साल्ट ट्रेडिङले चीनबाट आयात गरेको ३० हजार टनमध्ये दुई र्याक मल एक सातायता सिर्सिया सुक्खा बन्दरगाह हुँदै भित्रिएको हो।
पर्सा — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गरिरहेको युरिया मलमध्ये दुई रेल्वे र्याक मल वीरगन्ज नाकाबाट भित्रिएको छ । एक सातायता दुई र्याक मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह हुँदै नेपाल भित्रिएको साल्ट ट्रेडिङको वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख अमोज लामिछानेले जानकारी दिए ।
कुल ३० हजार टन युरिया मल आयात गर्ने यस खेपको ठेक्का ग्लोबल टेन्डरमार्फत आदित्य बिड्ला कम्पनीले पाएको हो । कम्पनीले चीनबाट मल ल्याइरहेको छ । मल बोकेको तेस्रो रेल्वे र्याक रक्सौलनजिकैको आदापुर रेल्वे स्टेसनसम्म आइपुगेको लामिछानेले बताए । उक्त र्याक मंगलबार राति वा बुधबार बिहानसम्म नेपाल भित्रिने सम्भावना रहेको उनले जानकारी दिए । ‘दसैंअघि चारवटा र्याक मल आइपुग्ने अपेक्षा गरेका छौं,’ उनले भने ।
यो खेपबाट साल्ट ट्रेडिङको वीरगन्ज प्रादेशिक कार्यालयले ११ हजार ५ सय टन मल पाउनेछ । बाँकी मल विराटनगर र भैरहवा प्रादेशिक कार्यालयमा पठाइनेछ । भैरहवा प्रादेशिक कार्यालयका लागि छुट्याइएको एक र्याक मलसमेत वीरगन्ज आइपुगेको छ । बाँकी मल भने भैरहवा नाकाबाट ट्रकमार्फत ढुवानी गरिनेछ । हाल धानबालीका लागि मलको माग नरहेकाले अहिले आयात भइरहेको युरिया मल आगामी हिउँदे बालीको सिजनमा उपयोगी हुने लामिछानेले बताए । उनका अनुसार उक्त मल गहुँ तथा तेलहन बालीका लागि प्रयोग गर्न सकिनेछ ।
हिउँदे बाली लगाउने समय नजिकिँदै गर्दा मल आयात भइरहेकाले आगामी सिजनमा किसानलाई आवश्यक पर्ने मलको आपूर्ति व्यवस्थापनमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।