मधेश प्रदेश सरकारमा सहभागी एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।
जनकपुरधाम — मधेश प्रदेश सभाको बैठक यही २८ कात्तिक लागि आह्वान गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही २८ कात्तिक दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिएका हुन् ।
प्रदेश सभा बैठक सञ्चालनका लागि २७ कात्तिक दिउँसो प्रदेश सभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए ।
मधेश प्रदेश सरकारमा सहभागी एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभाबाट यही २८ कात्तिक दिउँसो १ बजे विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बुधबार पत्राचार गरेका थिए । विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वास लिनुअघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका ४ मन्त्रीले गत २५ असोजमा सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
सरकारमा सहभागी नेकपाका ४ मन्त्रीले यही २० कात्तिकमा राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।
सत्तारुढ २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका हुन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
मधेश प्रदेश सभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १–१ सदस्य छन् ।