९ मंसिर, काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा जाहेरवाला मनिषा गौतमले पुन: पेस गरेका अडिओलगायतका प्रमाणबारे प्रतिवादी पक्षलाई जानकारी गराउन अदालतले आदेश दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतका जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले बुधबार उक्त आदेश जारी गरेको हो ।
गौतमले गत असोज १५ गते पुन: निवेदन दिँदै अडिओ तथा अन्य प्रमाणहरू जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरेकी थिइन् ।
सोही निवेदन र जिल्ला सरकारी वकिल कार्यालयबाट गत असोज २० गते प्राप्त पत्रको जानकारी प्रतिवादी खगेन्द्र सुनारलाई गराई नियमानुसार पेस गर्न न्यायाधीश मैनालीको इजलासले आदेश दिएको हो ।
के हो खगेन्द्र सुनारविरुद्धको मुद्दा ?
अधिवक्ता मनिषा गौतमले खगेन्द्र सुनारले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको तथा व्यक्तिगत विवरणअन्तर्गतका तस्वीर र मोबाइल नम्बर सार्वजनिक गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीका आधारमा काभ्रे प्रहरीले अनुसन्धान गरी सुनारविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
यसअघि अदालतले सुनारविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो । पछि अदालतमा उपस्थित भएका सुनार बयान तथा थुनछेक बहसपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा जाहेरवाला गौतमले पुन: प्रमाण पेस गर्दै तिनको प्रमाणीकरण तथा अभिलेखीकरणका लागि निवेदन दिएकी थिइन ।
कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् ।