Trending
Prev Story
Next Story

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

Ekantipur •
November 11, 2026 • 09:31 AM
1
1 reads 0 reactions

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

पर्सा — मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट खाद्यान्न आयातमा गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा यो नाका हुँदै आयात हुने चामल, मकै, धान, माल्ट तथा अन्य खाद्यान्नको परिमाण घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा गहुँ आयात नभएकोमा यस वर्ष भने उल्लेख्य परिमाणमा गहुँ भित्रिएको छ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार,  चालु आवको पहिलो त्रैमासिकमा चामल, मकै, गहुँ, माल्ट, धान तथा फापर, कोदो र अन्य खाद्यान्न गरी ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।

भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा ९४ लाख १ हजार किलो चामल आयात भएको थियो। अघिल्लो वर्ष ८९ करोड ८१ लाख रुपैयाँ बराबरको चामल आयात भएकोमा यस वर्ष ७० करोड रुपैयाँ बराबरको मात्र आयात भएको छ।

त्यस्तै, पशुपन्छीको दाना तथा खाद्य उद्योगमा प्रयोग हुने मकैको आयातमा पनि ठूलो कमी आएको छ। अघिल्लो आवको पहिलो तीन महिनामा ३ करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकोमा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलोमा सीमित भएको छ। अघिल्लो वर्ष १ अर्ब ८० करोड १३ लाख रुपैयाँ बराबरको मकै आयात भएकोमा यस वर्ष ६० करोड ९८ लाख रुपैयाँ बराबरको मात्र आयात भएको छ।

धानको आयातमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो आवको पहिलो तीन महिनामा ३ करोड ९१ लाख किलो धान आयात भएकोमा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्र आयात भएको छ। अघिल्लो वर्ष १ अर्ब ४६ करोड २८ लाख रुपैयाँ बराबरको धान आयात भएकोमा यस वर्ष ३३ करोड ३५ लाख रुपैयाँ बराबरको मात्र आयात भएको छ।

अघिल्लो वर्षको पहिलो त्रैमासिकमा २५ लाख ९० हजार किलो माल्ट आयात भएकोमा चालु आवमा भने यसको आयात शून्य छ। अघिल्लो वर्ष १७ करोड १० लाख रुपैयाँ बराबरको माल्ट आयात भएको थियो। यसैगरी फापर, कोदो तथा अन्य खाद्यान्नको आयात पनि घटेको छ। अघिल्लो वर्ष २३ लाख ४१ हजार ६५५ किलो आयात भएकोमा चालु आवमा १६ लाख ४० हजार ५५५ किलो मात्र आयात भएको छ।

यसबीच अघिल्लो आवको पहिलो तीन महिनामा गहुँ आयात नभएकोमा चालु आवमा भने ९५ लाख ५४ हजार किलो गहुँ आयात भएको छ। यसको आयात मूल्य ५० करोड १५ लाख रुपैयाँ रहेको भन्सारको तथ्यांकले देखाउँछ। अघिल्लो वर्ष शून्य आयात रहेको गहुँ यस वर्ष खाद्यान्न आयातको सूचीमा थपिएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
21h ago
नेपालमा खाद्य आयात ६३ प्रतिशतले घट्यो!

नेपालमा खाद्य आयात ६३ प्रतिशतले घट्यो!

वीरगञ्ज । नेपालको वैदेशिक व्यापारमा महत्त्वपूर्ण परिवर्तन देखिएको छ। वीरगञ्ज नाकाबाट हुने खाद्यवस्तुको आयात करिब ६३ प्रतिशतले घटेको तथ्य सार्वजनिक भएको छ। खाद्यवस्तुको आयात घट्नुले नेपाली बजारमा स...

#आयात #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2611