काठमाडौँबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा एउटै परिवारका सात जनाले ज्यान गुमाएका छन्।
दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका एकै परिवारका ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पुनम राय, उनका छोरीहरू शिक्षा राय, दीपिका राय र अनु राय तथा परिवारका अन्य सदस्य बिकेश राय, सुदेश राय रहेका छन्। त्यस्तै, पुनम देवीका छोरा १४ महिनाका सुदीप राय दुर्घटनामा घाइते भएका छन्। उनलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने दुई जनालाई थप उपचारका लागि काठमाडौँ र एक जनालाई चितवन रिफर गरिएको छ।
* एकै परिवारका ६ जनाको मृत्यु भएको हुनुपर्नेमा सात उल्लेख भएको सच्याइएको छ ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।