भूकम्प, बाढी, पहिरो र महामारीदेखि यसपालीको भोटेकोशीको विपत्तिसम्म पटक–पटक तातोपानी नाकाबाट आयात अवरुद्ध गरिँदा व्यवसायी र सीमावासीले संकटकै बेला किन बन्द हुन्छ भन्ने प्रश्न गरेका छन् ।
सिन्धुपाल्चोक — नेपाल–चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले गत आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेपछि सीमाक्षेत्र सुनसान बनेको छ। पटक–पटकको प्राकृतिक विपद्, महामारी तथा अन्य कारण देखाउँदै नाका बन्द हुँदा सीमावर्ती व्यवसायी र स्थानीयमा यसपटक पनि अनिश्चितता बढेको छ।
रसुवाको टिमुरे हुँदै भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याउनुअघि नेपालले चीनसँग तातोपानी, टिमुरे र कोरला नाकाबाट व्यापार गर्दै आएको थियो। पछिल्लो बाढीले टिमुरे बजारसहित भन्सार, अध्यागमन, प्रहरीलगायत सरकारी संरचनामा ठूलो क्षति पुर्याएपछि उत्तरी नाकाको व्यापारमा थप असर परेको छ।
राजधानी काठमाडौंलाई चीनको खासा जोड्ने तातोपानी नाका भौगोलिक रूपमा केरुङभन्दा छोटो दूरीमा पर्छ। काठमाडौं–खासाको दूरी करिब १ सय २४ किलोमिटर छ भने काठमाडौं–रसुवागढी दूरी करिब १ सय ६४ किलोमिटर । खासाबाट काठमाडौंसम्म सामान आइपुग्न सामान्य अवस्थामा कम्तीमा १२ देखि १५ दिन लाग्ने व्यवसायी बताउँछन्। सिगात्से पनि केरुङभन्दा तातोपानीतर्फबाट करिब ३० किलोमिटर नजिक पर्छ।
भौगोलिक रूपमा नजिक रहेको चीनसँगको प्रमुख व्यापारिक नाकाप्रति चिनियाँ व्यवहार भने अपेक्षाअनुसार नभएको स्थानीय जनप्रतिनिधि र व्यवसायीको गुनासो छ। भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार विगतदेखि नै तातोपानी नाकालाई लिएर नेपाली व्यवसायी र सीमावासीले असहजता भोग्दै आएका छन्। यसअघि मितेरी पुलको बीचमा राखिएको चिनियाँ सुरक्षा तथा जाँच गेटदेखि हाल सीमा क्षेत्रमा निर्माण भइरहेका संरचनासम्मका विषयमा पनि स्थानीयले प्रश्न उठाउँदै आएका छन्।
‘चाहे विगतमा होस् या हालको विपत्तिमा, तातोपानी नाका सधैं बन्द हुने गरेको छ। भूकम्प, भोटेकोशी बाढी या कोरोना जतिखेर पनि आपतविपतमा चीनले अनेक बहाना बनाएर बन्द गरेको उदाहरण देखिन्छ। यसरी चीनले मौन रूपमा पेलेको अनुभूति भइरहेको छ,’ श्रेष्ठले भने।
२०७२ सालको भूकम्प र परकम्पले यहाँको भौतिक संरचना ध्वस्त तुल्यायो। घरहरू भत्किए, भागाभाग भयो र धेरैले च्यापिएर ज्यान गुमाए। त्यही आपत्कालीन क्षणमा चीनले नाका बन्द गरिदिएपछि सीमाक्षेत्रका धेरै जना विस्थापित भए।
२०७३ असार २१ को भोटेकोशी बाढीले भूकम्पपछि तंग्रिँदै गरेको सीमाको लिपिङ बजारलाई झनै शून्यमा झारिदियो। चीनको खासा र कुतीबीचको छेप्साङमा पहिरो गएपछि भोटेकोशी थुनिएर आएको बाढीले यहाँका ८० वटा घर बगाएको थियो। त्यतिबेला अत्यावश्यक सहयोग र उद्धारको क्षणमा पनि नाका बन्द गरिएको स्थानीयको अनुभव छ।
त्यसयता २०७४ सालमा बर्खे पहिरो, २०७६/७७ सालमा कोरोना महामारीका बीच तिब्बत सरकारले पहिलो चरणमा आठ दिनका लागि नाका बन्द गर्ने निर्णय गर्यो। २०७७ साउनमा तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किलोमिटर माथिको ‘क्यानोन कु’ र केरुङको छ्यो ताल फुट्ने खतरा रहेको भन्दै तातोपानी नाकाबाट कारोबार नगर्न नागरिकलाई सूचना जारी गरेपछि पनि नाका बन्द भएको थियो। २०७७ माघमा मितेरी पुल मर्मत, २०७८ मा बर्खे पहिरो तथा त्यसयताका बाढीपहिरो र अन्य कारण देखाउँदै पटक–पटक नाका बन्द हुँदै आएको व्यवसायी बताउँछन्।
नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेपछि चीनले गत आइतबारदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको हो। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार भन्सार बन्द रहे पनि पर्यटक आवतजावतका लागि नाका खुला छ।
तातोपानी नाका गत साउनको सुरुदेखि करिब तीन सातासम्म पूर्ण रूपमा बन्द थियो। लगातारको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनसँगको सीमापार व्यापार ठप्प भएको थियो। नाका कहिले खुल्छ भन्ने अन्योलबीच साउन तेस्रो साताबाट सीमित रूपमा यातायात सञ्चालनमा आएको थियो। करिब १० दिनपछि रसुवामा भदाै १० मा गएको भीषण बाढीपछि चिनियाँ पक्षले फेरि अर्को सूचना नभएसम्म तातोपानी नाका बन्द गरेको हो। ‘यस नाकाबाट साउन तेस्रो साता सीमित रूपमा यातायात सञ्चालनमा आए पनि भदाै १० मा रसुवामा आएको भीषण बाढीपछि चिनियाँ पक्षले फेरि अर्को सूचना नभएसम्म तातोपानी नाका बन्द गरेको छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, 'नाका कहिले खुल्छ भन्नेबारे अन्योल छ ।'
करोडौंको क्षति २०७७ पुसमा खासा र न्यालम क्षेत्रमा हिमपात भएपछि कन्टेनर आवतजावत रोकिएको थियो। त्यतिबेला खुला ट्रेलरमा ल्याइएका स्याउलगायत सामग्री हिउँमा परेपछि कुहिने र बिग्रिने समस्या भएको व्यवसायी बताउँछन्। कोरोना महामारीका बेला समेत नाका दुई पटक बन्द गरिएको थियो। त्यसबेला सयौं कन्टेनर चीनतर्फ रोकिँदा नेपाली व्यवसायीले करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको थियो।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार बस्नेतका अनुसार भूकम्प, बाढी, पहिरो, हिमपात र कोरोना संक्रमणलगायतका कारण देखाउँदै चीनले पटक–पटक नाका बन्द गर्दै आएको छ। ‘नेपाललाई समस्या परेको बेला नाका बन्द हुने र सहज अवस्थामा मात्रै खुल्ने प्रवृत्ति देखिन्छ,’ उनले भने।
भूकम्पपछि सयौं कन्टेनर सामान खासा–तातोपानी सडकखण्डमा महिनौं अलपत्र परेका थिए। कतिपय कन्टेनर पहिरोले पुरिएका थिए भने कतिपय सामान वर्षाको पानीले बिग्रिएका थिए। ‘त्यतिबेला व्यवसायीलाई आफ्नै सामान हेर्नसमेत सहज थिएन। धेरै सामग्री कुहिए, म्याद सकियो र धेरै व्यवसायी पेसाबाटै विस्थापित भए,’ बस्नेतले भने।
भूकम्पको चार वर्षपछि एकतर्फी आयातका रूपमा मात्रै खुलाइएको तातोपानी नाका त्यसयता कहिल्यै पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको व्यवसायी बताउँछन्। यो बीचमा सीमित संख्यामा मात्रै कन्टेनर प्रवेश पाउने व्यवस्थाले व्यापार प्रभावित हुँदै आएको उनीहरूको भनाइ छ।
व्यवसायी दोर्जे लामाका अनुसार तातोपानीबाट चीनतर्फको निर्यात कोरोनापछि लगभग ठप्पजस्तै थियो । ‘आयातमा पनि विभिन्न समस्या छन्, निर्यात व्यवसाय त लगभग शून्यजस्तै भएको छ,’ उनले भने। नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीले रसुवागढीमा बाढीले र तातोपानी नाका मनखुसी बन्द भएपछि नेपाल–चीन व्यापार मुस्ताङको कोरला नाकातर्फ सरेको बताए। ‘तर त्यहाँ पनि अवस्था दुःखद छ। कामको चाप बढेपछि भन्सारले थप कर्मचारी पठाएको छ, तर क्वारेन्टिन सेवा टेन्टमा सञ्चालन भइरहेको छ। उता भन्सार र क्वारेन्टिनमा इन्टरनेट राम्रोसँग चल्दैन। यो समस्याले हामी आजित बनेका छौं,’ भण्डारीले भने।
यसअघि सडक खुलाउन सरकारी प्रयास अपर्याप्त भएको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायत व्यापारिक संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले उत्तरी नाकाप्रति बेवास्ता गरेको आरोप लगाएका थिए। राजस्व संकलनमा मात्रै केन्द्रित भएर व्यापार सहजीकरणका लागि दीर्घकालीन समाधानतर्फ सरकारले चासो नदिएको उनीहरूको आरोप छ। नाका बन्द हुँदा पहिरोपारि रेडिमेड सामग्री, मेसिनलगायत सामान बोकेका नेपाल आउन तयारी अवस्थामा रहेका चीनको न्यालम र आसपासका क्षेत्रमा ४५ भन्दा बढी कन्टेनर पनि उतै अलपत्र परेका छन्। ‘व्यवसायी कोरला नाकातर्फ सरेका छन्। बल्लतल्ल खुलेको नजिकको नाका पनि चीनले बन्द गरेपछि व्यापारी आजित छन्, दैनिक ठूलो घाटा बेहोरिरहेका छन्। सरकारले हाम्रो समस्या कहिले पो देख्छ र ?’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले प्रश्न गरे।
अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।