नेपालका दीपेश महतले ११औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी १४) मा रजत पदक जितेका छन्।
दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा आयोजित च्याम्पियनसिपमा दीपेशले पुरुष के ४१ क्याटेगोरीको ५८ केजीमुनि रजत पदक जितेका हुन्। स्वर्ण पदक भिडन्तमा भने दीपेश रूसका याकुपोभ रिनाटसँग पराजित भएका थिए। उनी करियरकै पहिलो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण जित्ने अवसरमा भने असफल भए। सेमिफाइनलमा दीपेशले उत्कृष्ट प्रदर्शन गर्दै टर्कीका कोसे साबितलाई नकआउट (१४–४) का आधारमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए। फाइनलमा भने त्यो लय जारी राख्न सकेनन्।
नेपालले विश्व पारा तेक्वान्दोमा १२ वर्षपछि यो उपलब्धि हात पारेको हो। यसअघि सन् २०१४ मा रूसमा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा यादव कुँवरले रजत पदक जितेका थिए। दीपेशसहित प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन्। के ४४ को पुरुष ६३ केजीमुनि अमिर भ्लोनले शनिबार इरानका अलिजादेह अरब ए.विरुद्ध खेल्नेछन्। नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामा छन्।
च्याम्पियनसिपमा ६४ राष्ट्रका २ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। च्याम्पियनसिपको उद्घाटन समारोहको मार्च पासमा अमिर भ्लोनले नेपालको झन्डा बोकेका थिए।
प्रकाशित: ५ मंसिर २०८३ ०९:२५ शनिबार