Trending
Prev Story
Next Story

सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

Ekantipur •
November 11, 2026 • 09:31 AM
1
1 reads 0 reactions

बारीमा ढकमक्क फुलेका फूलले तिहारको रौनक बढाउनुका साथै नयाँ आम्दानी र बाँझो जमिन उपयोगको अवसर दिएको छ।

सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

बारीमा ढकमक्क फुलेका फूलले तिहारको रौनक बढाउनुका साथै नयाँ आम्दानी र बाँझो जमिन उपयोगको अवसर दिएको छ।

लमजुङ — दिनभर समाचारको खोजी, लेखन र सम्पादनमा व्यस्त रहने लमजुङका केही पत्रकार यतिबेला बारीमा फुलेका सयपत्री टिप्ने, उन्ने र बिक्री गर्न सक्रिय छन् । उनीहरूका बारीमा ढकमक्क फुलेका सयपत्रीले तिहारको रौनक मात्र बढाएको छैन, आम्दानीको नयाँ बाटोसमेत खोलेको छ । कलम र क्यामेरासँगै उनीहरूको दैनिकी बारीमा फुलेका फूलले थप व्यस्त बनाएको छ।

मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी टारगाउँका नवीनराज कुइँकेल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । गोरखापत्र दैनिकका लमजुङ समाचारदाता उनी नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा लमजुङ शाखाका पूर्वअध्यक्ष पनि हुन् । उनले पाँच वर्षयता बारीमा फूलखेती गर्दै आएका छन् । मर्स्याङ्दी कृषि फर्ममार्फत यो सिजनमा उनले पाँच रोपनी जग्गामा सयपत्री फुलाएका छन् ।

उनको बारीमा फुलेका सयपत्रीले तिहारमा राम्रो बजार पाएका छन् । अहिलेसम्म साढे चार क्विन्टल फूल बिक्री गरिसकेका छन् । थोकमा प्रतिकिलो तीन सय रुपैयाँ र खुद्रामा चारदेखि पाँच सय रुपैयाँसम्ममा फूल बिक्री भएको छ । उनले करिब दुई सयवटा माला पनि बिक्री गरिसकेका छन् । प्रतिमाला एक सय रुपैयाँमा बिक्री गरिएको उनले बताए । ‘फूल पुर्‍याउनै सकिएन, माग धान्नै गाह्रो भयो । कतिपयको फोन उठाउनै सकिएको छैन,’ उनले भने । तिहारपछि पुष्प व्यवसायमा संलग्न किसानलाई भेला गरेर व्यवसाय विस्तारका विषयमा छलफल गर्ने उनको योजना छ ।

लमजुङ आवाज साप्ताहिकका प्रकाशक तथा सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिका–३, गाउँसहरमा करिब तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय उनले पहिलोपटक फूलखेती गरेका हुन् । उनले करिब डेढ क्विन्टल फूल बिक्री गरिसकेको बताए । प्रतिकिलो तीन सय ५० रुपैयाँमा फूल बिक्री भइरहेको छ । माला भने एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । बारीमा अझै फूल र कोपिला रहेकाले बिक्रीको क्रम जारी रहेको उनी बताउँछन् ।

‘यसपटक केही प्राविधिक समस्या आयो । फूल केही खेर गयो,’ उनले भने, ‘अर्को वर्ष बढी क्षेत्रफलमा फूल रोप्ने सोच छ । अहिले देखिएका केही प्राविधिक समस्या पनि समाधान हुनेछन् ।’ गाउँघरमा जग्गा बाँझै राख्नुभन्दा त्यसको सदुपयोग गर्दै फूलखेती गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने उनले बताए ।

नेपाल पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष तथा लमजुङ पत्र साप्ताहिकका सम्पादक सन्तोष पौडेलले पनि फूलखेती थालेका छन् । सुन्दरबजार नगरपालिका–४, सत्रसयमा एक रोपनी जग्गामा पहिलोपटक सयपत्री लगाएका उनले यस वर्ष करिब एक क्विन्टल फूल बिक्री गरिसकेका छन् ।

पहिलो प्रयासमै सोचेभन्दा राम्रो उत्पादन र बजार पाएपछि उनी उत्साहित छन् । प्रतिकिलो तीन सय ५० देखि चार सय रुपैयाँसम्ममा फूल बिक्री भएको उनी सुनाउँछन् । ‘सुरुमा के होला, कसो होला, बजार पाइँदैन कि भन्ने चिन्ता थियो । अहिले मागअनुसार पुर्‍याउन सकिएन,’ उनले भने ।

उनका अनुसार सुरुमा फूलखेती गर्छु भन्दा धेरैले पत्याएका थिएनन् । अहिले बारीमा फूल फुलेको देखेपछि खेतीप्रति अरूको पनि चासो बढेको छ । फूलखेतीले बाँझो जमिनको उपयोग र स्थानीय आम्दानीको सम्भावना देखाएको उनको बुझाइ छ ।

सुन्दरबजार नगरपालिका–४, सत्रसयमै पत्रकार विराट न्यौपानेले पनि सयपत्री फुलाएका छन् । लक्ष्मीनारायण एचडीका सहसम्पादक न्यौपानेले एक रोपनीभन्दा बढी क्षेत्रफलमा पहिलोपटक फूलखेती गरेका हुन् ।

पछिल्लो समय घर सजावट, पूजा, माला तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा सयपत्रीको प्रयोग बढ्दै गएको छ । तिहारमा यसको माग अझ बढी हुन्छ । स्थानीय उत्पादन घरबाटै बिक्री हुने भएकाले बजार खोज्दै भौँतारिनुपर्ने अवस्था नरहेको पत्रकार कुइँकेल बताउँछन् ।

उनका अनुसार बीउ उम्रिएपछि २२ दिनदेखि एक महिनासम्मका बिरुवा खेतबारीमा रोप्ने गरिन्छ । छिटो फूल उत्पादन गर्नुपर्ने भए रोपेको १५ दिनभित्र र ढिलो उत्पादन गर्ने भए २५ दिनसम्ममा मुन्टा चिमोट्ने गरिन्छ । मुन्टा चिमोट्दा बिरुवामा हाँगा फैलिने र फूल बढी फुल्ने उनको अनुभव छ । यसका लागि भने प्राविधिक ज्ञान आवश्यक हुन्छ ।

सयपत्रीका कर्मा ५५५, टेनिस बल र कलकत्ते जात बढी प्रचलनमा छन् । तीमध्ये टेनिस बल जातको फूल तुलनात्मक रूपमा बढी टिकाउ हुने भएकाले यसलाई बढी रुचाउने गरिएको कुइँकेल बताउँछन् । यो जातको फूल टिपेपछि करिब छ दिनसम्म राख्न सकिने उनको भनाइ छ ।

तिहारबाहेक एकादशी मेला, विभिन्न जात्रा, मेला–महोत्सव, पूजापाठ, विवाह र व्रतबन्धमा पनि सयपत्रीको माग हुने गर्छ । विशेषगरी तिहारपछि एकादशी मेलामा फूलको डोली बनाएर तार्ने चलन रहेकाले सयपत्रीको माग बढ्ने गरेको पुष्प व्यवसायी बताउँछन् ।

कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा केही किसानले फूलखेती सुरु गरेका छन् । तर, फूलखेती गर्ने किसान र उत्पादनको यकिन तथ्यांक कार्यालयसँग छैन । प्रदेश सरकारबाट पनि यससम्बन्धी छुट्टै कार्यक्रम नरहेको उनले बताए । स्थानीय तहसँग समन्वय गरेर फूलखेती गर्ने किसान र उत्पादनको विवरण संकलन गर्ने उनको भनाइ छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

पत्रकारिताको व्यस्त दैनिकीसँगै लमजुङका केही पत्रकार व्यावसायिक फूलखेतीमा पनि सक्रिय भएका छन् । तिहारमा सयपत्री फूलको माग बढेपछि उनीहरूले उत्पादन गरेको फूल घरबाटै बिक्री भइरहेको छ भने यसबाट थप आम्दा...

#लमजुङ #सयपत्री #खेती
Compare →
Onlinekhabar
5d ago
कोदो फल्ने बारीमा सयपत्री

कोदो फल्ने बारीमा सयपत्री

२२ कात्तिक, स्याङ्जा । कुनै समय कोदो र अन्य अन्नबाली लगाइने स्याङ्जाका बारीमा पछिल्लो समय सयपत्री फूल फुल्न थालेका छन् । बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका …

#बारी #सयपत्री
Compare →
Nagarik News
4d ago
गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो ।

#सयपत्री #खेती
Compare →
Bizshala
8h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#आम्दानी
Compare →

Related Stories

Business & Economy
Build #2611