निरोशान डिकवेलाको अविजित ५९ रनमा लुम्बिनीले १०६ रनको लक्ष्य १६.४ ओभरमा पूरा गर्दै लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गर्यो।
काठमाडौँ — निरोशान डिकवेलाले अर्धशतक बनाएपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । लुम्बिनीले मंगलबार क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो ।
डिकवेलाले अविजित ५९ रन बनाएपछि च्याम्पियन लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा १ सय ६ रनको लक्ष्य १६.४ ओभरमा १ सय ८ रन बनाउँदै पूरा गरेको थियो ।
लुम्बिनीले गत वर्ष उपाधि जित्ने क्रममा फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यस सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले त्यही प्रदर्शन दोहोर्याउँदै सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो ।
यसअघिका दुई सिजन फाइनल खेलेको सुदूरपश्चिमसँग लुम्बिनीविरुद्ध फाइनल खेल्ने अर्को एक अवसर रहेको छ । इलिमिनेटरमा प्रतिस्पर्धा गरिरहेका चितवन राइनोज र काठमान्डु गोर्खाजबीचको विजेतासँग सुदूरपश्चिमले फाइनलमा स्थान पाउन क्वालिफायर २ मा खेल्ने छ ।
डिकवेलाले शून्यमा पाएको जीवनदानको पूरा फाइदा उठाए । दोस्रो ओभरमा हेमन्त धामीको बलमा डिकवेलाले गरेको प्रहार फाइन लेगमा अविनाश बोहराले क्याच फुत्काउन पुगेका थिए । तेस्रो ओभरमा डिकवेलाले लगातार बलमा स्कट कुग्लेनलाई ३ चौका र १ छक्का प्रहार गरेका थिए ।
अविनाशले डिकवेलालाई अर्को अवसर ठीक ५० रनमा दिए । दीपेन्द्रसिंह ऐरीको बलमा उनले सर्ट फाइन लेगमा ठम्याउन नसक्दा अविनाशको हातबाट बल चौका भएको थियो । डिकवेलाले ३७ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनले थानुका दवारेको बलमा विजयी छक्का प्रहार गरेका थिए ।
लुम्बिनीले पनि कमजोर सुरुआत गरेको थियो । इनिङ्सको तेस्रो बलमा डीआरसी शर्ट बोल्ड भए । कुग्लेनको बलमा उनी इनसाइड एज लागेर बोल्ड भएका थिए । अर्का ओपनर आरिफ शेख ४ रन बनाई हेमन्त धामीको बलमा आउट भए ।
डिकवेलाले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटमा ३८ रनको साझेदारी गरे । रोहितले २८ बल खेली १ चौका प्रहार गर्दै २४ रन बनाई थारिन्दु रथ्नायकेको बलमा मिडविकेट बाउन्ड्री लाइनमा अनिल खरेलबाट क्याच आउट भए । सन्दीप जोरा १३ बल खेली ८ रन बनाई रथ्नायकेबाट कट एन्ड बोल्ड भए । दिलीप नाथ १० रनमा अविजित रहे ।
यसअघि कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए पनि टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभर खेली ८ विकेट गुमाई १ सय ५ रनमात्र बनाउन सकेको थियो । दीपेन्द्रले १८औँ ओभरमा खेलको एकमात्र छक्का प्रहार गरेका थिए । शेर मल्लको बलमा उनले रिभर्स स्विपमा उक्त छक्का प्रहार गरेका थिए ।
दीपेन्द्रले ५१ बलको इनिङ्समा ३ चौका पनि प्रहार गरे । खेलको अन्तिम ओभरमा किशोर महतोको बलमा दीपेन्द्र हावामा क्याच दिन पुगेपछि आउट भएका थिए । खेलका दौरान क्र्याम्प भएपछि दीपेन्द्रले उपचारका लागि समय लिनु परेको थियो ।
सुदूरपश्चिमले निकै दयनीय सुरुआत गरेको थियो । रुबेन ट्रम्पलमनले खेलको पहिलो बलमै जर्ज मुन्सीलाई बोल्ड गरेका थिए । भेट्रान स्कटिस ब्याटर मन्सीको यस सिजनको प्रतियोगितामा यो पहिलो खेल थियो । गत वर्ष उनले विराटनगर किंग्सबाट खेलेका थिए ।
नामिबियाका प्रभावशाली अलराउन्डर ट्रम्पलमनले खेलको तेस्रो तथा आफ्नो अर्को ओभरमा श्रीलंकाली ब्याटर थानुका दवारेलाई ३ रनमा आउट गरे । थानुकाको पनि प्रतियोगितामा यो पहिलो खेल थियो । चौथो ओभरको पहिलो बलमै अभिशेष गौतमले विनोद भण्डारीलाई ३ रनमा आउट गरे ।
विकेटसँगै निरन्तर दबाबपछि सुदूरपश्चिमले ६ ओभरको पहिलो पावर प्लेमा २० रनमात्र बनाउन सकेको थियो, जुन यस सिजनको एनपीएलको पहिलो पावर प्लेमा सबैभन्दा कम स्कोर हो । काठमान्डु गोर्खाजविरुद्धको यसअघिको खेलमा पनि सुदूरपश्चिमले ६ ओभरको पहिलो पावर प्लेमा २१ रनमात्र बनाउन सकेको थियो ।
दीपेन्द्र र इशान पाण्डेले सुदूरपश्चिमको इनिङ्सलाई उकास्ने प्रयास गरिरहे पनि टोलीले पहिलो १० ओभरमा ४० रनमात्र जोड्न सकेको थियो । दीपेन्द्र र इशानले दोस्रो विकेटमा ६४ रनको साझेदारी गरे । विकेटकिपर डिकवेलाको सिधा थ्रोमा रनआउट हुनु पूर्व इशानले ३३ बल खेली ३ चौका प्रहार गर्दै २७ रन बनाए ।
रथ्नायके १, आरिफ शेख ४ रनमै आउट भए । इनिङ्सको अन्तिम बलमा रनआउट भएका स्कट कुग्लेनले ७ रन जोडे । अनिल २ रनमा अविजित रहे । लुम्बिनीबाट ट्रम्पलमन र शेरले २–२ विकेट लिए । ट्रम्पलमनले ४ ओभरमा १४ र शेरले ४ ओभरमा २७ रन खर्चे । अभिशेषले ४ ओभरमा ११ र किशोरले १९ रनमात्र खर्चेर १–१ विकेट लिए ।