सरोकारवाला भन्छन्– ‘सुरुमा लगानी थाल्दा एसआईपीमा पैसा दोब्बरतेब्बर हुँदै जान्छ भन्ने बुझाइका कारण समस्या देखिएको हो’
पछिल्ला केही वर्ष धेरै युवाको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) प्रति आकर्षण बढेको देखिएको थियो । सेयर बजारमा रणनीति बनाएर आफैंले लगानी गर्न नसक्ने र नजान्नेहरूका लागि अप्रत्यक्ष रूपमा भए पनि बजार प्रवेश गर्ने यो राम्रो माध्यम बनेको थियो । तर केही वर्षयता यस्ता योजनाको प्रतिफल ज्यादै न्यून भएको भन्दै अहिले धेरैले यस्ता योजनाको आलोचना गर्न थालेका छन् ।
सामाजिक सञ्जालमा सर्वसाधारण भूपेश तिमिल्सिना लेख्छन्, ‘एसआईपी गर्नुभन्दा खाल्डो खनेर गाड्यो भने भोलि उम्रन्छ कि भन्ने आस जाग्छ । यस्तो स्किम के नाममा ल्यायौ अनि अहिले ५–६ प्रतिशत दिएर हरिबिजोग बनाएका छौ ।’
पछिल्लो समयको वार्षिक औसत प्रतिफल ज्यादै न्यून देखिन थालेसँगै धेरैले अहिले यस्तो योजनाको आलोचना गर्न थालेका छन् भने कतिपयले यस्तो योजनामा लगानी नै बन्दसमेत गरेको पाइएको छ । यस्तो योजनाको व्यवस्थापन गरिरहेका एक व्यवस्थापक भन्छन्, ‘तिहारअघि एसआईपी बन्द गर्नुपर्यो भन्दै आउने बढेका थिए, केहीलाई हामीले बुझाउन सक्यौं, केहीले बन्द नै गरे ।’
एसआईपी भनेको सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले ल्याएको खुलामुखी योजना हो । यो सेयर बजारमा सूचीकृत हुँदैन । त्यसैले नेप्सेमा यी योजनाको कारोबार हुँदैन । तर यस्तो योजना चलाउने संस्था (मर्चेन्ट बैंकर) को कार्यालय वा तिनीहरूले आफ्नो वेबसाइटमा दिएको फाराम भरेर किनबेच गर्न सकिन्छ ।
सामूहिक लगानी कोषहरूले खुला र बन्द गरी दुई किसिमका योजना ल्याएका हुन्छन् । बन्दमुखी योजना सेयर बजारमा सूचीकृत हुन्छ भने यो परिपक्व हुने अवधि तोकिएको हुन्छ । तर खुलामुखी योजनाहरूको कुनै निश्चित (परिपक्व) अवधि हुँदैन । यसको कारोबार वर्षौंसम्म खुला भइरहन्छ ।
निश्चित अवधि तोकेर हरेक महिना यस्तो खुलामुखी योजनाको एकाइमा नियमित रूपमा खरिद गर्दै जाने गरी बनाइएको प्रडक्ट नै एसआईपी योजना हो । यो योजना ल्याएका म्युचुअल फन्डले उनीहरूको वेबसाइटमा यस्तो लगानी अवधिपछि कति रकम पाइन सक्छ भनेर अनुमान गर्न एउटा क्यालकुलेटर पनि राखेका हुन्छन् । त्यो एसआईपी क्यालकुलेटरमा आफैंले अनुमानित लगानी अवधि, वार्षिक लगानी गर्ने रकम, अपेक्षा गरिएको वार्षिक प्रतिफल र अवधि भरेर हिसाब गर्न सकिन्छ ।
मानौं, त्यस्तो क्यालकुलेटरमा कसैले महिनावारी रूपमा २० वर्षका लागि १० हजार लगानी गर्छु भनेर यही अंक हाल्यो । उसले वार्षिक १२ प्रतिशतसम्म प्रतिफल आउने अपेक्षा गर्यो । यसरी हेर्दा २० वर्षमा २४ लाख रुपैयाँ लगानी भएको हुन्छ । तर क्यालकुलेटरले उसले अन्त्यमा ९९ लाख ९१ हजार रुपैयाँ प्राप्त गर्ने देखाइदिन्छ । क्यालकुलेटरले २० वर्षमा चोखो नाफा मात्रै ७५ लाख रुपैयाँ पाएको देखाउँछ ।
यसरी धेरैले यस योजनामा पैसा दोब्बरतेब्बर हुने रहेछ भनेर बुझ्छन् र लगानी गर्छन् । तर त्यो प्रतिफल अनुमानित हो भनेर सबैले नबुझेको सरोकारवाला बताउँछन् । लगानीकर्ताको कमाइ योजनाले दिने प्रतिफल र हरेक महिना लगानी थपिँदा यस योजनाको एकाइ कति मूल्यमा किन्न पाइन्छ भन्ने विषयले पनि लागत घटबढ हुन्छ भनेर धेरैले नबुझेको उनीहरूको भनाइ छ ।
यस्ता योजनाले यति नै लाभांश दिन्छन् भनेर सुनिश्चित गरिएको हुँदैन । कम्पनीहरूले यस्ता योजनामा जम्मा भएको रकमको ७५ देखि ८० प्रतिशत रकम सेयर बजारमा लगानी गर्छन् । यस्ता योजनाको आम्दानीको मुख्य स्रोत यही नै हो । त्यसैले यस्ता योजनाबाट सोचेभन्दा कम प्रतिफल पाउने अवस्था बनेपछि लगानीकर्ताहरूले यसको आलोचना गरिरहेका हुन् । अहिले नेपालमा १४ वटा यस्ता खुलामुखी योजना सञ्चालनमा छन् । उदाहरणका रूपमा यहाँ एनएमबी एसआईपीमा अहिले देखिएको प्रतिफलको चर्चा गरिएको छ ।
एनएमबी क्यापिटलले ‘एनएमबी सरल बचत फन्ड’ ल्याएको पाँच वर्ष पुगेको छ । कसैले यसमा सुरुदेखि नै लगानी गरेको थियो भने यही १५ कात्तिकसम्ममा उसले ६१ किस्तामा लगानी गरेको हुन्छ । यस अवधिमा मासिक ५ हजार लगानी र यसले दिएको लाभांश रकमलाई समेत पुनः लगानी गर्दा कुल एकाइ ३ हजार २ सय ५५ हुन्छ । यसअनुसार प्रतिएकाइ ९ रुपैयाँ १७ पैसा लागत पर्न आउने देखिन्छ । यस अवधिको कुल लगानी ३ लाख ५ हजार रुपैयाँ हुन आउँछ । अहिले यसको प्रतिएकाइ खुद मूल्य (न्याभ) १० रुपैयाँ ४८ पैसा छ । यस आधारमा अहिले बिक्री गर्दा लगानीकर्ताले ३ लाख ४८ हजार ५ सय १५ रुपैयाँ पाउँछन् । यो भनेको लगानी रकमको १४.२६ प्रतिशत बढी हो । एकै महिनामा सबै रकम लगानी नहुने भएकाले पनि यसको प्रतिफल रकम लगानी र बिक्री रकमको अन्तरका आधारमा निकाल्न मिल्दैन । त्यसैले यस अवधिमा वार्षिकीकरण गरिएको प्रतिफल भने ५.२६ प्रतिशत हुन्छ ।
कतिपय अवस्थामा बैंकको ब्याजदरभन्दा पनि कम प्रतिफल आएको देखिन्छ । तर बजारमा आफैंले लगानी गर्न नसक्नेहरूलाई यो माध्यम उपयोगी हुन सक्छ । त्यसबाहेक बैंकमा मुद्दती निक्षेपमा जसरी यसमा एकै पटक एक लाख वा त्योभन्दा बढी रकम पनि चाहिँदैन ।
‘यो स–सानो रकम परिचालन गर्ने उद्देश्यले आएको योजना हो । बजारमा आफैंले कारोबार गर्न नसक्ने वा नभ्याउनेका लागि सहयोगी हुन्छ भनेर पनि हो,’ एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्य बताउँछन् । सेयर बजार जोखिमको क्षेत्र भएकाले समग्र बजारसँगको तुलना गरेर हेर्दा पनि प्रतिफल धेरै नदेखिने उनको भनाइ छ । नेप्से सूचकलाई नै लगानी माध्यम मानेर हेरिएको नियमित मासिक लगानीमा पनि पछिल्ला ५ वर्षमा वार्षिक ६ प्रतिशत हाराहारी प्रतिफल देखिएको उनले जनाए ।
अहिले बजार घटेको समय भएकाले पनि यस्ता योजनाको प्रतिएकाइ खुद मूल्य कम भएको, बजारबाट यस्ता योजनाले गरेको लगानीमा पनि कमाइ घटेकाले भावी दिनमा बजार बढ्दा प्रतिफल धेरै देखिन सक्ने उनले बताए । यस्तो योजनाको रकम वैदेशिक बजारमा समेत लगानी गर्न पाइने नीतिगत व्यवस्था छ । तर हालसम्म यसलाई खुला गरिएको छैन । लगानी विविधीकरणका लागि यस्ता विकल्प हुन सके पनि यसबाट धेरै प्रतिफल पाइने अवस्था बन्न सक्ने वैद्यको भनाइ छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।