Trending
Prev Story
Next Story

बैंकका महत्त्वपूर्ण सूचक बलिया भएकाले निक्षेपकर्ताको बचत सुरक्षित छ : सुमन शर्मा

Ekantipur •
October 13, 2026 • 06:19:38 PM
1
1 reads 0 reactions

कान्तिपुसँगको अन्तर्वार्तामा उनी भन्छन् - अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएका बेला पनि बैंकहरूको असल कर्जाको पोर्टफोलियो कसरी धेरै छ भन्ने विषय आफैंमा विरोधाभासपूर्ण छ ।

बैंकका महत्त्वपूर्ण सूचक बलिया भएकाले निक्षेपकर्ताको बचत सुरक्षित छ : सुमन शर्मा

कान्तिपुसँगको अन्तर्वार्तामा उनी भन्छन् - अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएका बेला पनि बैंकहरूको असल कर्जाको पोर्टफोलियो कसरी धेरै छ भन्ने विषय आफैंमा विरोधाभासपूर्ण छ ।

यति बेला बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण सन्तोषजनक छैन । कर्जा माग बढ्न नसक्दा बैंकमा पैसा थुप्रिएको छ । शिथिल अर्थतन्त्रको असर बैंकहरूको खराब कर्जामा परेको छ । यस्तो समस्याबाट प्रभु बैंक अछुतो छैन । यद्यपि प्रभुले आफ्नो खराब कर्जाको वास्तविक अवस्था सार्वजनिक गर्दै सुधारको प्रक्रिया अघि बढाएको छ । सबै महत्वपूर्ण सूचक बलिया रहेको र दोहोरो अंकमा रहेको खराब कर्जा एक वर्षभित्र एकल अंकमा झार्ने गरी काम भइरहेको बैंकको दाबी छ । अहिले वित्तीय क्षेत्रको अवस्था, समस्या र चुनौती, कर्जा माग बढाउने उपायलगायत विषयमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सँग कान्तिपुरका यज्ञ बञ्जाडे र सीमा तामाङ ले गरेको कुराकानीको सार :

गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु बैंकको वित्तीय अवस्था कस्तो रह्यो ?

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी (खराब कर्जाको नोक्सानी व्यवस्थाअघि) २ अर्ब रुपैयाँभन्दा बढी छ । सञ्चालन खर्च १९ करोड रुपैयाँले घटेको छ । आम्दानी बढेको र खर्च घटेका कारण बैंकले नोक्सानीबापतको व्यवस्था गर्नुअघि निश्चित स्तरको नाफा हासिल गरेको छ । समस्या आउन सक्ने जोखिममा रहेका ऋणीको कर्जाका लागि करिब ४ अर्ब ९४ करोड रुपैयाँको खराब कर्जाबापत नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) गरेको छ । यसले खराब कर्जा बढेको छ । तर समग्रमा बैंकको सञ्चालन नाफा २ अर्ब रुपैयाँले बढ्नु र बैंकले कर्जा नोक्सानीबापतको व्यवस्था गर्न सक्नु राम्रो पक्ष हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये नाफाका हिसाबले चौथो त्रैमासमा प्रभु बैंक सबैभन्दा पुछारमा छ, असारसम्म २४ करोड नोक्सानी बेहोरेको बैंकको खराब कर्जा १५.५ प्रतिशत छ, यस्तो अवस्था कसरी आयो ?

हामीले जुन तहको खराब कर्जा देखाएका छौं, त्यसले बजारको व्यावसायिक गतिविधिलाई झल्काउँछ । अहिले देशको व्यावसायिक गतिविधिमा सुस्तता छ । तर बैंकहरूको खराब कर्जा कम र असल कर्जा पोर्टफोलियो धेरै हुनु पनि आफैंमा विरोधाभास छ । मैले प्रभु बैंक सम्हाल्दा अतिरिक्त बोझ थिएन । अझ पारदर्शी भएर काम गर्नुपर्छ र यसभित्रको समस्या पहिचान गर्न सकिन्छ भन्ने थियो । जब समस्याको पहिचान हुन्छ, तब मात्र समाधान पाइन्छ । पहिचान भएका समस्या समाधान गर्दै जाँदा बैंक क्रमशः सबल हुँदै जान्छ । समस्या समाधान गर्दै जानुको साटो त्यसलाई छोपिरह्यो भने प्रगति हुन सक्दैन । हामीले हाम्रो बैंकको समस्या पहिचान गरिसकेका छौं । त्यसको समाधानको प्रक्रिया अघि बढिरहेको छ ।

प्रभु बैंकले हिम्मत गरेर जे छ, त्यही खराब कर्जा देखाइदियो भन्नुभयो, यसलाई हामीले अरू बैंकले वास्तविक खराब कर्जा देखाएका छैनन् भनेर बुझ्ने हो ?

अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएका बेला पनि बैंकहरूको असल कर्जाको पोर्टफोलियो कसरी धेरै छ भन्ने विषय आफैंमा विरोधाभासपूर्ण छ । प्रभु बैंकको अहिलेको खराब कर्जाको अवस्थाले अर्थतन्त्रको वास्तविक स्थिति प्रतिविम्बित गर्छ । प्रभु बैंकको सवालमा खराब कर्जा १५.५ प्रतिशत पुग्दा बैंकको अवस्था के हुन्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ । तर प्रभु बैंकले हालसम्म करिब २५ अर्ब रुपैयाँभन्दा बढी कर्जा नोक्सानी व्यवस्था गरिसकेको छ । करिब ३६ अर्ब रुपैयाँ बराबरको खराब सम्पत्ति छ । औसतमा धितोको ५० प्रतिशत मात्रै असुली हुने मान्दा पनि करिब १८ अर्ब रुपैयाँ असुली हुन सक्छ । बैंकले यसअघि नै २५ अर्ब रुपैयाँ नोक्सानी व्यवस्था गरिसकेकाले भविष्यमा हुने असुलीबाट करिब ७ अर्ब रुपैयाँसम्म रकम पुनः फिर्ता आउँछ । यसकारण अहिलेको एनपीएललाई मात्र आधार बनाएर बैंकको वित्तीय स्वास्थ्य अत्यन्तै कमजोर छ भनेर निष्कर्ष निकाल्नुपर्ने अवस्था छैन ।

तपाईंले बैंकको नेतृत्व गरेको ६ महिना मात्र भयो, १५ प्रतिशतभन्दा बढी खराब कर्जा गएको ६ महिनामा मात्र बढेको त पक्कै होइन, यसअघि बैंकले वास्तविकता किन नदेखाएको रहेछ ?

विगतबारे म प्रतिक्रिया दिन चाहन्नँ । म आएपछि खराब कर्जाको अवस्था जे छ, त्यही देखाएका छौं । बैंकहरूको यस्तो अवस्था आउनुमा राज्यका नीति पनि उत्तिकै जिम्मेवार छन् । खासगरी कोभिडपछि आर्थिक गतिविधि नघटून् भन्दै सरकार र राष्ट्र बैंकले पनि कर्जा प्रोत्साहनको रणनीति लिएको थियो । यही कारण त्यति बेला धेरै ऋण प्रवाह भए । कोभिडपछि बढेको अतिरिक्त तरलता क्रमशः उपयोग हुँदै गएपछि बिस्तारै लगानीयोग्य रकममा दबाब पर्न थाल्यो । समस्या पनि क्रमशः सतहमा आउन थाले । समस्या देखिन थालेपछि नियामकले पुनःसंरचना र पुनर्तालिकीकरणको सुविधा निरन्तर दिइरहे । त्यसैले केही कर्जा त्यसअघि नै खराब हुने अवस्थामा पुगिसकेका थिए । पुनःसंरचनाको सुविधा दिँदा वास्तविक समस्या भएको कर्जा तत्काल बाहिर देखिन नपाएको अवस्था पनि छ । विभिन्न समयमा विभिन्न किसिमका पुनःसंरचना सुविधा आएका छन् । पछिल्लो समय जेन–जीको आन्दोलनपछि पनि पुनःसंरचनाको सुविधा दिइएको छ । यो राम्रो हो कि नराम्रो हो भन्नेभन्दा पनि देशमा आर्थिक गतिविधि चलायमान हुनुपर्छ ।

प्रभु बैंकले जसरी वित्तीय अवस्थाको वास्तविक चित्र बाहिर ल्यायो, त्यसैगरी सुधारको योजना पनि अघि बढाएको होला, अहिलेको दोहोरो अंकको खराब कर्जा एकल अंकमा कहिले झर्ला ?

समस्या पहिचान गरिसकेका छौं । समाधानको काम पनि सुरु भएको छ । आउँदो असारसम्म खराब कर्जा एकल अंकमा झार्ने योजना छ । व्यापारिक गतिविधि घट्दै गएको र आर्थिक वातावरण खस्किँदै गएको अवस्थामा आजको नयाँ ऋण पनि भोलि खराब हुने सम्भावना रहन्छ । यसकारण पुनःसंरचना गरिएका कर्जाको अवस्था भोलि के हुन्छ भन्ने कुरा अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन । यद्यपि सुधारको काम तीव्र रूपमा अघि बढेकाले छिट्टै राम्रो नतिजा देखाउन सक्छौं ।

प्रभु बैंकका पूर्वअध्यक्ष, पूर्वसीईओ, केही कर्मचारीलगायत विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ, त्यसले बैंकको कामकारबाहीमा कस्तो असर परेको छ ?

सरकारका सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन् । अदालतमा मुद्दा पनि चलिरहेको छ । अदालतबाट हुने निर्णयले त्यसको टुंगो लगाउनेछ । यसले बैंकको कामकारबाहीमा केही असर परेको छैन । किनकि मुद्दासँग सम्बन्धित केही कर्जा पनि असुली हुने अवस्थामा छन् । बैंकको कर्जा नै बिग्रिएर डुब्ने अवस्था छैन । ती कर्जामा पर्याप्त धितो भएकाले ऋण असुली हुने हाम्रो अपेक्षा छ ।

असारसम्मको कार्यसम्पादन हेर्दा ग्राहकले हामीप्रति ठूलो विश्वास देखाउनुभएको छ । यो अवधिमा हामीकहाँ करिब सवा दुई लाख बचत खाता थपिएका छन् । ग्राहकको विश्वास कायमै छ । कर्जा नोक्सानीबापत व्यवस्था नगरी लाभांश वितरण गरेको भए बैंक वास्तवमै कमजोर हुने अवस्था आउँथ्यो । बैंकिङ प्रणालीबाट नगद बाहिरिन्थ्यो । हामीले कमाएको नगद बैंकमै छ । यसकारण समस्या छैन । बैंक पूर्ण रूपमा बलियो छ ।

प्रभुले सेन्चुरी बैंक प्राप्ति गरेको यति लामो समयसम्म पनि कर्मचारी मिलानको काम पूरा हुन सकेको छैन नि, यस्तो अवस्था किन ?

मर्जरपछि सबै कर्मचारीको शतप्रतिशत चित्त बुझ्छ भन्ने हुँदैन । यो मानवीय स्वभाव पनि हो । मर्जर नै नभएको भए सबै बैंकका कर्मचारी खुसी हुन्थे त भन्ने प्रश्न पनि आउँछ । हरेक संस्थामा ‘उसलाई यस्तो भयो, मलाई यस्तो भयो’ भन्ने किसिमका गुनासा रहन्छन् । तर यस्ता समस्या मर्जरअघि नै सम्बोधन हुनुपर्ने थियो । त्यति बेला सम्बोधन हुन नसक्दा लामो समयसम्म नकारात्मकता रहन गयो । म आएपछि ती विषयलाई समग्र रूपमा सम्बोधन गरेर अगाडि बढ्ने प्रयास गरिरहेको छु । सबै समस्या सम्बोधन गर्न केही समय लाग्छ ।

अहिले २० वटा वाणिज्य बैंक सञ्चालनमा छन्, तीमध्ये सेवाग्राही प्रभु बैंकमै किन आउने ?

सबैभन्दा महत्त्वपूर्ण कुरा निक्षेपकर्ता अर्थात् ग्राहक हुन् । हाम्रो तीन सय शाखा सञ्जाल छ । ई–बैंकिङ, डिजिटल बैंकिङ, आईटी तथा प्रविधिसम्बन्धी सेवा पनि अन्यको तुलनामा धेरै पक्षमा राम्रा छन् । कार्ड र मोबाइल बैंकिङबाट मात्रै पनि हामीले करिब १ अर्ब रुपैयाँ शुल्क आम्दानी गरिरहेका छौं । यसले पनि ग्राहकले हामीप्रति गरेको विश्वास प्रमाणित हुन्छ । हामीले दिइरहेको सेवा, शाखा सञ्जाल, डिजिटल सञ्जाललगायत कारण ग्राहक हामीकहाँ निक्षेप राख्न आउनुभएको हो ।

कर्जातर्फ पनि हाम्रो बैंकको ब्याज निर्धारण प्रतिस्पर्धी छ । यति ठूलो सञ्चालन लागत हुँदा पनि बैंकको आधार दर प्रतिस्पर्धी छ । आधार दर प्रतिस्पर्धी भएकाले व्यापारी वर्गले अन्य बैंकबाट पाउने मूल्य निर्धारणकै आधारमा हामीले पनि कर्जा सुविधा उपलब्ध गराउन सकेका छौं । ठूला व्यावसायिक घरानादेखि साना तथा वञ्चित वर्गसम्मलाई हामीले कर्जा सुविधा दिइरहेका छौं । साना कर्जादेखि ठूला व्यवसायका कर्जासम्म हामीले प्रवाह गरिरहेका छौं ।

तीन वर्षयता बैंकमा पैसा थुप्रिएको छ, कर्जा प्रवाह हुन नसक्नुका कारण शिथिल अर्थतन्त्र हो कि बढ्न नसकेको निजी क्षेत्रको आत्मविश्वास ?

यसमा धेरै कुरा छन् । हाम्रोमा व्यापारिक गतिविधि घटेको छ । युवा जनशक्ति ठूलो संख्यामा विदेश गइरहेका छन् । यसले समग्र माग घटाउँछ । समग्र माग घटेपछि उत्पादनका गतिविधि घट्छन्, उत्पादन घटेपछि रोजगारीका अवसर पनि कम हुन्छन् । रोजगारी घटेपछि मानिसहरूले सिर्जना गर्ने माग अझै घट्ने भएकाले यसले नकारात्मक चक्रीय प्रभाव सिर्जना गर्छ । अर्को कुरा व्यावसायिक तथा आर्थिक विश्वास (कन्फिडेन्स) को हो । अहिले समग्रमा विश्वासको स्तर कम छ भन्ने मलाई लाग्छ । रुस–युक्रेन युद्धका कारण विश्वव्यापी आपूर्ति शृंखलामा ठूलो असर पारेको छ । खाद्यान्नको मूल्य बढ्यो, यातायातमा प्रयोग हुने इन्धनको मूल्य बढ्यो । यसले समग्र आपूर्ति शृंखलाको लागत बढ्यो ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि समग्र बैंकमा कर्जा मागको अवस्था कस्तो छ ? चाडपर्व नजिकिएकाले प्रतीतपत्र (एलसी) बढेको छ कि छैन ?

एलसी त सामान्य रूपमा सबैजसो क्षेत्रमा बढेकै देखिन्छ । समग्र बजारको प्रवृत्ति हेर्ने हो भने सबै क्षेत्रमा क्रमिक सुधार देखिन्छ । तर एकदमै धेरै वा अस्वाभाविक रूपमा उच्च भने होइन । क्रमिक सुधार देखिन्छ ।

अहिले सरकारी तहबाट के गर्‍यो भने बजारमा समग्र माग बढाउन सकिएला ?

पूर्वाधार आयोजनामा लगानी गर्दा हाम्रो आफ्नै स्रोत–साधन प्रयोग हुन्छ । कंक्रिट, सिमेन्ट र श्रम हाम्रै हुन्छ । आयात गर्नुपर्ने भनेको बिटुमिन र केही उपकरण मात्रै हो । मानिसका गतिविधि बढे भने समग्र माग बढ्छ । समग्र माग बढेपछि त्यसको सकारात्मक प्रभाव पनि बढ्दै जान्छ, जसले अर्थतन्त्रलाई सुरक्षित दिशातर्फ लैजान्छ । बैंकको पुँजी पनि बढिरहेको छ । तर लगानी गर्ने ठाउँ नै छैन भने बैंकले पुँजी बढाएर मात्रै कति राखेर बस्ने ? अहिले नेपाली बैंकको चुक्ता पुँजी भारतीय बैंक बराबर छ । तर कारोबार, बजारको आकारलगायत पक्षमा नेपाल धेरै पछि छ । यद्यपि बैंकहरूले आफ्नो पोर्टफोलियोलाई धितोपत्रीकरणमार्फत बजारमा बन्ड जारी गर्न सके ऋणको हिस्सा घट्छ र थप पुँजीका लागि पनि ठाउँ बन्छ ।

बैंकको समग्र सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर त्यसका आधारमा बजारमा बन्ड जारी गरेपछि बन्डप्रति लगानीकर्ताको आकर्षण बढ्छ । त्यसपछि सरकारले ठूला पूर्वाधार आयोजना गर्दा सार्वजनिक रूपमा बन्ड जारी गरेर पैसा जुटाउन सक्छ । यसले बैंकमा पैसा थुप्रिने अवस्था घटाउँछ । सरकारको ऋण पनि बढाउँदैन । आर्थिक गतिविधिसँगै ठूला आयोजना अघि बढाउन पनि सहज हुन्छ ।

केही वर्षयता बैंकले जलविद्युत्मा राम्रै लगानी गरेका छन् तर केही जलविद्युत् आयोजनाको कार्यसम्पादनमा प्रश्न उठेको छ, के यस क्षेत्रको लगानी जोखिममा परेको हो ?

हाम्रो मुख्य प्रतिस्पर्धात्मक लाभ भएका क्षेत्र ऊर्जा, पर्यटन र सूचना प्रविधि हुन् । विशेषगरी जलविद्युत् र सौर्य ऊर्जा, पर्यटन र यहीँ बसेर बाहिरका लागि काम गरेर आम्दानी ल्याउने सूचना प्रविधिको क्षेत्रमा हामीले काम गर्नुपर्छ । जलविद्युत्ले मानिसको क्रयशक्ति बढाउँछ । क्रयशक्ति बढेपछि जुत्ता, कपडालगायत उद्योग पनि चल्छन् । आयात प्रतिस्थापन गर्न स्थानीय तथा साना उद्योग बनाउन सक्छौं । घर निर्माण हुन्छ, सिमेन्ट र कंक्रिट खपत बढ्छ र रोजगारी पनि सिर्जना हुन्छ । ऊर्जा क्षेत्रमा जलवायु परिवर्तनको जोखिम छ तर खराब कर्जाको समस्या छैन ।

यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
व्यक्तिगत कीर्तिमानभन्दा टिमको जित महत्त्वपूर्ण : सन्दीप लामिछाने

व्यक्तिगत कीर्तिमानभन्दा टिमको जित महत्त्वपूर्ण : सन्दीप लामिछाने

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टिमको जितलाई प्राथमिकता दिने बताएका छन् । पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले प्र...

#महत्त्वपूर्ण
Compare →
Nagarik News
1w ago
शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ?

शर्माको प्रश्न : पत्रकार साथीहरू, तपाईंहरू सुरक्षित हुनुहुन्छ ?

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले देशमा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि प्रश्न उठाउँदै पत्रकारहरूलाई निर्भयतापूर्वक समाचार लेख्न सक्ने वातावरण छ कि छैन भनेर प्रश्न गरेका छन्।

#सुरक्षित #शर्मा
Compare →

Related Stories

National (Nepal)
Build #2612