दैनिक लाखौं मानिस यात्रा गर्ने भएकाले र चाडपर्वको समयमा आवतजावतको दर बढ्ने भएकाले सडकलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक छ । खासगरी बाढीपछि पुल भत्किएका ठाउँमा राखिएका बेलिब्रिजले विकल्प प्रदान गरेका छन् ।
१० भदौको भोटेकोशी बाढी र २५ असोजको बुढीगण्डकी बाढीले जनधनको क्षति त गरेकै छ, सडक सम्पर्क पनि विच्छेद गरिदिएको छ । धेरै ठाउँमा सडक भत्किएका छन्, पुल भत्किएका छन् । त्यसले नजिक–नजिकका धेरै ठाउँबीचकै भौतिक सम्पर्कलाई पनि जटिल बनाइदिएको छ । तत्कालीन अवस्थामा त उद्धार गर्न, राहत तथा उद्धार सामग्री पुर्याउनसमेत कठिन भएको थियो । यद्यपि, पछिल्लो समय सरकारी तथा व्यक्तिगत पहलमा पुल तथा सडकको पुनर्निर्माण तथा अस्थायी व्यवस्थापनको काम भइरहेको छ । बेलिब्रिज तथा झोलुंगे पुल बनाउने काम भइरहेका छन् । नेपाल यात्राको मुख्य माध्यम नै सडक सञ्जाल हो, बहुसंख्यक मानिस यात्रामा यही माध्यम प्रयोग गर्छन् । यसले नै सामाजिक–आर्थिक–सांस्कृतिक अन्तरक्रियालाई चलायमान बनाउन सघाएको छ । यद्यपि, अस्थायी तथा स्थायी पुल तथा सडकलाई सुरक्षित बनाउन आवश्यक मापदण्डको पालना भने गरिनुपर्छ ।
बहुसंख्यक मानिसले दैनिक यात्रा गर्नुपर्ने सडक तथा पुल कामचलाउ र विकल्पमा आधारित मात्रै हुनु हुँदैन । सरकारले यथाशक्य चाँडो स्थायी विकल्पका लागि प्रयत्न गर्नुपर्छ । विकास निर्माणका सन्दर्भमा नेपालका आफ्नै समस्या छन् । बजेटकै अभाव छ । हरेक वर्ष सार्वजनिक हुने बजेटमा विकास खर्चलाई चालु खर्चले उछिनिरहेको पाइन्छ । अर्कोतर्फ, उपलब्ध बजेट पनि पर्याप्त खर्च गर्न सक्ने सामर्थ्यको अभाव छ । कम मात्रै रहेको विकास बजेट पनि फ्रिज हुने गरेको छ । यस्तो स्थितिले विकासका पूर्वाधार निर्माण हाम्रा निम्ति कति चुनौतीपूर्ण छ भन्ने प्रस्ट्याउँछ । जब ठूलो विपद् आउँछ र सडक तथा पुल जस्ता संरचनामा क्षति पुग्छ, त्यसले हाम्रो वर्षौंको मिहिनेतलाई छिन्नभिन्न त बनाउँछ नै, पुनः त्यही स्थितिमा पुग्न अरू धेरै वर्ष व्यतीत गर्नुपर्छ । अन्यत्रको विकासको हाराहारीमा पुग्न त दशकौं लाग्न सक्छ । सडक तथा पुल जस्ता संरचनामा अतिरिक्त खर्च गर्नुपर्दा शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा जस्ता पक्षमा राज्यको लगानी कम हुन सक्छ । त्यसले अन्ततः मानव विकासको पक्षलाई कमजोर बनाउँछ ।
१० भदौको भोटेकोशी बाढी, ८–११ असोजमा देशैभर भएको ठूलो वर्षा तथा २५ असोजको बुढीगण्डकी बाढी– यी सबै चाडपर्वका सम्मुखमा भए । चाडपर्व लाखौं जनसंख्या आवतजावत गर्ने समय हो । जतिसुकै दुःख र समस्या भए पनि चाडपर्वमा परिवारसँग रहेर रमाउनुपर्छ भन्ने मान्यताका कारण मानिस काठमाडौं जस्ता ठूला सहरबाट पुरानो थातथलो अर्थात् गाउँसम्म पुग्ने गर्छन् । उपलब्ध सवारीसाधनमा कोचाकोच गरेर भए पनि गन्तव्यसम्म पुग्ने प्रयत्न हुने गर्छ । यसले सहज अवस्थामा पनि सडक यात्रा जोखिमपूर्ण हुने गर्छ । यतिबेला धेरै सडक खण्ड कमजोर भएका, बगाएका कारण विकल्प प्रयोग गर्नुपरेको, पुल बगेको जस्ता कारणले जोखिम थपिएको छ । यसले यात्रा गर्दा अतिरिक्त सचेत हुनुपर्ने आवश्यकता छ । सवारीसाधन चालकले अनावश्यक जोखिम लिनु हुँदैन । यात्रुले पनि जोखिमका लागि प्रेरित गर्नु हुँदैन । जोखिमपूर्ण यात्राको हिस्सा बन्नु हुँदैन ।
यतिबेला सडक यात्रालाई यथाशक्य सहज बनाउने र विच्छेद भएका ठाउँलाई जोड्ने अभिप्रायले अस्थायी विकल्पहरू तयार भएका छन् । स्थानीय निर्माण व्यवसायी शैलेन्द्रराज प्याकुरेलको पहलमा नुवाकोटको त्रिशूली बजार र ढुंगे जोड्ने पुल निर्माण भयो । भोटेकोशीको बाढीले पुल भत्काई सम्पर्क विच्छेद गराइदिएको केही ठाउँमा सरकारद्वारा बेलिब्रिज राखिएको छ । कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक बाटो नै तयार गरिएको छ । २०८१ को ठूलो वर्षापछि आएको बाढीले बीपी राजमार्गका धेरै सडक खण्ड बगाएपछि पुनर्निर्माणको काम चलिरहेको छ र त्यहाँ धेरै ठाउँमा वैकल्पिक उपाय अपनाइएको छ । यस्ता उपायले तत्कालका लागि जसोतसो काम चलाउन त सहयोग पुर्याएको छ । तर, दीर्घकालीन भने हुनु हुँदैन । बहुसंख्यक मानिसले दैनिक यात्रा गर्नुपर्ने सडक तथा पुल कामचलाउ र विकल्पमा आधारित मात्रै हुनु हुँदैन । सरकारले यथाशक्य चाँडो स्थायी विकल्पका लागि प्रयत्न गर्नुपर्छ । बजेटमा बलिया पुल तथा सुरक्षित सडकलाई प्राथमिकता दिनुपर्छ । त्यसका लागि स्रोतको जोहो गर्नुपर्छ ।
दैनिक लाखौं मानिस यात्रा गर्ने भएकाले र चाडपर्वको समयमा आवतजावतको दर बढ्ने भएकाले सडकलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक छ । खासगरी बाढीपछि पुल भत्किएका ठाउँमा राखिएका बेलिब्रिजले विकल्प प्रदान गरेका छन् । तर, सवारीसाधनको बढी चापले गर्दा ती कति स्थायी र सुरक्षित हुन सक्छन् भन्ने प्रश्न छ । यसर्थ, तिनको सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो । त्यसका लागि आवश्यकताअनुसार मर्मतसम्भार गर्नुपर्छ । अर्कोतर्फ, कैयौं सडक खण्डमा क्षति पुगेकाले कतै खोलामा र कतै भीर खोस्रेर बनाइएको सडकमा यात्रा गर्नुपर्ने स्थिति छ । यसले पनि जोखिम बढाएको छ । सुरक्षित सडकका लागि कालोपत्र नै गरिनुपर्छ भन्ने होइन । तर कच्ची सडकका खाल्डाखुल्डी पुर्ने र आवश्यक सुरक्षा व्यवस्था मिलाउन सकिन्छ । खोला तथा भीरका बाटोमा जोखिम बढी हुने भएकाले जोखिमका सूचनाबारे अद्यावधिक गर्नुपर्छ । त्यस्ता ठाउँमा सवारी चापलाई सीमित राख्न ट्राफिक प्रहरी राख्न सकिन्छ ।
सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय