Trending
Prev Story
Next Story

नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

Nagarik News •
November 11, 2026 • 04:09 AM
1
1 reads 0 reactions

‘तपाईं यो जुरीसामु झुटो भएको स्वीकार गरिसक्नुभएको छ’ भन्दै नरेशको विश्वसनीयतामाथि प्रहार, शव नभेटिए पनि डीएनए, डिजिटल प्रमाण र बयानको विरोधाभासले दोषी ठहर; नेपाली समुदायले न्यायको महत्त्वपूर्ण अनुभूति गर्‍यो

नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

अपराध गरेर प्रमाण मेटाउन खोज्ने व्यक्तिले घटनाको कथा पनि आफ्नै अनुकूल बनाउन सक्छ। कहिले बेपत्ता भएको बताउँछ, कहिले मृत्यु भएको स्वीकार्छ त कहिले मृत्युलाई आत्महत्या साबित गर्न खोज्छ। तर अपराध अनुसन्धान र न्यायिक प्रक्रियामा झुटका तहहरू उधिन्दै जाँदा एउटै प्रश्न निर्णायक बन्न सक्छ, अभियुक्तको कुन भनाइ सत्य हो?

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा अभियोजन पक्षका अधिवक्ता म्याथ्यु स्वीटले यही प्रश्नलाई केन्द्रमा राखेर नरेश भट्टका बयान, गतिविधि र प्रमाणहरूलाई जुरीसामु एकपछि अर्को गर्दै राखे। नरेशले सुनाएका फरक–फरक कथा, प्रहरी र आफन्तसँग बोलेका कुरा तथा अदालतमा गरेको पछिल्लो दाबीबीचको विरोधाभासलाई उनले जिरहको मुख्य हतियार बनाए।

अन्ततः मंगलबार, नोभेम्बर १० मा अमेरिकी राज्य भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित अदालतको जुरीले नरेशलाई आफ्नी पत्नी ममता काफ्ले भट्टको प्रथम श्रेणीको हत्यामा दोषी ठहर गर्‍यो। शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा पनि उनी दोषी ठहर भए। आठ महिला र चार पुरुष सदस्य रहेको जुरीले करिब चार घण्टाको छलफलपछि सर्वसम्मत फैसला सुनाएको थियो।

ममताको शव अहिलेसम्म फेला परेको छैन। तर शव नभेटिएको अवस्थामा पनि फरेन्सिक प्रमाण, डीएनए, निगरानी क्यामेराका दृश्य, फोन रेकर्ड, डिजिटल खोजी र स्वयं अभियुक्तका विरोधाभासपूर्ण बयानलाई जोडेर अभियोजन पक्षले हत्या प्रमाणित गर्न सफल भयो। दुई वर्षभन्दा बढी समयदेखि न्यायको प्रतीक्षामा रहेको नेपाली समुदायका लागि यो फैसला ठूलो राहत र भावनात्मक उपलब्धि बनेको छ।

मुद्दाको सुनुवाइका क्रममा सबैभन्दा चर्चित क्षण नरेश स्वयं साक्षीका रूपमा अदालतमा उभिएपछि आएको थियो। अभियोजन पक्षका अधिवक्ता म्याथ्यु स्वीटले जिरह सुरु गर्दै नरेशको विश्वसनीयतामाथि सीधा प्रश्न उठाए।

स्वीटले नरेशलाई आफूले झुट बोलेको कुरा स्वीकार गर्न बाध्य पारे। ममताका आफन्त, साथी, छिमेकी र प्रहरीलाई आफूले झुट बोलेको हो कि होइन भन्ने प्रश्नमा नरेशले स्वीकार गरेका थिए।

त्यसपछि स्वीटले जुरीसामु उनको भनाइको सार प्रस्तुत गर्दै भनेका थिए, ‘यु आर एन एड्मिटेड् लायर टु दिस इन्टायर जुरी’ अर्थात्, ‘तपाईंले यो सम्पूर्ण जुरीसामु आफू झुटो भएको स्वीकार गरिसक्नुभएको छ।’

यो केवल एउटा कडा प्रश्न थिएन, नरेशले अदालतमा प्रस्तुत गरेको पछिल्लो कथालाई उनको आफ्नै विगतका बयानसँग तुलना गर्ने अभियोजनको रणनीतिक प्रहार थियो। स्वीटले नरेशलाई झुटो भनेपछि जुरीको ध्यान उनी के भनिरहेका छन् भन्नेमा मात्र सीमित रहेन, उनले यसअघि के–के भनेका थिए र ती भनाइ किन परिवर्तन भए भन्ने प्रश्नतर्फ केन्द्रित भयो।

नरेशका झुट एक–एक गर्दै बाहिर ल्याउने स्वीटको यही शैली मुद्दाको सबैभन्दा चर्चित पक्षमध्ये एक बन्यो।

बेपत्ता भएको कथा, आत्महत्याको दाबी र शव टुक्क्र्याएको स्वीकारोक्ति

ममता सन् २०२४ को जुलाई ३० आसपास बेपत्ता भएकी थिइन्। उनी काममा नपुगेपछि र सम्पर्कविहीन भएपछि खोजी सुरु भएको थियो। सुरुमा नरेशले ममता घर छोडेर गएको र न्युयोर्क वा टेक्सासतिर गएको हुन सक्ने बताएका थिए।

तर अनुसन्धान अघि बढ्दै जाँदा नरेशको व्यवहार र बयानमाथि शङ्का बढ्दै गयो। उनले घरमा ममता नभएको बताइरहेका बेला अनुसन्धानकर्ताले घरभित्रका वस्तु, सरसफाइका सामग्रीको खरिद, फोन रेकर्ड र निगरानी क्यामेराका दृश्य परीक्षण गर्न थाले।

अदालतमा बयान दिने क्रममा नरेशले अर्को कथा सुनाए। उनले जुलाई ३० मा शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा भेटिएको, उनलाई ४५ मिनेटदेखि एक घण्टासम्म बचाउने प्रयास गरेको तर नसकेको बताए। ममताले विषादी सेवन गरेर आत्महत्या गरेको उनको दाबी थियो।

उनले आफूले प्रहरीलाई खबर नगर्नुको कारण डर र आत्तिनु भएको बताए। त्यसपछि शवलाई आराले टुक्र्याएर फोहोरका झोलामा राखी विभिन्न स्थानमा फालेको स्वीकार गरे। तर ममताको हत्या आफूले नगरेको जिकिर गरिरहे।

नरेशको यही बयानले अभियोजन पक्षलाई थप बलियो आधार दियो। किनकि उनले शव टुक्र्याएको र लुकाएको स्वीकार गरे पनि मृत्युको कारणबारे सुनाएको कथा पहिले प्रहरी र आफन्तलाई दिएको विवरणसँग मेल खाँदैनथ्यो।

आरादेखि डीएनएसम्म : नरेशविरुद्धका वैज्ञानिक प्रमाण

अभियोजन पक्षले नरेशविरुद्ध प्रस्तुत गरेको सबैभन्दा महत्त्वपूर्ण प्रमाणमध्ये एउटा आराको थियो।

अनुसन्धानअनुसार नरेशले सन् २०२४ जुन २ मा होम डिपोबाट आरासहितको उपकरण खरिद गरेका थिए। निगरानी क्यामेराको दृश्यमा उनीजस्तै देखिने व्यक्ति उक्त उपकरण लिएर गएको देखिएको थियो। पछि उनले त्यही आरा बगैँचाको काम गर्ने एक व्यक्तिलाई दिएका थिए। ती व्यक्तिले सेप्टेम्बर ९ मा प्रहरीलाई बुझाएका थिए।

अनुसन्धानकर्ताले आरामा रातो–खैरो दाग र कपालजस्ता रेसा फेला पारे। फरेन्सिक परीक्षणमा आराको भित्री भागसहित विभिन्न स्थानबाट संकलित नमुनाको डीएनए ममताको डीएनए प्रोफाइलसँग मेल खाने पाइएको थियो।

दम्पतीको शयनकक्षमा रहेको कार्पेटको दागबाट पनि डीएनए परीक्षण गरिएको थियो। फरेन्सिक वैज्ञानिकले त्यसमा ममता र उनकी छोरीको डीएनए रहेको सम्भावनालाई बलियो समर्थन गर्ने परिणाम प्रस्तुत गरे।

प्रतिरक्षा पक्षले भने कार्पेटमा भेटिएको डीएनएले रगत कसरी त्यहाँ पुग्यो भन्ने प्रमाणित नगर्ने तर्क गरेको थियो। आरामा भेटिएका सबै जैविक प्रमाणले हत्या भएको प्रत्यक्ष रूपमा देखाउँदैनन् भन्ने प्रश्न पनि उठाइएको थियो।

तर अभियोजन पक्षले आराको खरिद, त्यसको प्रयोग, भेटिएका दाग, डीएनए र नरेशको आफ्नै स्वीकारोक्तिलाई जोडेर जुरीसामु प्रमाणको श्रृंखला प्रस्तुत गर्‍यो।

गुगल खोजी र निगरानी भिडियोले पनि खोल्यो रहस्य

मुद्दामा नरेशको मोबाइल तथा अन्य डिजिटल उपकरणबाट प्राप्त विवरण पनि महत्त्वपूर्ण बने।

अभियोजन पक्षले ममता बेपत्ता हुनुभन्दा महिनौँअघि नै नरेशले श्रीमती हराएमा के हुन्छ भन्ने विषयमा इन्टरनेटमा खोजी गरेको प्रमाण प्रस्तुत गरेको थियो। सन् २०२४ मार्चमा गरिएको यस्तो खोजीलाई अभियोजनले घटनाको पृष्ठभूमिसँग जोडेको थियो।

त्यसैगरी अप्रिलमा श्रीमतीको मृत्यु भएपछि पुनः विवाह गर्न कति समय लाग्छ भन्ने विषयमा गरिएको खोजीसम्बन्धी विवरण पनि अदालतमा प्रस्तुत गरिएको थियो।

जुलाई ३० मा मानव मस्तिष्कको बनोट र नजिकै कुखुरा फार्म कहाँ छ भन्ने विषयमा गरिएको खोजीले पनि अनुसन्धानकर्ताको ध्यान तानेको थियो।

ममता बेपत्ता भएको आसपास नरेशले फोहोरका झोला र सरसफाइका सामग्री खरिद गरेको निगरानी क्यामेराका दृश्य पनि प्रस्तुत गरिए। फोन तथा गाडीको विवरणले उनी विभिन्न स्थानमा गएको गतिविधि पछ्याउन सहयोग पुर्‍याएको थियो। फोहोर व्यवस्थापन केन्द्रसम्म पुगेका गतिविधिलाई पनि अभियोजन पक्षले घटनासँग जोडेको थियो।

यसरी डिजिटल खोजी, खरिदका विवरण, निगरानी क्यामेरा र फोनको गतिविधिले नरेशको भनाइको विश्वसनीयतामाथि थप प्रश्न उठाए।

अदालतमा प्रस्तुत प्रमाणले ममता र नरेशबीचको वैवाहिक सम्बन्ध तनावपूर्ण रहेको पनि देखाएको थियो।

ममताका दाजु महेश काफ्लेले अदालतमा दिएको बयानअनुसार सन् २०२४ फेब्रुअरीमा ममताले अनुहारमा चोट लागेको जस्तो देखिने तस्बिर पठाएकी थिइन्। उनले आफू सुरक्षित नभएको र दुई दिनदेखि खाना नखाएकोसमेत उल्लेख गरेकी थिइन्।

ममताकी साथी तथा सहकर्मी सुनिता बस्नेत थापाले पनि उनीमाथि शारीरिक दुर्व्यवहार भएकोबारे आफूलाई बताएको बयान दिएकी थिइन्। सन् २०२३ डिसेम्बरमा ममताको अनुहारमा चोट देखेको र पछि नरेशले कपाल तानेको तथा संवेदनशील अंगमा चिमोटेको घटनाबारे ममताले बताएको उनको भनाइ थियो।

फेब्रुअरी १४ मा घरेलु विवादका कारण ममताले प्रहरी बोलाएको, त्यसपछि छुट्टै बैंक खाता खोलेको र आफ्नो भविष्यका लागि अलग आर्थिक व्यवस्था गर्न थालेको विवरण पनि अदालतमा आयो।

ममता अमेरिकी नागरिकता प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणमा थिइन्। उनले आफ्नो नयाँ जीवनको तयारी गरिरहेको अभियोजन पक्षको तर्क थियो।

यी विवरणले ममताको जीवनमा देखिएका तनाव र नरेशसँगको सम्बन्धको अवस्थालाई उजागर गरेका थिए। अभियोजन पक्षले यसलाई हत्याको सम्भावित पृष्ठभूमि र उद्देश्यसँग जोडेर प्रस्तुत गरेको थियो।

अभियोजनले प्रस्तुत गर्‍यो झन्डै पाँच सय प्रमाण

यो मुद्दा केवल म्याथ्यु स्वीटको जिरहमा सीमित थिएन। उनको नेतृत्वमा अभियोजन पक्षले लामो अनुसन्धानबाट प्राप्त प्रमाण र साक्षीको बयानलाई व्यवस्थित रूपमा अदालतमा प्रस्तुत गरेको थियो।

अदालतमा झन्डै एक सय साक्षी र करिब पाँच सय प्रमाण प्रस्तुत गरिएको अभियोजन पक्षको समापन बहसमा उल्लेख गरिएको थियो। प्रत्यक्षदर्शी नभएको र शवसमेत नभेटिएको अवस्थामा यति धेरै प्रमाणलाई एउटै घटनाक्रममा जोड्नु अभियोजनको मुख्य चुनौती थियो।

म्याथ्यु स्वीटले नरेशको जिरह गर्दा पहिलेका बयान र अहिलेको स्वीकारोक्तिबीचको विरोधाभास देखाए। अर्की वरिष्ठ सहायक अभियोजक सारा सामीले समापन बहसमा प्रमाणको समग्रताले अभियोजन पक्षले आफ्नो दायित्व पूरा गरिसकेको बताइन्।

उनले नरेशले आफूले अस्वीकार गर्न नसक्ने कुरा स्वीकार गरेको र स्वीकार गर्न नसक्ने कुरा अस्वीकार गरेको आशय व्यक्त गर्दै उनको बचाउको कथामाथि प्रश्न उठाइन्।

प्रतिरक्षा पक्षका प्रमुख सार्वजनिक रक्षक ट्रेसी लेनक्सले भने सरकारले आरोप शङ्कारहित रूपमा प्रमाणित गर्न नसकेको दाबी गरिन्। नरेशको बयानलाई विश्वास गर्नुपर्ने र योजनाबद्ध हत्याको प्रमाण नभएको उनको तर्क थियो।

प्रतिरक्षा पक्षले आरामा भेटिएको डीएनएले हत्या भएको समय र तरिका प्रमाणित नगर्ने, कार्पेटको दागको उत्पत्ति स्पष्ट नभएको तथा ममताको मृत्युको चिकित्सकीय कारण स्थापित नभएको विषय उठाएको थियो।

तर जुरीले प्रतिरक्षा पक्षको तर्क स्वीकार गरेन।

अन्तिम दिनको सुनुवाइ र निर्णायक फैसला

नोभेम्बर १० मा मुद्दाको अन्तिम सुनुवाइका क्रममा अभियोजन पक्षले विषविज्ञ डा. अबिगेल केर्न्सलाई पनि साक्षीका रूपमा प्रस्तुत गरेको थियो।

नरेशले ममताले सेल्फोस नामक विषादी सेवन गरेको दाबी गरेका थिए। त्यसको जवाफमा विषविज्ञले उक्त विषादीमा रहेको एलुमिनियम फस्फाइडले शरीरभित्र चिस्यानसँग प्रतिक्रिया गरी फस्फिन ग्यास उत्पादन गर्ने र यसले गम्भीर विषाक्तता तथा मृत्यु निम्त्याउन सक्नेबारे बयान दिइन्।

अभियोजन पक्षले नरेशको पहिलेको व्यवहार र आत्महत्यासम्बन्धी पछिल्लो दाबीबीचको अन्तरलाई पनि जोड दिएको थियो।

अन्तिम बहसपछि जुरीलाई निर्णयका लागि पठाइएको थियो। करिब चार घण्टाको छलफलपछि आठ महिला र चार पुरुष सदस्य रहेको जुरीले सर्वसम्मत रूपमा नरेशलाई तीनवटै अभियोगमा दोषी ठहर गर्‍यो।

फैसला सुनाइँदा नरेश भावशून्य देखिएका थिए। ममताका परिवारका सदस्यले भने एकअर्कालाई अँगालो हालेर प्रतिक्रिया दिएका थिए।

भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका नरेशलाई २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ। शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा पनि छुट्टाछुट्टै सजाय हुन सक्ने व्यवस्था छ।

अदालतले नरेशको जमानतसमेत रद्द गरेको छ। उनको सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ को मिति तय गरिएको छ।

यसरी जूरीले दोषी ठहर गरे पनि अन्तिम सजाय भने अदालतले आगामी सुनुवाइमा निर्धारण गर्नेछ।

ममता काफ्ले भट्टको शव अहिलेसम्म फेला परेको छैन। परिवारले उनको अन्तिम संस्कारसमेत गर्न पाएको छैन। घटनाको भौतिक पक्ष अझै अधुरै छ। तर अमेरिकी अदालतले प्रस्तुत प्रमाणका आधारमा हत्या भएको निष्कर्ष निकालेको छ।

यो मुद्दाले विश्वव्यापी रूपमा अपराध अनुसन्धानमा फरेन्सिक विज्ञान र डिजिटल प्रमाणको बढ्दो महत्त्वलाई पुनः स्थापित गरेको छ। विशेषगरी शव लुकाइएको वा नष्ट गरिएको अवस्थामा पनि डीएनए, फोन रेकर्ड, निगरानी क्यामेरा, डिजिटल खोजी र अभियुक्तका बयानले अपराधको वास्तविकता पत्ता लगाउन सक्ने देखाएको छ।

यसले अर्को महत्त्वपूर्ण कुरा पनि देखाएको छ—अपराधीले आफ्नो बचाउमा कथा बनाउन सक्छ, तर न्यायिक प्रक्रियामा त्यो कथा प्रमाणसँग मेल खानुपर्छ। अभियोजनकर्ताको काम त्यही कथाका विरोधाभास पहिचान गर्नु, वैज्ञानिक प्रमाणसँग तुलना गर्नु र जुरीलाई तथ्यका आधारमा निष्कर्षमा पुग्न सहयोग गर्नु हो।

म्याथ्यु स्वीटको जिरह र अभियोजन टोलीको प्रमाण प्रस्तुत गर्ने शैली यस मुद्दामा त्यसको उदाहरण बनेको छ। उनले नरेशको एउटा भनाइलाई मात्र चुनौती दिएनन्, उनका विगतका बयान, स्वीकारोक्ति र गतिविधिलाई एकै ठाउँमा राखेर विश्वसनीयताको परीक्षण गरे।

नेपालमा जन्मिएकी र अमेरिकामा नर्सका रूपमा भविष्य निर्माण गरिरहेकी ममताको जीवन अन्त्य भएको घटनाले दुई देशका नेपालीलाई लामो समयसम्म स्तब्ध बनाएको थियो। उनको बेपत्तापछि नेपाल र अमेरिकाका सञ्चारमाध्यमले निरन्तर पछ्याएको यो मुद्दामा फैसला आउँदा नेपाली समुदायका प्रतिनिधि अदालतमा उपस्थित थिए।

ममताको शव अझै भेटिएको छैन, परिवारको पीडा पनि समाप्त भएको छैन। तर नरेशका बदलिँदा बयान, झुट र वैज्ञानिक प्रमाणको श्रृंखलामाथि भएको न्यायिक परीक्षणपछि आएको दोषी ठहरले एउटा सन्देश दिएको छ—शव लुकाउन सकिएला, अपराधको सत्य सधैँ लुकाउन सकिँदैन।

ममताका लागि न्यायको यो महत्त्वपूर्ण चरणमा अभियोजन टोलीको कानुनी संघर्ष र विशेषगरी म्याथ्यु स्वीटको जिरह नेपाली समुदायले लामो समयसम्म सम्झिरहनेछ।

प्रकाशित: २५ कार्तिक २०८३ ०९:५४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
ममता काफ्ले प्रकरणमा नरेश भट्टसँग अदालतभित्रै कडा जिरह गरेर चर्चामा आएका सरकारी वकिलको नाम हो म्याथ्यु

ममता काफ्ले प्रकरणमा नरेश भट्टसँग अदालतभित्रै कडा जिरह गरेर चर्चामा आएका सरकारी वकिलको नाम हो म्याथ्यु

ममता काफ्ले प्रकरणमा नरेश भट्टसँग अदालतभित्रै कडा जिरह गरेर चर्चामा आएका सरकारी वकिलको नाम हो म्याथ्यु स्वीट (Matthew Sweet)। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीका सरकारी अभियोजनक...

#नरेश #ममता #म्याथ्यु
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#नरेश #ममता
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#नरेश #ममता
Compare →
Ekantipur
21h ago
ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

#नरेश #ममता
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#ममता #नरेश
Compare →

Related Stories

World News
Build #2612