Trending
Prev Story
Next Story

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

Ekantipur •
November 13, 2026 • 02:01 AM
1
1 reads 0 reactions

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

काठमाडौँ — सन् २०२४ को जुलाई अन्तिम साता । अमेरिकाको उत्तरी भर्जिनियाको मानासस पार्कमा बस्ने नेपाली नर्स ममता काफ्लेको फोन अचानक लाग्न छाड्यो । फेसबुक र टिकटकमा नियमित पोस्ट गर्ने उनी सामाजिक सञ्जालबाट एकाएक गायब भइन् । दुई वर्षभन्दा बढी (करिब २८ महिना) पछि मंगलबार अमेरिकी अदालतको जुरीले उनका पति नरेश भट्टलाई उनको हत्या गरेको ठहर गर्‍यो ।

करिब एक सय साक्षी र झन्डै पाँच सय प्रमाण अदालतमा पेस भएपछि मंगलबार १२ सदस्यीय जुरीले झन्डै पाँच घण्टाको छलफलपछि सर्वसम्मत फैसला सुनाएको हो । नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिए ।

उनको सजाय १२ मार्च २०२७ मा निर्धारण हुनेछ । भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ । अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम पाँच वर्ष कैद हुन सक्छ ।

अदालतले सजाय निर्धारणसम्मका लागि धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । अभियोजन पक्षले फैसलालाई ‘न्यायको एउटा महत्त्वपूर्ण मापन’ भनेको छ । ममताकी निकट साथी हली विर्थले अभियोजक र प्रहरीलाई धन्यवाद व्यक्त गरेकी छन् ।

फैसला आए पनि सबैभन्दा ठूलो प्रश्न भने बाँकी छ– ममताको शव कहाँ छ ? परिवारको प्रतीक्षा अझै टुंगिएको छैन । ममताकी तीन वर्षीया छोरीको हेरचाह अहिले आमा र भाइसहितका परिवारले गरिरहेका छन् ।

शव नभेटिएको अवस्थामा पनि हत्या प्रमाणित हुन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर यो मुद्दाले दिएको छ । त्यसैले नेपाल र विदेशमा रहेका नेपालीको ध्यान यसले तानेको हो । सुरुदेखि अन्त्यसम्म के भएको थियो, क्रमैसँग हेरौं ।

अमेरिका पुगेकी नर्स ममताको जन्म नेपालमा भएको थियो । विद्यालय तहको पढाइ सकेपछि उनी नर्सिङ अध्ययन गर्न भारतको बैंगलुरु गइन् । नरेश भट्टसँग विवाह भएको एक वर्षपछि, सन् २०२१ मा उनी अमेरिका पुगिन् । त्यहाँ उनले नर्सिङ लाइसेन्सका लागि आवश्यक परीक्षाको तयारी थालिन् । अदालतमा एक साक्षीले उनीसँग ग्रिनकार्ड पनि रहेको बताएका थिए ।

उनी मानाससस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा काम गर्थिन् । सहकर्मीले उनलाई हँसिली र मिहिनेती व्यक्तिका रूपमा सम्झिएका छन् । एक साथीका अनुसार उनी अमेरिकामै नर्सिङ पेसामा अझ अघि बढ्न चाहन्थिन् ।

नरेश पनि नेपालबाट अमेरिका गएका आप्रवासी हुन् । सीएनएनका अनुसार उनले सन् २०१७ को जुनदेखि २०२४ को फेब्रुअरीसम्म अमेरिकी सेनाको रिजर्भ फोर्समा स्वचालित लजिस्टिक्स विशेषज्ञका रूपमा काम गरे । यस अवधिमा उनलाई कुनै सैन्य परिचालनमा खटाइएको थिएन । फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनी सन् २०२० मा प्रहरी भर्तीमा नियुक्त भएका थिए, तर मापदण्ड पूरा गर्न नसकेपछि २२ दिनमै हटाइए । ममता र नरेशकी एक छोरी थिइन् । ममता बेपत्ता हुँदा उनी पहिलो जन्मदिनको तयारीमा थिइन् ।

ममता अन्तिम पटक २७ जुलाई २०२४ मा कार्यस्थलमा देखिएकी थिइन् । २८ जुलाईमा एक साथीले उनका दुई वटा मिस्ड कल देखिन् । भोलिपल्ट फोन गर्दा उनको फोन लागेन । २९ जुलाईमा नेपालमा रहेकी आमा गीता काफ्लेसँग भिडियो कलमा उनको अन्तिम कुराकानी भयो । गीताले अदालतमा आफूले छोरीसँग हरेक दिन भिडियो कलमा कुरा गर्ने र ममताले आफूलाई नभनी घर छाडेर नजाने बताइन् ।

उनी काममा पनि देखिइनन् । नर्सिङ म्यानेजर जेसिका हरासेकले लगातार दुई दिन काममा नआएपछि प्रहरीलाई उनको अवस्था बुझ्न आग्रह गरिन् । नियमित र जिम्मेवार ममताको यो अनुपस्थितिले सहकर्मी चिन्तित भएका थिए ।

२ अगस्टमा प्रहरी मानासस पार्कस्थित उनको घर पुग्यो । नरेशले आफूहरू अलग हुन लागेको र ममता परिवारलाई भेट्न न्युयोर्क वा टेक्सस गएको हुन सक्ने बताए । उनले ममतालाई अन्तिम पटक ३१ जुलाईमा खाना खाने टेबलमा देखेको भनेका थिए । पछि प्रहरीले अमेरिकामा ममताको परिवारका कोही सदस्य नै नरहेको थाहा पायो ।

नरेशले पत्नी बेपत्ता भएको औपचारिक जानकारी प्रहरीलाई ५ अगस्टमा मात्र दिए । प्रहरीका अनुसार सुरुमा उनी अनुसन्धानमा सहयोग गरिरहेको जस्तो देखिन्थ्यो । स्थानीय पत्रिका प्रिन्स विलियम टाइम्सले उल्लेख गरेको घटनाक्रमअनुसार ममताको फोनको तथ्यांकले उनको फोन लाउडन काउन्टीस्थित एउटा पोखरी नजिक रहेको देखाएको थियो । त्यही समय नरेशको फोन दुई घण्टा नेटवर्कबाट बाहिर थियो । उनले त्यस दिन लाउडनको एउटा क्याफेमा गएको बताएका थिए । त्यसैअनुसार प्रमाणका लागि उनले प्रहरीलाई क्याफेको बिल देखाएका थिए ।

प्रहरीले नरेशमाथि नै शंका गरेपछि उनका गतिविधिमाथि लामो समयसम्म नियालिरह्यो । अनुसन्धानकर्ताले भिडियो फुटेज, नरेशको टेस्ला कारको जीपीएस र नम्बर प्लेट पढ्ने उपकरणको विवरणबाट उनको गतिविधि नियालिरह्यो । प्रहरीले घरमा खानतलासी गर्नुभन्दा केही दिनअघि अर्थात् १९ अगस्टमा नरेशले कार पनि बेचेका थिए ।

२१ अगस्टमा प्रहरीले खानतलासीको अनुमति लिएर घरमा खोजी गर्‍यो । मानासस पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार घरमा तलासी गरेपछि नरेशले प्रहरीलाई सहयोग गर्न पनि छाडे । तलासीको भोलिपल्ट अर्थात् अगस्ट २२ मा उनी पक्राउ परे । त्यसयता उनी जेलमै छन् ।

अभियोजन पक्षका अनुसार शव खोज्न तालिम पाएका कुकुरले दम्पतीको बेडरुम र बाथरुममा संकेत गरे । रगतका प्रमाणले बेडरुमबाट बाथरुमसम्म केही घिसारिएको देखाएको उनीहरूको दाबी छ । २४ र २५ अगस्टको फरेन्सिक परीक्षणले ती रगत हुन् भन्ने पुष्टि गर्‍यो । अनुसन्धानकर्ताले हातले चलाउने विद्युतीय आरा पनि बरामद गर्‍यो । प्रहरी प्रमुख लुगोले ममताको शव घरभित्रै टुक्रा पारिएको आफूलाई लागेको बताएका थिए ।

घर तलासीका क्रममा संलग्न जासुस क्लाउडिया भेन्टुराले २१ अगस्टमा बेडरुम र बाथरुममा ‘ब्लुस्टार’ परीक्षण गर्दा दुवै ठाउँ नीलो चम्किएको बयान दिइन् । यो रगत हुन सक्ने संकेत दिने परीक्षण हो, तर त्यसले रगत नै हो भनेर पुष्टि गर्दैन । उनले बेडरुमको दराजमा लाइसोल र सफा गर्ने वाइप्स भेटेको पनि बताइन् । अभियोजन पक्षका अनुसार नरेशले रगतले भिजेको गलैंचा ढाक्न फर्निचरको स्थान परिवर्तन गरेका थिए ।

अभियोजन पक्षका अनुसार भिडियो फुटेजमा नरेशले उत्तरी भर्जिनियाका विभिन्न ठाउँका फोहोर कन्टेनरमा फोहोरका झोला राखेको देखिन्छ । ती ठाउँमा छोरीलाई चाइल्ड केयर गर्ने व्यक्तिकहाँ पुर्‍याएको अपार्टमेन्ट परिसर र फल्स चर्चको फोहोर थिच्ने मेसिन भएको ठाउँ पनि छन् । अर्को भिडियोमा पत्नी बेपत्ता भएपछि उनले रबरका पञ्जा, चक्कु, असाधारण रूपमा ठूला भण्डारण झोला र सरसफाइका सामग्री किनेको देखिन्छ ।

इन्टरनेटमा गरिएका खोजीको विवरण पनि अदालतमा देखाइयो । इनसाइडनोभाका अनुसार जुलाई ३० को बिहान करिब ४ः३० बजे मस्तिष्कको चित्र र नजिकैको कुखुरा फार्मबारे खोजी गरिएको थियो । सीएनएनमा प्रकाशित समाचारअनुसार २१ मार्च २०२४ मा श्रीमती हराए के हुन्छ भन्ने खोजी पनि फोन र कार्यालयको ल्यापटपमा भएको थियो । अभियोजनले यसलाई हत्या पूर्वनियोजित भएको प्रमाण भनेको छ । घरमा झोला मिलाएर राखिएको र राहदानी भेटिएको भन्दै नरेश भाग्ने तयारीमा रहेको हुन सक्ने तर्क पनि अभियोजनले गर्‍यो । अभियोजन पक्षले ममताले स्वेच्छाले घर छाडेकी होइनन् भन्ने तर्क पनि गर्‍यो । छोरीको पहिलो जन्मदिन आउन केही साताअघि उनी त्यसरी जान सक्दिनथिन् भन्ने उनीहरूको भनाइ थियो ।

अक्टोबर २०२४ मा भर्जिनियाको फरेन्सिक विज्ञान विभागले आरामा भेटिएको रगतको नमुना ममताको कपाल कोर्ने ब्रसबाट तयार पारिएको डीएनए प्रोफाइलसँग मेल खाएको निष्कर्ष निकाल्यो । अदालतमा पेस कागजातअनुसार असम्बन्धित व्यक्तिको डीएनएसँग संयोगवश मेल खाने सम्भावना आठ अर्बमा एकभन्दा कम थियो । नमुनामा योगदान गर्ने व्यक्तिका रूपमा नरेश र छोरीको डीएनए पनि छुट्याइएको थियो । नरेशले उक्त आरा छिमेकमा काम गर्ने एक मालीलाई दिएको समेत अभियोजन पक्षले जुरीलाई बताएको थियो । ममता बेपत्ता भएको खबर सार्वजनिक भएपछि ती मालीले आरा प्रहरीलाई बुझाएका थिए । अभियोजनका अनुसार प्रमाण नष्ट गर्ने उद्देश्यले आरा अरूलाई दिइएको थियो ।

२९ अप्रिल २०२६ को फरेन्सिक प्रतिवेदनमा आराबाट तीन वटा मानव कपाल र कपालका १३ टुक्रा निकालिएको विवरण छ । तीमध्ये तीन वटा कपालमा न्युक्लियर डीएनए परीक्षण सम्भव हुन सक्ने ठहर गरी थप विश्लेषणमा पठाइएको थियो, तर त्यसको नतिजा सार्वजनिक भएको छैन ।

शव नभेटिएकाले २२ अगस्ट २०२४ मा नरेशमाथि मृत शरीर लुकाएको एउटै अभियोग मात्र लाग्यो । तर प्रहरीमा दर्ता गरिएको उजुरीमा उनले ३० जुलाईतिर पत्नीको हत्या गरेको आरोप उल्लेख थियो । २६ अगस्टमा न्यायाधीशले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरे । २० सेप्टेम्बरमा अभियोजनका प्रमाण सुनेपछि सर्किट कोर्टकी न्यायाधीश किम्बर्ली इर्भिङले पनि धरौटी दिइनन् ।

२ डिसेम्बरमा ग्रान्ड जुरीले फस्ट डिग्रीको हत्या र मृत शरीर विकृतको अभियोगपत्र दायर गर्‍यो । यसपछि सुनुवाइ २०२४ डिसेम्बरमा हुने तय भएको थियो, तर प्रमाणको मात्रा बढ्दै गएपछि जुलाई २०२५ मा दुवै पक्षको अनुरोधमा न्यायाधीश इर्भिङले मुद्दा अक्टोबर २०२६ सम्म सारिन् । यस वर्ष प्रतिरक्षाले फेरि मुद्दा सार्न अनुरोध गर्दा न्यायाधीशले अस्वीकार गरिन् ।

शव खोजीको अवस्था भने अस्पष्ट रह्यो । मार्च २०२५ मा भर्जिनियाको लुरेस्थित पेज काउन्टीको फोहोर विसर्जनस्थल केन्द्रमा परेको थियो, जहाँ मानासस र फल्स चर्चको फोहोर पुर्‍याइन्छ । प्रिन्स विलियम टाइम्सले त्यहाँ खोजी भइरहेको जनाएको थियो । तर एक स्थानीय च्यानलले प्रहरी प्रमुखलाई उद्धृत गर्दै विभागले त्यहाँ सक्रिय खोजी नगरेको समाचार दिएको थियो ।

५ अक्टोबर २०२६ मा जुरी छनोट सुरु भयो । सोही दिन नरेशले तीन वटै अभियोगमा आफू दोषी नभएको बताए । १२ सदस्यीय जुरी र पाँच वैकल्पिक सदस्य चयन भएपछि ७ अक्टोबरदेखि साक्षीको बयान सुरु भयो । मुख्य अभियोजक म्याथ्यु स्वीटले जुरीलाई ३० जुलाई २०२४ देखि ममताविरुद्ध अत्यन्त हिंसात्मक घटनाक्रम सुरु भएको बताए । प्रतिरक्षाकी मुख्य वकिल ट्रेसी लेनक्सले भने अभियोजनले प्रमाणका खाली ठाउँ तथ्यले होइन, अनुमानले भर्न खोजेको तर्क गरिन् ।

साक्षीका बयानले ममताको वैवाहिक जीवनको तनाव उजागर गरे । परिवारकी साथी सरिता न्यौपानेले ममता बेपत्ता हुनुभन्दा केही महिनाअघि झगडापछि दुई साताभन्दा बढी आफूकहाँ बसेको बताइन् । ममताले कुटिएको भनेकी र शरीरका चोटको भिडियो देखाएकी थिइन् । एनबीसी ४ का अनुसार त्यसकै कारण परिवारले बच्चाको भात खुवाउने समारोह सार्नुपरेको थियो । न्यौपानेले नरेशले ममतामाथि हातपात गरेको आफूले प्रत्यक्ष नदेखेको तर ममताबाट सुनेको स्वीकार गरिन् ।

बयानहरूको सीमा न्यायाधीशले मुद्दा सुरु हुनुअघि नै तोकेकी थिइन् । फक्स ५ का अनुसार ममताले विगतमा घरेलु हिंसाबारे दिएका बयानमध्ये दुई वटा सुन्न अनुमति दिइएको थियो ।

पुलिसको शरीरमा जडान गरिएको क्यामेराको फुटेजमा नरेशले एक आफन्तलाई फोन गरी स्पिकरमा राखेको देखियो । ती आफन्तले ममता ११ महिनाकी छोरीलाई छाडेर कतै नजाने बताएका थिए । जासुस भेन्टुराका अनुसार नरेशले सुरुमा पत्नीले गर्भपतन गराउने औषधि खाइरहेको भनेका थिए, पछि गर्भनिरोधक चक्की देखाए । ३१ जुलाईमा ममताको नागरिकता प्रक्रियासम्बन्धी भेटघाट भएको भन्ने नरेशको भनाइमा आफूलाई शंका लागेको उनले बताइन् ।

चौतर्फी रूपमा नरेश समस्यामा पर्ने देखिएपछि उनले सुनुवाइका क्रममा ममताको शव टुक्र्याएर लुकाएको स्वीकार गरे, तर हत्या गरेको अस्वीकार गर्दै ममताले आत्महत्या गरेको दाबी गरे । एनबीसी ४ का अनुसार उनले एमएस १३ गिरोहको संलग्नता हुन सक्ने सिद्धान्त पनि अघि सारेका थिए, तर त्यस गिरोहसँग यो घटनाको कुनै सम्बन्ध स्थापित भएको छैन ।

आर्या चन्द कान्तिपर मिडिया ग्रुपकी संवाददाता हुन् ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
ममता काफ्लेका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर

ममता काफ्लेका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा लामो समयदेखि चर्चा र चासोको विषय बनेको नेपाली मूलकी ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ । मंगलबार न्यायाध...

#हत्या #नरेश #दोषी
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#हत्या #नरेश #अभियोग
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#हत्या #नरेश #ममता
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#हत्या #दोषी #ममता
Compare →
Nagarik News
2d ago
नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

‘तपाईं यो जुरीसामु झुटो भएको स्वीकार गरिसक्नुभएको छ’ भन्दै नरेशको विश्वसनीयतामाथि प्रहार, शव नभेटिए पनि डीएनए, डिजिटल प्रमाण र बयानको विरोधाभासले दोषी ठहर; नेपाली समुदायले न्यायको महत्त्वपूर्ण अनुभूति गर्‍यो

#नरेश #ममता
Compare →

Related Stories

World News
Build #2611