Trending
Prev Story
Next Story

रक संगीतको बाटो हुँदै विश्वमञ्चमा प्रतीक

Ekantipur •
November 21, 2026 • 11:02 AM
1
1 reads 0 reactions

भोजपुरका भीरपाखामा गीत गुनगुनाउँदै हुर्किएका प्रतीक हिमाल राईले बैंककमा आयोजित युरोभिजनमा नवौं स्थान हासिल गरे । उनका लागि यो उपाधिभन्दा नेपाली संगीतको मौलिक पहिचान स्थापित गर्ने अवसर बन्यो ।

रक संगीतको बाटो हुँदै विश्वमञ्चमा प्रतीक

भोजपुरका भीरपाखामा गीत गुनगुनाउँदै हुर्किएका प्रतीक हिमाल राईले बैंककमा आयोजित युरोभिजनमा नवौं स्थान हासिल गरे । उनका लागि यो उपाधिभन्दा नेपाली संगीतको मौलिक पहिचान स्थापित गर्ने अवसर बन्यो ।

काठमाडौँ — १४ नोभेम्बर २०२६, थाइल्यान्डको बैंककबाट नेपालका २६ वर्षीय प्रतीक हिमाल राईले संसारलाई नेपाली रक संगीतको स्वाद चखाए । सपनामा पनि कहिल्यै नचिताएको विशाल स्टेजबाट परपरसम्म उनको स्वर तरंगित भइरहेको थियो–

अस्तित्व मेटिएला सबको मेरो माया मेटिँदैन खरानी होला जलेर शव, मेरो माया मेटिँदैन

प्रतीकको पाइला पहिलो पटक एसियामा भएको ‘युरोभिजन सङ कन्टेस्ट’को ठूलो स्टेजमा उक्लिएको थियो । यहाँ ११ देशका ११ प्रतिस्पर्धी आफ्नो गायकीबाट देशलाई प्रतिनिधित्व गर्दै थिए । प्रतीकले गाउँदै गर्दा सामुन्नेको भीडमा विभिन्न देशका झन्डा फहराइरहेका थिए । सँगै फरफराइरहेका नेपालका एकाध झन्डामा उनले देशको अनुहार सम्झिए ।

‘पहिलो पटक आफ्नो देशलाई यति गहिरोसँग अनुभूत गरिरहेको थिएँ कि ब्याकस्टेजमा मेरा आँखा निकै बेरसम्म भिजे,’ प्रतीक भन्छन् ।

नेपालमा गत भदौ १० गते गएको भोटेकोशी बाढीबाट हजारौं मानिसको ज्यान गयो । बाढीसँगै बगेका तिनै मानिस र सपना सम्झेर प्रतीकको आँखा रसाइरहे । त्यसकारण पनि आफ्नो प्रस्तुतिपछि उनले स्टेजबाटै संसारका मानिसहरूलाई आह्वान गरे, ‘नेपाल यतिबेला खराब अवस्थाबाट गुज्रिरहेको छ । प्लिज, सहयोग गर्नुहोला ।’

हुन त यो संस्करणको उपाधि गीत ‘सोब्रा-सोब्रा’मार्फत फिलिपिन्सकी १९ वर्षीया गायिका कार्मेल ले जितिन् । नवौं स्थान हासिल गरेका प्रतीकलाई आफूले हारेको भान भने रत्तिभर भएन । उनलाई यो प्लाटफर्ममा पुगेर नेपाली संगीतको मौलिक ‘स्ट्याम्प’ लगाउनु थियो । ‘त्यसमा सफल हुनु नै मेरो विजय हो,’ प्रतीक गर्विलो सुनिन्छन् ।

त्यहाँ उनले उपाधि नचुमे पनि थुप्रै विदेशीको माया पाए । स्टेजबाट ओर्लिएपछि कतिपयले तारिफ गर्दै भने, ‘नेपालले गजबको रकस्टार जन्माएछ ।’ उनी बैंककका बजार घुम्दै गर्दा प्रशंसकहरू आएर तस्बिर खिचाए । ‘म र देशका लागि योभन्दा ठूलो सफलता के थियो र,’ उनी थप्छन् ।

उसो त प्रतीकका लागि युरोभिजनको यात्रा सुरुदेखि नै अनपेक्षित थियो । केही महिनाअघि पहिलो पटक उनको मोबाइलमा फोनको घण्टी बज्दा पत्यार लागेकै थिएन । ‘उहाँहरूले पहिल्यै मेरो भोइस अफ नेपालको क्लिप्स र गीतहरू हेर्नुभएको रहेछ । फोन आउनुअघि नै म आँखामा परिसकेको रहेछु,’ उनी सुनाउँछन् ।

नेपालबाट युरोभिजन टिमले फोन गर्दा प्रतीक यो प्रतियोगिताबारे अनभिज्ञ थिए । त्यसपछि खोज्ने क्रममा जब यसको गर्विलो इतिहास थाहा पाए, उनी चकित परे ।

‘युरोभिजन सङ कन्टेस्ट’को सुरुवात सन् १९५६ मे २४ मा स्विट्जरल्यान्डको लुगानो सहरबाट भएको थियो । दोस्रो विश्वयुद्धपछि युरोपेली देशहरूबीच सांस्कृतिक एकता र सद्भाव कायम गर्ने उद्देश्यले युरोपेली प्रसारण संघद्वारा सुरु गरिएको युरोभिजन लामो समयदेखि निरन्तर चलिरहेको सांगीतिक प्रतियोगिता हो । विश्वका विभिन्न कालखण्डमा इतिहास रच्ने प्रसिद्ध अनुहारहरूले पाइला टेकेको यही स्टेजले आफूलाई बोलाउँदा उनले सपना हो कि पनि ठाने । सुरुमा उनले विश्वास गर्न सकेनन् । त्यसकारण पनि बैंककमा हुने ग्रान्ड फिनालेका लागि छनोट कार्यक्रम हुनुभन्दा केही समयअघि आएको फोनबाट उनलाई आपत् पर्‍यो । ‘मेरो त तयारी नै थिएन । भोलिपल्टै गीत चाहिने थियो । हतारहतार नयाँ गीत अनन्त माया लेखेर कम्पोज गरेँ,’ उनी सुनाउँछन् ।

उनी आफैं गीत लेख्थे, कम्पोज गर्थे र स्वर दिन्थे । युरोभिजन टिमले पनि यस्तै प्रतिभाहरू खोजेको रहेछ । उनले तीन मिनेटको गीत पठाए । अक्टोबर ७ मा नेपालबाट विजेता घोषणा भयो । ११ जना प्रतिस्पर्धीलाई उछिनेर प्रतीक विजेता भए ।

जीवनमा कहिल्यै प्रतियोगिता नजितेका प्रतीकका लागि यो क्षण भावनात्मक थियो । उनले यसअघि आफूले गरेका प्रयत्नहरू सम्झिए । उनी दुई पटक नेपाल आइडल र एक पटक भोइस अफ नेपालमा गएका थिए । तर उनको यात्रा यी रियालिटी शोमा बीचैमा टुंगिन पुगेको थियो । ‘जिन्दगीमा चकलेटधरि नजितेको मैले यति ठूलो अवसर पाउँदा केहीबेर त पत्याउनै सकिनँ,’ उनी अनुभूति साट्छन् ।

नेपालको विजेता भएपछि पहिलो पटक प्रतीकले आफ्नै ठाउँ भोजपुरको स्टेज चढे । भोजपुरका भीरपाखाहरूलाई आफ्नो गीत र सुस्केरा सुनाउँदै बाल्यकाल बिताएका प्रतीकले गायक बन्ने सपना पनि त्यहीँबाट बोकेका थिए । उनी नारायण गोपाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, राजेशपायल राईहरूको गीत सुन्दै र गुनगुनाउँदै हुर्किएका थिए । उनले आफ्ना सपना घरमा व्यक्त गरे । तर बा छोरालाई गायक होइन, प्राविधिक क्षेत्रमा पोख्त भएको हेर्न चाहन्थे ।

प्रतीकले ०७२ सालको एसईईपछि गायक बन्नका लागि काठमाडौं जाने रहर सुनाएका थिए । उनको रहरको सदर बा–आमाले नगरेपछि सहमतिविनै उनी काठमाडौं हिँडे । ‘यहाँ आएर बारहरूमा गीत गाएँ । ठमेल, झम्सिखेलदेखि चाबहिलका धेरै ठाउँ पुगेँ । गीत गाएरै पैसा कमाएँ अनि त्यही पैसाले पढेँ,’ उनी सम्झन्छन् ।

बारमा गीत गाउँदै गर्दा उनले अनुभूत गरेको एउटा कुरा थियो, ‘कलाकारका लागि स्टेज कहिल्यै सानो–ठूलो हुँदैन ।’

उनले आरआरमा संगीतमा स्नातक गरे । थप तीन वर्ष संगीतमा प्राइभेट कक्षा जोइन गरे । संगीत साधना र संघर्षका अनेक घुम्ती छिचोलेर एउटा सफलता पाए । त्यही सफलताको न्यानो बोकेर उनी भोजपुर पुगे । ‘त्यहाँ पुगेपछि मात्र थाहा पाएँ । यो सफलता मेरो मात्र होइन रहेछ, सिंगो भोजपुरको रहेछ । बैंकक पुगेपछि अर्को कुरा थाहा पाएँ, मेरो सफलता सिंगो नेपालकै रहेछ,’ उनी पुलकित सुनिन्छन् ।

संगीतमा बाटो बनाउँदै गर्दा ‘रक गीत’बाट प्रतीक चिनिए । तर उनलाई त रकस्टार मात्र हुनु कहाँ छ र ? ‘मलाई त हरेक किसिमको गीत गाउन मनपर्छ । संसारका हरेक गीतमा आफूलाई पाउँछु । मलाई आधुनिक पनि गाउनुछ, शास्त्रीय पनि गाउनुछ । लोक पनि गाउनुछ,’ प्रतीक चाहना सुनाउँछन् ।

प्रतीकका गीत युट्युबमा ‘झरी’ र ‘ब्रह्माण्ड’ सुन्न सकिन्छन् । उनी आफैँ शब्द सर्जक हुनुको पछाडि उनको अध्ययनशील स्वभाव हो । ‘म आख्यान पढ्छु, कविताहरू पढ्छु । किनकि शब्दले मलाई धेरै कुरा सिकाउँछन्,’ उनी थप्छन् ।

युरोभिजनको यात्रापछि प्रतीकको मनमा एउटा शुभेच्छा पलाएको छ । अर्को पटकको प्रतियोगितामा नेपालबाट जसले पाइला राख्छ, उसले जितेको हेर्न चाहन्छन् उनी । उसो त यो प्रतियोगिता जुन देशले जित्छ, अर्को पटक सोही देशले होस्ट गर्ने गर्छ । ‘मलाई नेपालले पनि होस्ट गरेको हेर्ने आकांक्षा छ,’ प्रतीक प्रतीक्षासहितको आकांक्षा व्यक्त गर्छन् ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे। शान्त र स्निग्ध थिए । अध्ययनशील थिए । जबकि उनको दुनियाँ अँध्यारो थियो …

#संगीत
Compare →
Hamro Patro News
1w ago
कुकुर : बफादारिता र सुरक्षाको प्रतीक [भिडियो]

कुकुर : बफादारिता र सुरक्षाको प्रतीक [भिडियो]

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ। बफादारिता, निष्ठा र सुरक्षाको प्रतीक मानिने कुकुरलाई यस दिन माला र टीका लगाएर मीठा परिकार खुवाउँदै पूजा गर्ने परम्परा छ। ...

#प्रतीक
Compare →
Nagarik News
2w ago
रङ, संगीत र उज्यालोको उत्सव: तिहार

रङ, संगीत र उज्यालोको उत्सव: तिहार

दीपावली, यमपञ्चक तथा यमदीपदान नामले चिनिने पर्व तिहार नेपाली हिन्दु समाजको एउटा शारदीय उत्सव हो।

#संगीत
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612