एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।
जनकपुरधाम — मधेश प्रदेशसभाको बैठक शनिबारका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मधेश प्रदेश सरकारमा सहभागी एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यादव कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री हुन् । सभामुख रामआशिष यादवका अनुसार प्रदेशसभा बैठक सञ्चालनका लागि शुक्रबार दिउँसो कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ र त्यही बैठकले कार्यसूची निर्धारण गर्नेछ ।
प्रदेशसभाबाट यही शनिबार दिउँसो १ बजे विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए । विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र अन्तिम समयसम्म संवाद चल्ने मुख्यमन्त्री यादवले बताए ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका ४ मन्त्रीले गत २५ असोजमा सामूहिक राजीनामा दिँदै मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । अर्को दल नेकपाका ४ मन्त्रीले यही २० कात्तिकमा राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । कुनै दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेले समर्थन लिएको ३० दिन शनिबार पुग्दै छ । विश्वासको मत लिन नसके मुख्यमन्त्री यादव स्वतः पदमुक्त हुनेछन् । विश्वासको मत सुनिश्चित हुन नसके यादवले त्यसअघि नै राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न पनि सक्छन् ।
२ दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन् । एमाले र नेकपा भने जसपा नेपालको नेतृत्वमा सरकार गठनको कसरतमा छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन् । संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १–१ सदस्य छन् ।
अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।