दुर्घटनामा चार महिला, तीन बालिका र सात पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । गाडीमा बालबालिकासहित २० जना सवार थिए । ६ जना घाइतेमध्ये ३ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् । ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा महिला ४, बालिका ३ र ७ जना पुरुष रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । गाडी चालकसहित ११ मृतकको पहिचान खुलेको छ । अझै ३ जनाको सनाखत हुन बाँकी छ ।
मृतकहरुमा सर्लाही कविलासी—८ का ३० वर्षीय रविशंकर कुमार मण्डल, चक्रघट्टा–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव सोही स्थानका ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुहु यादव, ३२ वर्षीय गायत्री यादव, रामदुलार यादव, २४ वर्षीय सुवोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् । ६ जना घाइतेको हेटौंडा अस्पतालमा उपचारको निम्ति ल्याइएको थियो । उपचारपश्चात तीन जना डिस्चार्ज भइसकेका छन् । तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३—००१ ज ०८८० माइक्रो चिसापानीगढी सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान पौने ६ बजे भएको हो । गाडीमा यात्रु छठपर्व मनाउन घर फर्कँदै थिए ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।