मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको विद्युतीय सवारी (इभी) दुर्घटनामा मृत्यु भएका १३ जनाको शव पोस्टमार्टमपछि आफन्तले बुझेर सर्लाही लगेका छन् । हेटौँडा अस्पतालमा राखिएका शवको शुक्रबार साँझ पोस्टमार्टमपछि आफन्तलाई हस्तान्तरण गरिएको हो ।
हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी तीन वटा शववाहनमार्फत शव सर्लाही पठाइएको अस्पतालले जनाएको छ । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये इभी चालकको शव आफन्तले बिहीबार साँझ नै बुझेर लगेका थिए । बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको थियो । दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना र वडा नं. ८ का एक जना गरी १४ जनाको मृत्यु भएको थियो । मृतकका परिवारले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषण, परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै शव परीक्षण गर्न र शव बुझ्न अस्वीकार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )