प्रमाणका आधारमा अमेरिकी अदालतले हत्या भएको निष्कर्षमा पुग्नु यस प्रकरणको सबैभन्दा महत्त्वपूर्ण पक्ष बनेको छ।

लामो समयदेखि अमेरिका र नेपाल दुवै ठाउँमा चर्चाको विषय बनेको यस घटनामा जूरीको फैसलाले ममताको बेपत्ता प्रकरणलाई कानुनी रूपमा महत्त्वपूर्ण निष्कर्षमा पुर्‍याएको छ। सजाय निर्धारणका लागि आगामी मार्च १२, २०२७ मा सुनुवाइ हुने तय भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

शव नभेटिए पनि प्रमाणको श्रृंखलाले पुग्यो अदालत

ममता बेपत्ता भएपछि सुरु भएको अनुसन्धानमा अभियोजन पक्षले नरेशविरुद्ध फरेन्सिक प्रमाणदेखि डिजिटल गतिविधिसम्मका विभिन्न आधार अदालतमा प्रस्तुत गरेको थियो।

दम्पतीको घरभित्र तथा घटनासँग जोडिएको सामग्रीमा भेटिएका प्रमाण, रगतका दाग र डीएनए परीक्षणलाई अभियोजन पक्षले महत्त्वपूर्ण आधार बनाएको थियो। अनुसन्धानकर्ताले पावर सको भित्री भागबाट संकलन गरिएको नमुना ममताको डीएनए प्रोफाइलसँग मेल खाने बताएका थिए। दम्पतीको शयनकक्षको कार्पेटमा भेटिएको डीएनए मिश्रणसम्बन्धी प्रमाण पनि सुनुवाइमा प्रस्तुत गरिएको थियो।

अभियोजन पक्षले ममता बेपत्ता भएको आसपास नरेशले फोहोर फाल्न प्रयोग हुने सामग्री र सरसफाइका सामान किनेको तथा विभिन्न स्थानमा उनको आवतजावत भएको निगरानी क्यामेरा, फोन र सवारीसम्बन्धी विवरणसमेत प्रस्तुत गरेको थियो।

गुगल खोजी पनि बन्यो महत्त्वपूर्ण प्रमाण

मुद्दामा सबैभन्दा धेरै चर्चामा रहेका प्रमाणमध्ये नरेशको इन्टरनेट खोजी इतिहास पनि एक थियो। श्रीमती हराएमा के हुन्छ, सम्बन्धविच्छेद र जीवनसाथीको मृत्यु वा बेपत्ता अवस्थासँग सम्बन्धित विषयमा गरिएको डिजिटल खोजीलाई अभियोजन पक्षले घटनाको पृष्ठभूमिसँग जोडेर प्रस्तुत गरेको थियो।

डिजिटल प्रमाणले अपराध अनुसन्धानको स्वरूप कसरी बदलिरहेको छ भन्ने यो प्रकरण एउटा उदाहरणका रूपमा समेत हेरिएको छ। आजको समयमा मोबाइल फोन, इन्टरनेट खोजी इतिहास, सीसीटीभी, गाडीको गतिविधि र डिजिटल लोकेसनजस्ता विवरणले अपराध अनुसन्धानमा प्रत्यक्ष साक्षीजत्तिकै महत्त्वपूर्ण भूमिका खेल्न थालेका छन्।

तर, यस्ता प्रमाणको व्याख्या र सन्दर्भलाई लिएर प्रतिवादी पक्षले प्रश्न उठाएको थियो। प्रतिरक्षाले अभियोजन पक्षका प्रमाणले हत्या भएको कुरा शङ्कारहित रूपमा पुष्टि गर्न नसकेको दाबी गरेको थियो।

नरेशले अदालतमा बयान दिँदै ममताको हत्या आफूले नगरेको दाबी गरेका थिए। उनले ममता मृत अवस्थामा फेला परेको र आत्तिएर शव टुक्र्याई विभिन्न स्थानमा फालेको दाबी गरेका थिए। उनले ममताको मृत्यु आत्महत्याबाट भएको जिकिर गरेका थिए।

तर, जूरीले उनको दाबी स्वीकार गरेन र अभियोजन पक्षले प्रस्तुत गरेको प्रमाणका आधारमा उनलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गर्‍यो।

नरेशले अनुसन्धानका क्रममा प्रहरी, आफन्त र अन्य व्यक्तिलाई ममताको अवस्थाबारे फरक–फरक जानकारी दिएको तथा आफ्ना कतिपय प्रारम्भिक भनाइ असत्य भएको स्वीकार गरेको विवरण पनि अदालतमा आएको थियो।

सुनुवाइका क्रममा ममता र नरेशबीचको वैवाहिक सम्बन्ध तनावपूर्ण रहेको विषयमा पनि साक्षीहरूले बयान दिएका थिए। ममताले सम्बन्धविच्छेदका विषयमा सोचिरहेको, छुट्टै आर्थिक व्यवस्थापन र नयाँ जीवनको तयारी गरिरहेको भन्ने विवरण पनि सुनुवाइका क्रममा चर्चामा आएको थियो।

परिवार र नजिकका व्यक्तिहरूले ममताले वैवाहिक सम्बन्धबारे चिन्ता व्यक्त गर्ने गरेको बयान दिएका थिए। यही पृष्ठभूमिलाई अभियोजन पक्षले घटनाको सम्भावित उद्देश्य र परिस्थितिसँग जोडेर हेरेको थियो।

ममता काफ्ले प्रकरणले विश्वभर एउटा महत्त्वपूर्ण कानुनी बहस पनि जन्मायो । शव फेला नपरे पनि हत्या प्रमाणित हुन सक्छ कि सक्दैन?

अमेरिकी कानुनी प्रणालीमा अभियोजन पक्षले अभियुक्तले अपराध गरेको कुरा शङ्कारहित रूपमा प्रमाणित गर्नुपर्ने हुन्छ। शव नहुँदा मृत्युको कारणसम्बन्धी प्रत्यक्ष चिकित्सकीय प्रमाण उपलब्ध नहुने भएकाले यस्तो मुद्दा अझ जटिल बन्ने कानुनी विश्लेषकहरूको धारणा रहँदै आएको छ।

तर, आधुनिक फरेन्सिक विज्ञानले यस्तो अनुसन्धानको स्वरूप परिवर्तन गरिरहेको छ। डीएनए, रगतका दाग, डिजिटल गतिविधि, फोन रेकर्ड, सीसीटीभी तथा अभियुक्तको व्यवहारबाट बनेको प्रमाणको श्रृंखला बलियो भएमा शव नभेटिए पनि हत्या प्रमाणित हुन सक्ने उदाहरण यसअघि पनि अमेरिकामा देखिएका छन्। ममता काफ्ले प्रकरणले फेरि एकपटक यही कानुनी सिद्धान्तलाई चर्चामा ल्याएको छ।

यो फैसला विश्वभर भइरहेका त्यस्ता अपराध अनुसन्धानका लागि पनि सन्देशका रूपमा हेरिएको छ, जहाँ अपराधीले शव वा भौतिक प्रमाण नष्ट गरेपछि न्यायिक प्रक्रिया कमजोर हुन्छ भन्ने धारणा बनाइन्छ। शव लुकाउनु वा नष्ट गर्नुले मात्र अपराधको सत्य मेटिँदैन भन्ने सन्देश यस फैसलाले दिएको छ।

नेपाली समुदायको चासो र न्यायको प्रतीक्षा

नेपालमा जन्मिएर अमेरिकामा नर्सका रूपमा कार्यरत ममताको बेपत्ता भएपछि यो घटना अमेरिकास्थित नेपाली समुदायका लागि गहिरो चिन्ता र पीडाको विषय बनेको थियो। नेपालदेखि अमेरिकासम्म सामाजिक सञ्जाल, नेपाली समुदाय र सञ्चारमाध्यमले यस प्रकरणलाई निरन्तर पछ्याएका थिए।

फैसला सुन्न अदालतमा नेपाली समुदायका सदस्य र ममताप्रति न्यायको अपेक्षा राख्ने व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ममताको शव अझै फेला परेको छैन। तर, दुई वर्षभन्दा बढी समयसम्म चलेको अनुसन्धान र न्यायिक प्रक्रियापछि आएको जूरीको फैसलाले उनको परिवारलाई कानुनी रूपमा न्यायको एउटा महत्त्वपूर्ण चरणसम्म पुर्‍याएको छ।

ममता काफ्ले भट्ट प्रकरणले अपराधका भौतिक प्रमाण मेटाउने प्रयासले सत्यलाई सधैं मेटाउन सक्दैन। आधुनिक फरेन्सिक विज्ञान, डिजिटल प्रमाण र प्रमाणको समग्र श्रृंखलाले कहिलेकाहीँ शवबिनै पनि न्यायको ढोका खोल्न सक्छ।

प्रकाशित: २५ कार्तिक २०८३ ०७:०६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
अन्तिम सुनवाइमा ममता काफ्लेकाे पक्षबाट सरकारी वकिलकाे त्याे शक्तिशाली बहस

अन्तिम सुनवाइमा ममता काफ्लेकाे पक्षबाट सरकारी वकिलकाे त्याे शक्तिशाली बहस

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित अदालतमा ममता काफ्ले भट्ट हत्या मुद्दाको अन्तिम बहस चलिरहेको थियो । न्यायाधीश र निर्णायक मण्डलसामु उभिएकी सरकारी वकिल सारा सामीले एकपछि अर्को प्रमाण प्रस्तुत गरिर...

#प्रमाण #भट्ट #त्या
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#भट्ट #हत्या #त्या
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#भट्ट #हत्या #त्या
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#भट्ट #हत्या #त्या
Compare →
Ekantipur
2d ago
के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

शव नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारमा हत्या पुष्टि, अभियोजन पक्षले करिब १०० साक्षी र ५०० प्रमाण प्रस्तुत गरेको थियो।

#प्रमाण #हत्या
Compare →

Related Stories

National (Nepal)
Build #2611