प्रधानमन्त्री वालेन्द्र शाहले मंसिर ६ देखि भारतको औपचारिक द्विपक्षीय भ्रमण गर्दै हुनुहुन्छ । भ्रमणका क्रममा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाईमार्ग उपलब्ध गराउने विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणमा लामो समयदेखि थाती रहेको यो द्विपक्षीय समस्या समाधान हुन सक्छ । तर यी विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा आन्तरिक कारण ज्यादा जिम्मेवार छन् ।
लुम्बिनी र आसपासका बौद्ध तीर्थस्थलसम्म अन्तर्राष्ट्रिय पर्यटकको पहुँच सहज बनाउन अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको थियो । तर, सन् २०२२ मेमा उद्घाटन भएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि यसले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकेको छैन । सन् २०२६ मार्च २५ सम्म यहाँबाट नियमित तथा चार्टर्ड गरी १ हजार २२२ वटा अन्तर्राष्ट्रिय उडान मात्र भएका छन् भने ६९ हजार ३७७ यात्रुले यहाँबाट आवतजावत गरेका छन् ।
विमानस्थल बनाउन जग्गा अधिग्रहणबाहेक नै ७ करोड ६१ लाख अमेरिकी डलर खर्च भएको थियो । सरकारीबाहेक निजी क्षेत्रले होटल र अन्य व्यवसायमा करिब ७० अर्ब रुपैयाँ लगानी गरिसकेको छ । निर्माणाधीन परियोजना पूरा हुँदा यो लगानी १ खर्ब रुपैयाँसम्म पुग्न सक्छ । सन् २०२५ अगस्टसम्म आठ वटा होटल बैंकले लिलाम गरिसकेको खबर प्रकाशित भएका छन् । यसले विमानस्थलको उपयोग नहुनु यसक्षेत्रकै लागि आर्थिक चुनौती बनिसकेको स्पष्ट पार्छ ।
नेपाल आउने अन्तर्राष्ट्रिय विमानलाई सामान्यतः सिमराबाटै प्रवेश गर्नुपर्ने बाध्यता छ । सोहीकारण नेपालले महेन्द्रनगर, नेपालगन्ज र भैरहवा क्षेत्रबाट पनि हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग पहल गर्दै आएको छ । मन्त्रालयकै अनुसार पश्चिम तर्फबाट भैरहवा आउने विमान सिमरा हुँदै प्रवेश गर्दा करिब ३०० किलोमिटर थप दूरी पार गर्नुपर्छ । पोखरा आउने विमानले पनि करिब १८५ किलोमिटर अतिरिक्त यात्रा गर्नुपर्छ । यसले इन्धन खपत, उडान समय र सञ्चालन खर्च बढाउँछ । फलतः नियमित उडान व्यावसायिक रूपमा लाभदायक हुँदैनन् ।
प्रवेशमार्ग नभएर मात्रै यी दुई विमानस्थल नचलेका होइनन् । समस्या नेपालभित्र पनि छ । भारतसँग व्यावहारिक सहमति जुटाउन कूटनीतिक पहल गर्नुका साथसाथै आर्थिक रूपमा फाइदा हुनेगरी यात्रु संख्या बढाउन र आवश्यक सेवा विस्तार गर्न सरकारले पहल गर्नुपर्छ ।
भारतले थप हवाई मार्ग नदिँदा समस्या उत्पन्न भएको छ । अधिकांश विमान सिमराबाटै आउँदा सिमरा क्षेत्रमा हवाई चाप बढेको छ । भारतले भने सुरक्षा संवेदनशीलता र हवाई यातायात व्यवस्थापनको जटिलतालाई कारण देखाउने गरेको छ । गोरखपुरको हवाई अड्डाजस्ता सैन्य संरचनाको सुरक्षालाई पनि उसले चासोको विषय बनाएको छ । यी विषयमा प्राविधिक तहमा छलफल हुनुपर्छ । तर, यसैको बहानामा समस्या बल्झाइराख्न मिल्दैन ।
भारतले अहिलेसम्म दिएका आश्वासनले नेपालको चासो सम्बोधन गर्न सकेको छैन । सन् २०२३ जुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले एउटा हवाई मार्ग उपलब्ध गराउन सकारात्मक संकेत दिएको बताएका थिए । उनका अनुसार, उक्त मार्ग एटीआर विमान सञ्चालनका लागि उचित थियो । उनले महेन्द्रनगरबाट थप उचाइको प्रवेशमार्ग उपलब्ध गराउन पनि आग्रह गरेका थिए ।
छोटो र सहज प्रवेश मार्ग नहुँदा पनि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुँदै आएका छन् । सन् २०२२ मेमा विमानस्थल उद्घाटन हुँदा जजिरा एयरवेजले उडान सुरु गरेको थियो । नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र हिमालय एयरलाइन्सले पनि फरक–फरक समयमा यहाँबाट उडान गरेका थिए । सन् २०२४ मा उडान विस्तार भएको अवधिमा कतार एयरवेजले समेत सेवा दिएको थियो । सन् २०२५ अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत भइरहँदा चार वटा विदेशी वायुसेवाले करिब एक महिनासम्म भैरहवाबाट उडान गरेका थिए । त्यतिबेला साप्ताहिक २० वटासम्म उडान भएका थिए । यात्रुको माग र अनुकूल परिस्थिति भए अहिले पनि भैरहवामा अन्तर्राष्ट्रिय उडान सम्भव रहेको देखिन्छ । यसो गर्दा अवश्य पनि लामो दूरी पार गर्नुपर्छ, खर्च पनि बढ्छ ।
यात्रुको माग कमजोर र उडान खर्च बढी भएपछि वायुसेवाहरूले भैरहवा र पोखराका उडान घटाएका वा स्थगित गरेका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जजिरा एयरवेज र थाई एयर एसियाका उडानमा करिब ७७ प्रतिशत यात्रु रहेको बताए पनि नियमित सेवा टिकाउन नसकेको बताएका थिए । यात्रुबाट हुने आम्दानी, टिकटको मूल्य, विमानको प्रकार, इन्धन र नेभिगेसन खर्चमा नाफा निर्भर हुन्छ । सबै कुरा हेर्दा भैरहवामा आवश्यक संख्यामा यात्रु अझै नभएको देखिन्छ ।
सन् २०२५ को अप्रिलमा भैरहवाबाट हुने उडान बढ्यो । तर, यात्रु आफ्नै इच्छाले भैरहवा गएका थिएनन् । बरु त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका कारणले उनीहरू भैरहवा जान बाध्य भएका थिए । मर्मत सकिएपछि अस्थायी उडान पनि बन्द भए र विमानस्थलले फेरि नियमित अन्तर्राष्ट्रिय उडान पाउन सकेन । यहाँबाट अन्तिम अन्तर्राष्ट्रिय उडान गत मार्च २५ मा भएको थियो ।
मूलतः भैरहवामा यात्रुका दुईवटा स्रोत छन्– पश्चिम नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक र लुम्बिनी तथा आसपासका बौद्ध तीर्थस्थल घुम्न आउने पर्यटक । तर, नेपालले वैदेशिक रोजगारीका सेवा र पर्यटन रणनीतिलाई यस विमानस्थलसँग जोडेर यी दुवै समूहलाई नियमित यात्रुमा रूपान्तरण गर्न सकेको छैन । बौद्ध तीर्थयात्रा मौसमी हुने भएकाले तीर्थयात्रीले मात्रै वर्षभरि भैरहवाका उडान भर्न सक्दैनन् ।
कुनै पनि विमानस्थलमा उडान गर्ने वा नगर्ने भनेर निर्णय गर्नुअघि वायुसेवाहरूले पर्याप्त यात्रु पाइन्छन् कि पाइँदैनन् र सञ्चालन खर्च उठ्छ कि उठ्दैन भन्ने हिसाब गर्छन् । सरकारले सहयोग गर्नुपर्ने यहीँनेर हो । वर्षभरि नियमित यात्रु उपलब्ध हुने वातावरण बनाउन सरकार अघि सर्नुपर्छ ।
भारतीय बौद्ध सर्किटको किनारामा परेको लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार बनाउने उद्देश्यले निर्माण गरिएको थियो, भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । तर, पर्यटकलाई लुम्बिनी पुर्याउन कठिन छँदैछ, त्यसभन्दा बढी यसलाई बौद्ध तीर्थयात्राको मुख्य गन्तव्य बनाउनु चुनौतीपूर्ण छ ।
सन् २०१५ मा भारतको पर्यटन मन्त्रालयले पाँचदेखि सात दिनको ‘धर्मयात्रा’ रुट सार्वजनिक गरेको थियो । त्यसमा बोधगया, सारनाथ, कुशीनगर र पिपरवा समेटिएका थिए । नेपालको लुम्बिनीका लागि भने एकदिने भ्रमण समय छुट्याइएको थियो । पछि त्यही सर्किटलाई १० देखि १५ दिनको यात्राको रूपमा बिस्तार गरियो । त्यसमा पनि लुम्बिनीलाई एकदिने गन्तव्यकै रूपमा प्रस्तुत गरिएको थियो । भारतीय गन्तव्यहरूलाई केन्द्रमा राखिएको यो यात्रामा नेपालको सबैभन्दा महत्त्वपूर्ण बौद्ध सम्पदालाई एकदिने यात्रामा खुम्च्याइएको थियो । अब नेपाल आफैँले लुम्बिनीलाई लामो तीर्थयात्राको प्रमुख गन्तव्य बनाउन पहल गर्नुपर्छ ।
सन् २०२१ मा उद्घाटन भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलले पनि यात्रु तान्न सक्छ । कुशीनगर वा गोरखपुरबाट एक दिनका लागि मात्र लुम्बिनी आउने क्रम जारी रहे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु पाउन सक्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ मे १६ मा लुम्बिनी भ्रमण गर्दा मायादेवी मन्दिरलाई आफ्नो कार्यक्रमको पहिलो गन्तव्य बनाएका थिए । तर, कूटनीतिक महत्त्व पाउँदैमा पर्यटन बढेन ।
नेपालले भैरहवा–कुशीनगर सिधा हवाई सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यो पहल अघि बढाउनुपर्छ । तर, यसलाई दुवै देशले संयुक्त रूपमा प्रवर्द्धन गर्ने बृहत् बौद्ध तीर्थयात्रा योजनासँग जोड्नुपर्छ र लुम्बिनीलाई यसको केन्द्र बनाउनु पर्छ । अनि सम्भव भएसम्म यात्राको सुरुवात नै लुम्बिनीबाट हुने व्यवस्था गर्नुपर्छ ।
कतार, मलेसिया वा यूएईबाट फर्किने दाङका कुनै श्रमिकलाई उदाहरणका रूपमा लिऊँ । दाङ लुम्बिनी प्रदेशमै पर्छ र काठमाडौंभन्दा भैरहवा नजिक छ । तर, ती श्रमिकलाई भैरहवाभन्दा काठमाडौं हुँदै घर फर्कन सहज हुन्छ । किनभने श्रमिकलाई आवश्यक अन्य सेवा भैरहवामा उपलब्ध छैन । श्रमसम्बन्धी प्रक्रिया, भिसा सेवा र स्वास्थ्य परीक्षणको सुविधा त्यहाँ छैन । राज्यले नै यात्राको सम्पूर्ण प्रक्रिया काठमाडौँलाई केन्द्रमा राखेर सञ्चालन गरिरहँदा एयरलाइन्सहरूले भैरहवामा दिगो सेवा सञ्चालन गर्न सक्दैनन् ।
प्रधानमन्त्रीले दिल्लीमा उठाउनुपर्ने विषय
भारतले भैरहवा र पोखरा विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई सुम्पिए थप हवाई रुट दिने संकेत गरेको समाचार प्रकाशित भएका छन् । तर, पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूलाई यस्तो प्रस्तावबारे जानकारी नभएको वा उनीहरू छलफलमा सहभागी नभएको बताएका छन् । त्यसैले वार्ता अघि बढाउनुअघि यस्तो प्रस्तावको वास्तविकता स्पष्ट पार्नुपर्छ ।
विमानस्थल व्यवस्थापन र हवाई प्रवेशमार्ग अलगअलग विषय हुन् । नेपालले निजी क्षेत्रलाई विमानस्थल व्यवस्थापन सुम्पने निर्णय गरे त्यसको प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक हुनुपर्छ । त्यसको औचित्य पनि पुष्टि हुनुपर्छ । हवाई रुटको सट्टामा सुटुक्क लेनदेन गरिनुहुन्न ।
विमानस्थल बनाउन एसियाली विकास बैंकको संलग्नता थियो । उसले निजी क्षेत्रको सहभागितालाई समर्थन गर्छ । तर, त्यतिकै भरमा भारतीय कम्पनीलाई व्यवस्थापन सुम्पनुपर्छ भन्ने छैन । सरकारले प्रस्तावित जुनसुकै सम्झौताबारे संसद्लाई जानकारी गराउनुपर्छ ।
नेपालले पारस्परिक लाभका आधारमा पनि वार्ता अघि बढाउन सक्छ । सन् २०२६ नोभेम्बर १६ मा अनलाइनखबरले भारतले बागडोगराबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको समाचार प्रकाशित गरेको थियो । त्यही समयमा नेपालले भैरहवाका लागि थप प्रवेशमार्ग मागिरहेको थियो । भारतको प्रस्तावलाई प्राविधिक र सुरक्षाको दृष्टिले छुट्टै मूल्यांकन गर्नुपर्छ । तर, यसले दुवै देशका आवश्यकता एकैपटक वार्ताको टेबलमा राख्ने अवसर दिएको छ । सहमतिमा हवाई रुट, उडानको उचाइ, सुरक्षा प्रक्रिया, नियमन र दुवै देशले पाउने लाभ स्पष्ट उल्लेख हुनुपर्छ र यस्तो सहमति सार्वजनिक पनि गर्नुपर्छ ।
बुझ्नुपर्ने मुख्य कुरा के हो भने भारतले प्रवेशमार्ग दिँदैमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल भइहाल्दैन । बौद्ध तीर्थयात्री आफैँ लुम्बिनी आइपुग्छन् भनेर पर्खिनु पनि हुँदैन । नेपालले यो विमानस्थललाई नियमित यात्रा गर्ने मानिसका लागि उपयोगी बनाउनुपर्छ । त्यसका लागि पश्चिम नेपालका वैदेशिक रोजगारीमा जाने श्रमिक, लुम्बिनी र बौद्ध तीर्थस्थल घुम्न आउने पर्यटक, सामान ओसारपसार गर्ने व्यवसायी अनि भारत र अन्य देश जाने यात्रुको सुविधामा ध्यान दिनुपर्छ । भरपर्दो यातायात, गतिलो पर्यटन प्याकेज र बौद्ध धर्मावलम्बीको बाहुल्य भएका देशसँग सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्छ । दीर्घकालीन योजना बनाएरै वायुसेवालाई आकर्षित गर्नुपर्छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा हवाई क्षेत्रका सम्बन्धमा प्राविधिक रूपमा सम्भव र पारस्परिक लाभ हुने सहमति खोज्दा राम्रो हुन्छ । तर, विमानस्थल व्यवस्थापन कसलाई दिने भन्ने निर्णयमा चाहिँ विचार पुर्याउनुपर्छ ।
त्यसैले प्रधानमन्त्रीको भ्रमणमा नयाँ हवाई रुट घोषणा हुन्छ कि हुँदैन भन्दा पनि व्यावसायिक रूपमा भैरहवा विमानस्थल सञ्चालन हुने अवस्था बन्छ कि बन्दैन भन्ने कुरा ज्यादा महत्वपूर्ण हो । नेपालले त्यसकै लागि रणनीतिक योजना तयार गर्नुपर्छ । (लेखक प्रतिनिधिसभा सदस्य हुन्)