शीर्ष दुई टोलीबीच हुने क्वालिफायर १ को विजेता नेपाल प्रिमियर लिगको फाइनलमा पुग्नेछ, जबकि पराजितलाई अर्को अवसर रहनेछ।
काठमाडौँ — लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलमा स्थान पाउन मंगलबार क्वालिफायर १ मा प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोली राउन्ड रोबिन लिगको शीर्ष दुई स्थानमा रहेका थिए ।
लुम्बिनीले सर्वाधिक ११ अंक बटुलेको थियो, सो क्रममा प्रतियोगिताको पहिलो खेलमै सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो । च्याम्पियन लुम्बिनीले उक्त खेलमा सुदूरपश्चिमलाई ८७ रनमा अलआउट गर्दै सो लक्ष्य १० ओभरभित्र पूरा गरेको थियो ।
लिग चरणमा लुम्बिनीले ७ मध्येका ५ खेल जित्यो । टोली एक खेलमा मात्र पराजित रह्यो । काठमान्डु गोर्खाजले टोलीलाई एकमात्र पराजयको स्वाद चखायो र सो क्रममा टोलीको लगातार ११ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको थियो । चितवन राइनोजसँग टोलीको खेल वर्षाले रद्द पारेको थियो ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिलो ३ मध्येका २ खेलमा पराजय भोगेको थियो, त्यसमा एक लुम्बिनीविरुद्ध नै थियो । त्यसपछि सुदूरपश्चिमले लगातार ४ खेल जित्दै १० अंक पुर्याएको हो । सुदूरपश्चिम लगातार तीनै सिजन प्लेअफमा पुग्ने एक्लो टोली हो, अझ त्यसैमा टोलीले तीनै पटक क्वालिफायर वान खेलेको छ ।
लुम्बिनीको चुनौती पन्छाउन सके सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुग्ने छ । पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध हारेको सुदूरपश्चिमलाई दोस्रो सिजनको फाइनलमा लुम्बिनीले नै पराजयको स्वाद चखाएको थियो ।
लुम्बिनी गत सिजनकै अधिकांश खेलाडीमा अडिग रहेको छ । तर सुदूरपश्चिमले नयाँ विदेशी खेलाडी थपिने क्रम जारी छ । टोलीले अघिल्लो दिनमात्र स्कटिस भेट्रान ओपनिङ ब्याटर जर्ज मन्सीलाई समेटेको थियो । उनलाई अलराउन्डर अर्का स्कटिस खेलाडी ब्रान्डन म्याकमुलेनको स्थानमा ल्याएको थियो । त्यस्तै टोलीले थानुका दवारे लाई पनि टोलीमा समावेश गरेको छ र सम्भवतः दुवै नयाँ खेलाडी लुम्बिनीविरुद्ध खेल्ने सम्भावना रहेको छ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।