नेपालका पारा तेक्वान्दाे खेलाडी दिपेश महतले दक्षिण कोरियाको मुजुमा आयोजित ११ औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप जी१४ विधामा रजत पदक जितेका छन् ।
काठमाडौं — नेपालका पारा तेक्वान्दाे खेलाडी दिपेश महतले दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा आयोजित ११ औँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिप जी१४ विधामा रजत पदक जितेका छन् ।
पुरुष के ४१ क्याटगोरीको ५८ केजीमुनि दिपेशले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा टर्कीका कोसे साबितलाई १४–४ अंकको आधारमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेका थिए । स्वर्ण पदक भिडन्तमा भने दिपेश रुसका याकुपोभ रिनाटसँग पराजित भए ।
नेपालले विश्व पारा तेक्वान्दोमा १२ वर्षपछि यो उपलब्धि हात पारेको हो । यसअघि सन् २०१४ मा रुसमा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा यादव कुँवरले पदक जितेका थिए ।
दिपेशसहित प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन् । के ४४ को पुरुष ६३ केजीमुनि अमिर भ्लोनले शनिबार इरानका अलिजादेह अरब एविरुद्ध खेल्नेछन् । नेपाली टोलीको टिम म्यानेजर हेमन्त डाँगी र टिम प्रशिक्षक कविराज नेगी लामा छन् ।
प्रतियोगितामा ६४ राष्ट्रका २ सय ४५ खेलाडीको सहभागिता रहेको प्रशिक्षक लामाले जनाए । उद्घाटन समारोहको मार्च पासमा अमिर भ्लोनले नेपालको झण्डा बोकेका थिए ।