वीरगन्ज भन्सारको तथ्यांकअनुसार साउनदेखि असोजसम्म मुसुरोको आयात मूल्य १२३ प्रतिशत र केराउको २०३ प्रतिशतले बढेको छ।
पर्सा — वीरगन्ज नाका हुँदै दलहनको आयातमा उल्लेख्य उतारचढाव देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुसुरो, सिमी/राज्मा र केराउको आयात बढेको छ भने चना, रहर, अन्य गेडागुडी तथा बकुल्लाको आयात घटेको छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म मुसुरोको आयात मूल्य गत वर्षको सोही अवधिको तुलनामा १ सय २३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोजसम्म ५२ करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्यको ५३ लाख ३० हजार किलो मुसुरो आयात भएकोमा चालु आवको सोही अवधिमा १ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको ६८ लाख १२ हजार किलो मुसुरो आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष मुसुरोको आयात परिमाण ६८ लाख १२ हजार किलोले बढेको छ ।
त्यस्तै, सिमी तथा राज्माको आयात मूल्य ३२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असोजसम्म ५२ करोड ७७ लाख रुपैयाँ बराबरको ४४ लाख ४५ हजार किलो सिमी तथा राज्मा आयात भएकोमा चालु आवको सोही अवधिमा ६९ करोड ४३ लाख रुपैयाँको ५३ लाख ६७ हजार किलो सिमी तथा राज्मा आयात भएको छ । यसको आयात परिमाण पनि ९ लाख २१ हजार किलोले बढेको छ ।
केराउको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ३ करोड ६७ लाख रुपैयाँ बराबरको १ लाख ४७ हजार किलो केराउ आयात भएकोमा चालु आवको त्रैमासिक अवधिमा ११ करोड १५ लाख रुपैया बराबरको १६ लाख ४५ हजार किलो केराउ आयात भएको छ । मूल्यका आधारमा केराउको आयात २ सय ३ प्रतिशतले बढेको छ ।
तर, चनाको आयात भने घटेको छ । गत आर्थिक वर्षको असोजसम्म करिब ३८ करोड ४७ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार किलो चना आयात भएकोमा चालु आवको सोही अवधिमा ३४ करोड ९८ लाख रुपैयाँ बराबरको ३६ लाख ५६ हजार किलो मात्र चना आयात भएको छ । चनाको आयात मूल्यमा ९ प्रतिशतले गिरावट आएको छ ।
त्यसैगरी, रहरको आयात मूल्य १६ प्रतिशतले घटेको छ । गत वर्षको असोजसम्म करिब ८ करोड १६ लाख रुपैयाँ बराबरको ६ लाख ७६ हजार किलो रहर आयात भएकोमा चालु आवको सोही अवधिमा ६ करोड ७६ लाख रुपैयाँ बराबरको ४ लाख ८९ हजार किलो मात्र रहर आयात भएको छ ।
अन्य गेडागुडीको आयातमा अझ बढी गिरावट देखिएको छ । गत वर्षको असोजसम्म १३ करोड ९४ लाख रुपैयाँभन्दा बढी मूल्यको १० लाख १६ हजार किलो अन्य गेडागुडी आयात भएकोमा चालु आवको सोही अवधिमा यो घटेर करिब ४ करोड ३८ लाख रुपैयाँ बराबरको ३ लाख ३३ हजार किलो मात्र आयात भएको छ । यसको आयात मूल्यमा ६९ प्रतिशतले गिरावट आएको छ ।
बकुल्लाको आयात पनि घटेको छ । गत आवको त्रैमासिक अवधिमा यो नाका हुँदै २५ लाख रुपैयाँ बराबरको २८ हजार १ सय १० किलो बकुल्ला आयात भएकोमा चालु आवको यस अवधिमा १६ लाख ७० हजार रुपैयाँ बराबरको १५ हजार ६ सय किलो मात्र बकुल्ला आयात भएको छ ।
वीरगन्ज नाका हुँदै आयात हुने दलहन भारतमा मात्र निर्भर छैन । युक्रेन, अस्ट्रेलिया, क्यानडा, ब्राजिललगायत तेस्रो मुलुकबाट समेत विभिन्न प्रकारका दलहन आयात हुने गरेका छन् । भारतसँगको खुला व्यापारिक सम्बन्धका अतिरिक्त तेस्रो मुलुकबाट हुने आयातले पनि वीरगन्ज नाकाको दलहन व्यापारलाई प्रभावित पार्ने गरेको छ ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।