विराटनगरमा भएको कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा झापाले सुनसरीले दिएको १०१ रनको लक्ष्य १९.२ ओभरमा चार विकेट गुमाएर सहजै पूरा गर्यो।
सुनसरी — सुनसरीलाई ६ विकेटले पराजित गर्दै झापा कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ।
विराटनगरस्थित मेरिलिबोन क्रिकेट ग्राउण्डमा मंगलबार भएको फाइनलमा सुनसरीले दिएको १ सय १ रनको लक्ष्य झापाले १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
टस जितेर पहिले बलिङ रोजेको झापाले सुनसरीलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय रनमा रोकेको थियो। सुनसरीका लागि रविन मण्डलले सर्वाधिक ४२ रन बनाए। सोनु मण्डलले २२, रोहन साहले अविजित १६ र समीर तिम्सिनाले ११ रन जोडे।
सुनसरीलाई कम स्कोरमा रोक्ने क्रममा झापाका विपीन महतो र सुजनप्रसाद घिमिरेले समान तीन विकेट लिए। विजय कार्कीले एक विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको झापाका कप्तान अंकित सुवेदीले ४४ रनको योगदान गरे। भूपाल दंगालले ३८ रन बनाएपछि झापाले सहज रूपमा लक्ष्य भेट्टायो। सुनसरीका रोहन साहले दुई विकेट लिए।
यसअघि सेमिफाइनलमा झापाले उदयपुरलाई तथा सुनसरीले मोरङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।
यसपटकको प्रतियोगितामा क्यानबाट मान्यता प्राप्त पाँच जिल्लाबाहेक अन्य जिल्लालाई समेत समेटेर पहिलोपटक नौ जिल्लाका टोली सहभागी गराइएको थियो। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले आयोजना गरेको प्रतियोगितामा मोरङ, झापा, सुनसरी, इलाम, उदयपुर, धनकुटा, पाँचथर, खोटाङ र ताप्लेजुङका टोलीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने १४ जना खेलाडी छनोट गरिनेछ। छनोट प्रक्रियाबारे बोर्डका सदस्यसचिव विप्लव घोषले यसपटक लिग प्रतियोगिता नै आयोजना गर्ने तयारी भए पनि समय अभावका कारण छोटो अवधिको प्रतियोगिता सञ्चालन गर्नुपरेको बताए। उनले छनोट समितिले पारदर्शी ढंगले खेलाडी छनोटका लागि काम गरेको दाबी गर्दै समितिले छनोट गरेका खेलाडीले सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।