त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेका कप्तान रोहित पौडेलले फाइनल प्रवेशको निर्णायक खेलमा सुदूरपश्चिमलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेका छन्।
काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङका लागि बोलाएका हुन् ।
यी दुई टोली फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गरिरहेका हुन् । यी दुई टोली राउन्ड रोबिन लिगको शीर्ष दुई स्थानमा रहेका थिए । यो खेल जित्ने टोली फाइनल पुग्नेछ । गत वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित गरेर उपाधि जितेको थियो । पहिलो सिजनमा लुम्बिनी पुछारमा रहेको थियो ।
सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनल खेल्ने दाउमा रहेको छ । टोली पहिलो सिजन पनि फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । राउन्ड रोबिन लिग चरणमा लुम्बिनीले सर्वाधिक ११ अंक बटुलेको थियो भने सुदूरपश्चिमले १० अंक जोडेको थियो ।
लुम्बिनीले अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन । टोलीबाट डीआरसी शर्ट, निरोशन डिकवेला, सैफ अली र रुबेन ट्रम्पलमन गरी चार विदेशी खेलाडी खेल्दै छन् ।
सुदूरपश्चिम रोयल्सले स्कटिस भेट्रान ओपनिङ ब्याटर जर्ज मन्सी र श्रीलंकाका थानुका दवारे लाई टोलीमा समावेश गरेको छ । ब्रान्डन म्याकमुलेन र फाबियन एलेनको स्थानमा उनीहरूलाई ल्याइएको छ । दुवै पहिलो पटक खेलिरहेका छन् । मन्सी गत सिजन विराटनगरको टोलीमा रहेका थिए । त्यस्तै अविनाश बोहरालाई मिलन बोहराको स्थानमा ल्याइएको छ ।