Trending
Prev Story
Next Story

संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

Onlinekhabar •
November 16, 2026 • 03:31 AM
4
4 reads 0 reactions

भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे। शान्त र स्निग्ध थिए । अध्ययनशील थिए । जबकि उनको दुनियाँ अँध्यारो थियो …

संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ ।

खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे। शान्त र स्निग्ध थिए । अध्ययनशील थिए ।

जबकि उनको दुनियाँ अँध्यारो थियो । जमिनको सतहभन्दा पनि तल उनीहरूको बसोबास थियो । त्यहाँ उनीहरूसँग के थियो ?

भोक, अभाव, रोग, दुःख, चित्कार र रोदन । किनभने यो असुर लोक थियो । आफ्नो शाखा-सन्तति किन यस्तो जीवन बाँच्न बाध्य छन् ? किशोर दशनानले त्यसबेलासम्म थाहा पाएका थिएनन्, जब यो भेद उनलाई आमाले खोलिनन् ।

यो सम्पूर्ण दुःखको एउटै कारण हुन्, देवलोकमा बस्ने इन्द्र । उनैले असुरहरूलाई पराजित गरेर यस्तो बेहाल बनाइदिएको थाहा पाएपछि दशनान वीणाको धुनमा होइन, कठोर तपस्यामा लाग्छन् ।

तप, ध्यान र साधनाको बलमा उनी सुमधुर पुरुषबाट अजेय योद्धामा रूपान्तरण हुन्छन् ।

अन्ततः घनघोर वर्षा भइरहेको एक साँझ उनी लंकाको दरबारअगाडि पुग्छन् । विशाल ढोका एकै लातमा तोड्छन्, सयौँ सुरक्षाकर्मीको एउटै चिहान बनाउँछन्, सत्तासीनहरूलाई ‘हेलिकप्टरबाट उडाए’ जसरी आच्छु-आच्छु बनाउँछन् ।

र, लंकाको स्वर्णिम सिंहासनमा आफ्नो हक जमाउँछन् । यसरी दुःखको सागरबाट उदय हुन्छ, रावणको ।

त्यो सिंहासनमा विराजमान हुँदै गर्दा उनी आफ्ना असुरहरू (जनता)लाई सम्बोधन गर्छन्, ‘अब तपाईंहरूको दुःख सकियो । कोही पनि असुरले भोको बस्नुपर्ने छैन, नाङ्गो बस्नुपर्ने छैन । यो लंकाको दरबारभित्र जे पाक्छ, हरेकको चुल्होमा त्यही पाक्छ । जसरी म सयौँ किलो सुनको दरबारमा बस्छु, त्यसरी सबै असुरको घर पनि सुनैसुनको हुनेछ ।’

फिल्मको कथा यहाँसम्म आइपुग्दा रावण गुण्डा थिएनन् । सुपरहिरो थिए । किनभने उनीसँग अजेय क्षमता थियो । उनी संसार जित्न सक्थे ।

हो, उनी संसार जित्न सक्थे, तर आफैँभित्रको अहंकारलाई जित्न सक्दैनथे । केवल यही एउटा दोष, जसले उनलाई इतिहासमा कलङ्कित बनाइदियो ।

नितेश तिवारी निर्देशित फिल्म ‘रामायण’ कुनै भक्तिपूर्वक हेरिने धार्मिक फिल्म भने होइन । यो फिल्म उनै रावणको अहंकार र रामको विनम्रताको युद्ध हो । रावणले अपनाएको असत्य र रामले नछाडेको सत्यबीचको द्वन्द्व हो ।

यो मर्यादा र उदण्डताबीचको लडाइँ हो । यो असुर स्वभाव र देव स्वभावबीचको मुठभेड हो ।

एक दिन अहंकार र बदलाको भावनाले उम्लिएर रावणले सीताको हरण गर्छन् ।

अनि स्वचालित पुष्पक विमानमा राखेर लंकातिर लैजान्छन् । त्यस क्षण सीतालाई उन्मुक्ति दिलाउनका लागि एउटै प्राणीले संघर्ष गर्छ, जटायु ।

आकाशमा विचरण गर्दै संसारलाई नियालिरहेका उनले सीताको विवशता बुझ्छन् । रावणको छल बुझ्छन् । त्यही भएर बादलको तहभन्दा माथि-माथि उडिरहेको पुष्पक विमानबाट सीतालाई अपहरणमुक्त गराउन अनेक प्रयास गर्छन् । ज्यानको बाजी नै लगाउँछन् ।

फिल्मको सबैभन्दा तनावग्रस्त दृश्य यही हो । सर्वशक्तिमान रावण र अबोध जटायूबीच भएको घनघोर संघर्षले दर्शकलाई शान्त रहन दिँदैन ।

लंकालाई गन्तव्य बनाएर उडेको पुष्पक विमानबाट सीता न चिच्याउन सक्छिन्, न भाग्न, न हाम फाल्न । यी विवश नारी त्यो अत्यासलाग्दो अग्लाइबाट जमिनतिर हेर्छिन्, जहाँ सायद राम र लक्ष्मण उनकै खोजीमा लखतरान होलान् ।

ठीक यही बेला उनका लागि माइतीजस्तै बनेर आइपुग्छन्, जटायु ।

जटायुले आफ्नो पञ्जा सीताको अघिल्तिर राखिदिन्छन् । सीता त्यसैमा समातेर अपहरणमुक्त हुनै लागेकी हुन्छिन्, रावणले देखिहाल्छन् । उनले अब जटायुमाथि अन्धाधुन्ध आक्रमण गर्न थाल्छन् ।

विशालकाय जटायुसँग लड्नका लागि केही छैन । तर, उनी आफ्नो बल लगाएर रावणलाई पुष्पक विमानबाट पछार्ने यत्न गर्छन् । यस क्रममा उनको पञ्जा छिनाइन्छ, करङ भाँचिन्छ । अन्ततः रावणको तिलस्मी अस्त्रले उनको पखेटा काटिन्छ ।

अब जटायुले के गर्न सक्छन् ? उनको त्यो विवश आँखाबाट पराजयको आँसु बगाउनबाहेक । दुनियाँको साक्षी बनेको उनको आँखा टिलपिल आँसुले भरिन्छ ।

यसरी सत्यहरू हारिरहँदा र असत्यले जितिरहँदा मैले जटायुको आँखामा त्यही आँसुहरू देखेँ, जुन केही समयअघि निर्दोष राँगाभैँसीहरूको आँखामा देखेको थिएँ ।

ती अबोध प्राणीहरूलाई तान्दै, घिसार्दै, लखेट्दै, कुट्दै, काट्दै, पानीमा डुबाउँदै तड्पाई-तड्पाई मारिरहँदा मान्छेहरू फेसबुकमा लेखिरहेका थिए, ‘असत्यमाथि सत्यको जितको यो खुसियाली खुलेर मनाऔँ ।’

आफ्नो कोही नहुँदा, आफ्नो केही नहुँदा उनीहरू हारेका थिए। उनीहरू त्यस क्षण हारिरहेका थिए, जतिबेला मान्छेहरू ‘सत्यको उत्सव’ भन्दै मदिरा चियर्स गरिरहेका थिए ।

आखिर असत्यले जित्यो । फिल्ममा पनि र हाम्रो दुनियाँमा पनि ।

रावणले सीतालाई लंकातिर उडाउँछन् र अङ्गभङ्ग भएको, रगतपच्छे जटायु भुइँमा पछारिन्छन् । मृत्युअघि जटायु भन्छन्, ‘माफ गर्नुहोस्, मैले सीता मातालाई सहयोग गर्न सकिनँ । उनलाई लंकाका राजा रावणले अपहरण गरे ।’

उनले त्यति मात्र भन्दैनन्, रावण कति शक्तिशाली छन्, उनको सेना र कार्यकर्ताहरू कति खतरनाक छन्, सबै भनिदिन्छन् । यसरी भनिदिन्छन् कि रामले लंकासम्म पुग्न असजिलो मात्र होइन, असम्भव पनि छ ।

तर, सत्यको धरातलमा उभिएका राम निर्भीकतासाथ उद्घोष गर्छन्, ‘अब म युद्ध गर्नेछु । रावण, तेरो असत्य र अहंकारको सिंहासन अब ढल्नेछ। अब तेरो शरीर ढल्नेछ ।’

यतिबेला आकाशमा बादलहरू मडारिन्छन् । वायुको गति तेज हुन्छ । प्रकृतिका प्रतिध्वनिहरू चर्को हुन्छन् ।

फिल्म त सकिन्छ, तर तीन घण्टाभन्दा बढी समय एउटै कुर्सीमा बसेका दर्शकहरू उठ्न चाहँदैनन् । औसत दुई घण्टाको फिल्म हेर्ने बानी परेका दर्शक यति लामो समयसम्म किन उठेनन् ?

किनभने मान्छेको हार्डवेयर सत्यबाट निर्मित हुन्छ । उनीहरू असत्यले जितेको देख्न चाहँदैनन् । रामले लंकामा हमला गरेर रावणलाई लछारपछार गरेको अतृप्त चाहनासँगै उनीहरू पर्दामा आइरहेको क्रेडिट लाइन हेरिरहे ।

‘रामायण’ नेपाली दर्शकका लागि रहस्यको कथा होइन ।

राम को हुन् ? रावण के हुन् ? नेपाली दर्शकले उनीहरूको जन्मकुण्डली बताइदिन सक्छन् । १४ वर्षे वनवास, स्वचालित पुष्पक विमान, सुनले बनेको लंकाको बखान इन्द्रले भन्दा राम्ररी गरिदिन सक्छन् ।

तर, त्यही पौराणिक ग्रन्थमाथि बनेको फिल्म हेर्न दर्शकहरू किन हलमा ओइरिए ?

किनभने फिल्मको कथा मात्र होइन, कथा भन्ने शैली पनि महत्त्वपूर्ण हुन्छ । पौराणिक ग्रन्थका अक्षरहरूलाई आधुनिक प्रविधिबाट जति भव्य र चमत्कारिक दृश्यभाषामा उतारिएको छ, त्यसले छुट्टै गुरुत्वबल पैदा गरेको छ ।

तर, यो भिएफएक्सको मात्र खेल होइन । पात्रहरूको विनिर्माण, घटनाको जोडघटाउ र त्यसभित्रका सूक्ष्म सन्देश अनि दर्शनले यसलाई अजम्बरी बनाएको छ ।

फिल्मले सोझै रावणलाई एन्टागोनिस्ट देखाएको छैन । चेतना र बल दुवैले युक्त उनी जितहरूले मातिँदै गएपछि पो खलनायक बन्न पुग्छन् । फिल्मले मानवीय गुणहरूको भीषण द्वन्द्वलाई सजीव रूपमा उतारेको छ ।

मान्छेमा अहंकार, अधर्म र असत्य बढ्दै गएपछि प्रकृति कति भयानक बन्छ ? खोलाहरूमा पानी बग्दैन, रुखहरूमा हरियाली छाउँदैन, पशुप्राणी स्वच्छन्द रमाउँदैनन् ।

भिएफएक्सको भित्री तहमा फिल्म यस्तै सन्देशले सुशोभित छ ।

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे। शान्त र स्निग्ध थिए । अध्ययनशील थिए । जबकि उनको दुनियाँ अँध्या...

#संगीत #साधक #रावण
Compare →
Nagarik News
6d ago
८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।

#बने
Compare →
Arthasansar
1w ago
खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः  ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको...

#बने
Compare →
Ekantipur
1w ago
इरानी सेना थप बलियो र अनुभवी बनेको छ : सैन्य प्रवक्ता

इरानी सेना थप बलियो र अनुभवी बनेको छ : सैन्य प्रवक्ता

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ

#बने
Compare →
Bizshala
1w ago
रोनाल्डोको दबदबा तोड्दै हालान्ड बने विश्वकै सबैभन्दा बजारयोग्य फुटबलर

रोनाल्डोको दबदबा तोड्दै हालान्ड बने विश्वकै सबैभन्दा बजारयोग्य फुटबलर

काठमाण्डौ ।  म्यानचेस्टर सिटी तथा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड विश्वकै सबैभन्दा बजारयोग्य फुटबलर बनेका...

#बने
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612