४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्ने पक्का भइसकेको छ र यी दुईमा फाइनल जित्ने टिम च्याम्पियन बन्नेछ ।
लुम्बिनी साविक विजेता हो भने सुदूरपश्मि रोयल्स यसअघि लगातार दुई पटक फाइनल खेलेपनि उपविजेतामै सीमित बनेको थियो । लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ भने सुदूरपश्मिच लगातार तेस्रो पटक फाइनल खेल्दा पहिलो पटक यो उपाधि जित्ने लक्ष्यमा छ ।
कुन टिमले उपाधि जित्छ भन्ने कौतुहलतासँगै कुन खेलाडी उत्कृष्ट बन्ला ? प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर र इमर्जिङ प्लेअरको पुरस्कार कसले पाउला भन्ने सबैको चासो छ ।
एनपीएलमा सबैभन्दा चर्चामा रहेको पुरस्कार कार हो । जुन नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले पाउनेछ । यस्तै समग्रमा प्लेअर अफ टुर्नामेन्ट हुने खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिता उत्कृष्ट ब्याटर र बलर सँगै इमर्जिङ प्लेअरले पनि मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछ ।
सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीलाई पनि विशेष क्याप प्रदान गरिनेछ ।
तर सबैको चासो अहिले कुन नेपाली खेलाडीले कार जित्ला भन्ने नै छ । यसमा विशेषगरी प्लेअफ, फाइनल पुग्ने टिमकै खेलाडीहरू मुख्य दाबेदारको रुपमा छन् । कार पुरस्कार जित्नका लागि व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शनका साथै टिमको जितमा गरेको योगदान लगायत विषय हेरिनेछ ।
यसअघि पहिलो सिजन सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी र दोस्रो सिजन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले उत्कृष्ट नेपाली खेलाडी बन्दै कार पुरस्कार जितेका थिए ।
यस सिजन नेपाली खेलाडीहरूमा ब्याटिङ भन्दा बलिङमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू धेरै छन् । बलिङमा नेपाली पेस बलरहरू हावी हुँदा सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमै तीन जना नेपाली बलर छन् । तर उनीहरूको टिम फाइनल पुगेको छैन ।
यस पटक नेपाली खेलाडीहरू मध्ये विशेषगरी बलिङमा केही खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । चितवन राइनोजका मिडियम पेसरद्वय रिजन ढकाल र कमल सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । चितवन दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि तेस्रो समग्रमा तेस्रो भयो ।
रिजनले ९ खेलमा १७ विकेट लिएर शीर्षमा छन् । कमलसँगै सुदूरपश्चिमका स्कट कुगेलेइनले समान १३ विकेट लिएका छन् । त्यस बाहेक जनकपुरका आइकोनिक खेलाडी १७ वर्षीय राहुल यादवले पनि एनपीएल डेब्यु सिजनमै गज्जब प्रदर्शन गर्दै १२ विकेट लिए । स्पीनरहरू लुम्बिनी लायन्सका शेर मल्लको प्रदर्शन अन्य भन्दा राम्रो देखियो । फाइनलसम्म शेरले ११ विकेट लिएका छन् ।
ब्याटिङमा भने कुनै पनि खेलाडीले वाह भन्न लायक प्रदर्शन गर्न सकेनन् । पोखराका एभेन्जर्सका कुशल भुर्तेल, सुदूरपश्चिमका दीपेन्द्र सिंह, काठमान्डु गोर्खाजका रासिद खानले केही सम्झनलायक इनिङ्स खेलेपनि अन्यको प्रदर्शन राम्रो रहन सकेन ।
यस पटक बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गरेका खेलाडीहरूको टिम उपाधि होडबाट बाहिरिसकेका छन् । नेपाली खेलाडी मध्ये सर्वाधिक रन बनाउनेमा अघि रहेका विराटनगर किंग्सका लोकेश बम र पोखरा एभेन्जर्सका कुशल भुर्तेल थिए । तर दुवैको टिम लिग चरणबाटै बाहिरियो ।
लोकेशले लिग चरणमा ७ खेलमा २४२ र कुशलले पनि ७ खेलमा २३५ रन बनाए । दुवैले समान २ अर्धशतक प्रहार गरेका थिए । फाइनलअघिसम्म पनि सर्वाधिक रन बनाउनेमा लोकेश दोस्रो र कुशल भुर्तेल चौथो स्थानमा छन् ।
यस्तै सुदूरपश्चिमलाई लगातार तेस्रो पटक फाइनल पुर्याएका कप्तान दीपेन्द्र सिंह ऐरीले ९ खेल खेल्दा ३ अर्धशतकसहित २१७ रन बनाउँदै छैटौं स्थानमा छन् । उनले फाइनलमा थप २६ रन बनाएमा दोस्रो स्थानमा रहेका नेपाली ब्याटर लोकेश बमलाई उछिन्नेछन् । यस्तै फाइनलमा ७८ रन जोड्न सके शीर्ष स्थानमा रहेका युवराज सम्रा (२९४ रन) लाई उछिन्नेछन् ।
बलिङ र फिल्डिङमा पनि उस्तै प्रदर्शन गर्ने दीपेन्द्रले ९ खेलमा ६ विकेट लिएका छन् । यस्तै उत्कृष्ट क्याचहरू लिएका छन् । मैदानमा टिमको नेतृत्वदेखि तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका दीपेन्द्र यस पटक पनि कार पुरस्कारको दाबेदारमा छन् ।
अर्को फाइनालिस्ट लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र आसिफ शेखले यस सिजन ब्याटिङमा कमाल गर्न सकेनन् । दोस्रो सिजन कार जितेका रोहितले १२१ र आसिफले १११ रन मात्र बनाएका छन् ।
फाइनलअघिमम्मको प्रदर्शन हेर्दा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले अलराउण्ड प्रदर्शन गरेका छन् । उनले मुस्किल अवस्थाबाट टिमलाई जिताउन योगदान गरेका छन् । त्यसैले उत्कृष्ट खेलाडीमा पनि दीपेन्द्र अघि छन् ।
यस्तै चितवनका क्वालिफायरसम्म पुर्याउन महत्वपूर्ण प्रदर्शन गरेका रिजन ढकाल पनि उत्कृष्ट खेलाडीको दाबेदारमा छन् ।
उत्कृष्ट खेलाडी बाहेक उत्कृष्ट ब्याटर र बलर घोषित हुने खेलाडीले मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।
सर्वाधिक विकेट लिनेमा फाइनल अघिसम्म चितवनका रिजन १७ विकेटसहित शीर्षमा छन् । उनलाई भेट्न सक्नेमा सुदूरका स्कट छन् । स्कटले १३ विकेट लिएका छन् र फाइनलमा ४ विकेट लिए रिजनसँग बराबरी हुनेछ र ५ विकेट लिएमा सर्वाधिक विकेट लिने बलर बन्नेछन् ।
दुवै खेलाडीले टिमको जितमा महत्वपूर्ण प्रदर्शन गर्दै आएका छन् । यस्तै लुम्बिनीका लागि शेर मल्ल पनि राम्रो बलिङ गर्नेमा अघि छन् ।
यस्तै उत्कृष्ट ब्याटरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सँगै चितवनका रवि बोपरा, डाविड मालान, विराटनगरका लोकेश बम, पोखराका युवराज सम्रा लगायत अघि छन् । पोखराका युवराजले लिग चरणमा कर्णाली याक्स विरुद्ध शतक पनि प्रहार गरेका छन् ।
यस्तै रेडबुलले पनि दोस्रो संस्करणमा एक उत्कृष्ट खेलाडीलाई अवार्ड दिएको थियो ।
यसैगरी इमर्जिङ प्लेअर अवार्डका लागि जनकपुरका आइकोनिक खेलाडी राहुल यादव दाबेदारको रुपमा छन् । उनले लिग चरणमा ७ खेल खेल्दै १२ विकेट लिए । सर्वाधिक विकेट लिनेमा उनी चौथो स्थानमा छन् । ट्यालेन्ट हन्टबाट आएका राहुलले तेस्रो संस्करणको पहिलो खेलमै डेब्यु गर्दै शानदार प्रदर्शन गरे ।
लुम्बिनी लायन्सका स्पीनर अभिशेष गौतम र सुदूरपश्चिमका स्पीनर अनिल खरेल पनि यस अवार्डका दाबेदारको रुपमा छन् । अनिलले ९ खेलमा १० विकेट लिँदा ५ खेलमा अवसर पाएका अभिशेषले ७ विकेट लिएका छन् ।