एनपीएलको फाइनलमा आमनेसामने हुन लागेका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी दुवै आफ्नो टिमको तयारी राम्रो रहेको बताउँछन् । रोहितले टिमको लय र पछिल्ला खेलको प्रदर्शनलाई जितको आधार मानेका छन् भने दीपेन्द्रले लुम्बिनीको बलिङ आक्रमण सामना गर्ने योजना बनाइसकेको बताएका छन् ।
हामीले तीन दिनको आराम पाएका छौं । आज शुक्रबार हामीले राम्रो अभ्यास गर्ने मौका पायौं । जुन पक्षमा काम र सुधार गर्नु थियो, त्यो गर्यौं । फाइनललाई लिएर हामी उत्साही छौं । तयार पनि छौं । टिम खेलमा लय निकैे महत्त्वपूर्ण हुन्छ । यसले कुनै पनि स्थितिमा पनि जित्न सक्छौं भन्ने हुन्छ । लुम्बिनीमा यो अनुभव भइरहेको छ । हामी लिग चरणमा शीर्षमा रह्यौं र राम्रो गरिरहेका छौं । तर यसो भनेर मात्र केही हुन्न, फाइनलमा राम्रो गर्नुपर्ने हुन्छ । सुदूरपश्चिम रोयल्स पनि एकदमै राम्रो टिम हो । हामीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने हो भने हामी जित्ने छौं । फाइनलमा जुन टिमले राम्रो खेल्छ, त्यसैले जित्छ । सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेका छौं, तर यसअघिका दुई खेल पनि गुमाएका छौं । क्रिकेट हो, जे पनि हुनसक्छ ।
हाम्रो तयारी तपाईहरूले हेरिसक्नुभएको छ, खेलकै क्रममा । हामी पनि फाइनलका लागि तयार छौं । लुम्बिनीको बलिङ आक्रमण राम्रो छ । त्यसलाई कसरी खेल्ने हो भनेर योजना बनाइसकेका छौं । विदेशी खेलाडीले छाडेर जाँदा टिमको सन्तुलन बिग्रिन्छ । अरू टिममा जस्तै हाम्रोमा पनि यस्तो भएको छ । त्यसैले ब्याटिङ क्रममा तल–माथि गरिरहेका छौं । फाइनलमा कुन क्रम ठीक हुन्छ, त्यो हेर्छौं । विराटनगर किंग्सविरुद्धको खेल इतिहास भइसकेको छ, पुरानो कुरा गरेर काम छैन, अब अगाडि बढ्ने हो । अहिले टिममा कुनै समस्या छैन, सबै ठीक छ ।
- दीपेन्द्रसिंह ऐरी , सुदूरपश्चिम रोयल्स