मुख्यमन्त्री यादवले सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने साझेदारी विकास मञ्च र अन्तरप्रदेश सहकार्यका लागि छुट्टै कोष बनाउन प्रस्ताव गरे।
विराटनगर — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयता प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
विराटनगरमा जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधनका क्रममा उनले प्रदेश सरकारलाई संविधानप्रदत्त अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै संघीयता सफल भए मात्रै मुलुकमा समृद्धि हासिल हुने बताए।
प्रदेशका मन्त्रालयमा संघीय सरकारले सचिव पठाउने अभ्यासले प्रदेशको स्वायत्ततामा समस्या सिर्जना गरेको उनको भनाइ छ। संविधानका अनुसूचीमा उल्लिखित अधिकारका आधारमा प्रदेशलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने उनले बताए।
यादवले सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने गरी मुख्यमन्त्री साझेदारी विकास मञ्च गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे। प्रदेशहरूबीच सहकार्य र साझेदारी प्रवर्द्धन गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने उनको सुझाव छ। अन्तरप्रदेश लगानी बैंकको अवधारणा पनि स्वागतयोग्य रहेको उनले बताए।
प्रदेशमा शान्तिसुरक्षा कायम गर्न प्रहरीको भूमिका प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले यसमा सुधार आवश्यक रहेको बताए। त्यस्तै, मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि कोशी र मधेश प्रदेशले संयुक्त योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।