४ मंसिर, काठमाडौं । फोर नेसन इन्टरनेसनल कबड्डी कप २०२६ शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने यू–२० पुरुष प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगितालाई नेपाली कबड्डीको विकास र युवा खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले प्रतियोगिता नेपालमै आयोजना हुनुलाई नेपाली कबड्डीका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
‘आज खुशीको दिन हो । फोर नेसन इन्टरनेसनल कबड्डी कप नेपालमै आयोजना हुँदैछ । एक वर्षअघि थाइल्यान्डमा भएको छलफलमा यसको पहिलो संस्करण नेपालमा आयोजना गर्ने सहमति भएको थियो । मलेसिया भने अन्तिम समयमा सहभागी हुन सकेन,’ झाले भने ।
उनले पछिल्लो समय नेपाली कबड्डीले अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सफलता हासिल गरिरहेको उल्लेख गर्दै जुनियर तहबाटै खेलाडी उत्पादन र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
‘जुनियर लेभलबाटै खेलाडी विकास गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो सुरुवात गरेका हौँ । नेपालमा अहिलेसम्मकै ठूलो प्रतियोगिता आयोजना हुन लागेको हो। फोर नेसन कप आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्ने सुरुवात हुनेछ,’ उनले भने ।
नेपाली कबड्डीले पछिल्लो तीन वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । एसियन गेम्समा लगातार पदक जित्दै आएको नेपालले एसियन च्याम्पियनसिप, जुनियर कबड्डी, बंगबन्धु कबड्डी तथा एसियन बिच गेम्समा समेत पदक जितिसकेको छ ।
प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक जित्नु रहेको महासचिव झाले बताए। उनले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वाससमेत व्यक्त गरे ।
प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ । शनिबार हुने उद्घाटन खेलमा आयोजक नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणका खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्।
प्रतियोगिताका सम्पूर्ण खेल ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो हलमा सञ्चालन हुनेछन् ।
यसैबीच, अखिल नेपाल कबड्डी संघले आगामी जनवरीमा सातौँ महिला एसियन कबड्डी च्याम्पियनसिप आयोजना गर्ने तयारीसमेत गरेको महासचिव झाले जानकारी दिए ।